भाइरल बन्दै फिगेट स्पिनर

- अनोज रोक्का

श्रावण २८, २०७४-
बाबा क्यान आई ह्याब स्पिनर ? आई वान्ट टु ट्राइ प्लिज ! हङकङको व्यस्त नाइट मार्केटमा बालबालिकाहरूले आफ्ना अभिभावकहरूसँग अनुरोध गरिरहेका हुन्छन् । 

फिगेट स्पिनर अहिले सर्वाधिक लोकप्रिय हुँदै गएको गेम हो । उपलब्धता र पैसाका हिसाबले निकै सहज र सरल स्पिनरको किनबेच गर्नेहरूको संख्या ह्वात्तै बढिरहेको छ । स्पिनरलाई हातमा घुमाउँदै रमाउनेहरूको ताँतीमा बालबालिका मात्र नभएर सबै उमेर समूहका मानिस छन् । हङकङको व्यस्त दैनिकीबीच बचेको थोरै समय स्पिनरसँग रमाउनुको छुट्टै आनन्द छ । 

आधुनिकताले मानिसलाई परनिर्भर बनाएको छ । एसियाकै प्रमुख व्यापारिक केन्द्र हङकङ त्यो आधुनिकतासँग अझ नजिक छ । मानिसको बचेको अधिकांश समय मोबाइल, ल्यापटप तथा टेलिभिजनमा खर्च हुन्छ । सानो उमेरबाटै मोबाइल र आइप्याडमा रमाउँछन् बालबालिकाहरू ।
सामाजिक सञ्जालमा घोत्लिएर नजिक रहेका आफन्त तथा साथीभाइसँगको दूरी लम्बिरहेको यथार्थता एकातिर छ । इन्टरनेट र ग्याजेटले सम्बन्धहरूलाई जोड्ने र पुनर्ताजगी गर्ने त छँदैछ, तर त्यसले नजिक रहेकाहरूसँगको प्रत्यक्ष कुराकानी र आत्मीय अंकमालको मज्जा दिँदैन । 

आधुनिकताले अभिभावक एवं बालबालिकाहरूको आत्मीयतालाई टाढा–टाढा बनाउँदैछ । बाबा–आमा काममा, बचेको समयमा पनि ग्याजेटमा व्यस्त हुनाले बालबालिकाले अभिभावकत्व नपाइरहेको कटु यथार्थ पनि छ । अत्यधिक मात्रमा प्रयोग गरिने ग्याजेट तथा इन्टरनेटका दीर्घकालीन अवसरहरूका बारेमा जानकारी हुँदाहँुदै आफूलाई त्यसबाट अलग बनाउन सक्दैनौं हामी । आधुनिकता विकासको पर्यायवाची पनि हो, यसको सदुपयोगसँगै अन्य क्रिएटिभ खेल खेल्न वा सिर्जनात्मक क्रियाकलाप गर्न सके त्यसले व्यक्ति स्वयंलाई फाइदा पुर्‍याउँछ । यसैलाई मध्यनजर गरेर होला फिगेट स्पिनरको क्रेज ह्वातै बढेको ।

के हो फिगेट स्पिनर ?
फिगेट स्पिनर मेटल वा रबरद्वारा निर्मित एउटा यन्त्र हो । विभिन्न रंगमा उपलब्ध स्पिनर हातको औंलामा ब्यालेन्स मिलाएर घुमाइन्छ । स्पिनरको तौल र ब्यालेन्सका कारण एकपटक घुमाइसकेपछि लामो समयसम्म घुमिरहन्छ । आफ्नो बनोटका कारण घुमिरहेका बेला यो आकर्षक देखिन्छ । सन् १९८० ताका अमेरिकन महिला क्याथेरिन हेटिङ्गरले स्पिनर गेमको कन्सेप्ट ल्याएको भए पनि सन् २००५ देखि मात्र यसको उत्पादन एवं बिक्री प्रारम्भ भएको हो । 

अर्गानिक कन्सरट्रेसनका लागि उपयुक्त
फिगेट स्पिनर देख्दा सामान्य मेटल वा रबरको टुक्रालाई ब्यालेन्समा घुमाइने खेल भए पनि यसको दीर्घकालीन एवं तत्कालीन प्रभाव राम्रो भएको प्रयोगकर्ताहरू बताउँछन् । यस्ता प्रकारका डिभाइसले बालबालिकाहरूको धैर्यता, कौशल एवं क्रियाशीलता बढाउन सहयोग पुग्ने कतिपयको तर्क छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि यसको सकारात्मक प्रभावका सम्बन्धमा उल्लेख गरिदिँदा फिगेट स्पिनरको माग अत्यधिक बढेको विक्रेताहरू बताउँछन् । बालबालिकाहरूलाई खाली रहेको समयमा यस्ता गेमप्रति अभ्यस्त बनाए यसले ब्यालेन्स, धैर्यता एवं शक्ति बढाउने दाबी गरिन्छ । अन्य उमेर समूहका मानिसहरू पनि यसको प्रयोगले केही समयका लागि भए पनि थकान एवं तनावबाट मुक्त भएको बताउँछन् । 

नेपालमा पनि क्रेज बढ्दै
हङकङमा फिटगेट स्पिनरको बढ्दो क्रेजसँगै यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । अन्तर्राष्ट्रिय सञ्जाल भएका व्यापारीहरूले यसको बिक्री थालेसँगै नेपालमा स्पिनरको माग बढेको हो । हङकङमा रहेका आफन्तहरूबाट चिनोका रूपमा स्पिनरको आयात भएपछि यसले नेपाल प्रवेश पाएको हो । अहिले विशेषत: बालबालिका तथा युवायुवतीहरू यसका क्रेजी देखिन्छन् ।

प्रकाशित :श्रावण २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्