कोही नहिँडेको बाटो

- अविरल थापा

श्रावण २७, २०७४-

 

यो संसारमा आफूलाई मन लागेजसरी जिउने अवसर विरलै मानिसले पाउँछन् । कुनै सफल मानिस देख्दा उसले कसरी रातारात सफलता प्राप्त गर्‍यो भनेजस्तो लाग्छ तर उसले पृष्ठभूमिमा गरेको मेहनत सबैले देखेका हुँदैनन् । जीवनमा अघि बढ्ने सिलसिलामा हरेक मानिसले धेरै थरीका बाधा झेलेका हुन्छन् । कसैको पनि जीवन सरल रेखामा बगेको हुँदैन । 

 साधारणतया मानिसहरू दुई थरीका हुन्छन्— अरूको सफलता देखेर अरू हिँडेको सहज बाटो हिँड्ने खालका तथा नयाँ बाटो खन्दै अन्यौल एवं चुनौतीतर्फ यात्रा गर्ने खालका । अरूले देखाएको बाटो पछयाउँदै हिँड्न सजिलो हुन्छ तर नयाँ बाटो हिँड्न र खन्न धेरै नै जोखिम मोल्नुपर्छ । नयाँ बाटो हिँड्न हिम्मत र धैर्यता चाहिन्छ । कुनै नयाँ काम गर्न लाग्यो भने नगर है नगर, डुब्लास् भनेर हच्काउनेहरू धेरै हुन्छन् । कुनै नयाँ विषय पढ्छु भन्यो भने त्यो पढेर के गर्छस् भनेर हतोत्साही बनाउने घरकै मानिस हुन्छन् । आफूले रोजेको जीवनसाथीसँग विवाह गर्छु भन्यो भने विचार गर् है, पछि पछुताउनुपर्ला भन्ने धेरै हुन्छन् । त्रास देखाएपछि पछि हटनेहरूको संख्या धेरै हुन्छ, तर जे परोस्–परोस्, मनले चाहेको गरेरै छोड्छु भन्नेहरू कम हुन्छन् । भलै अरूको कुरा सुन्नेहरू पछि पछुताउन सक्छन् र नयाँ बाटो हिँड्नेहरूले धेरै दु:ख पाउन सक्छन् । नयाँ बाटो हिँड्दैमा र मन लागेको गर्दैमा सफल नै भइन्छ भन्ने ठोकुवा गर्न सकिँदैन, तर कम्तीमा गर्न त खोजेको थिएँ नि भन्ने आत्मसन्तोष हुन्छ । कतिलाई बेकार गरेछु भन्ने पछुतो पनि हुन सक्ला । 

 

आफूभन्दा ठूलाको बानी आफूले लगाएको बाटोमा हिँडोस्, आफूले भनेको मानोस् भन्ने हुन्छ । आमाबाबुले गलत बाटो देखाउँदैनन् तर देखाएको बाटो र आफूले हिँड्न खोजेको बाटो बेग्लाबेग्लै भयो भने असमझदारी उत्पन्न हुन्छ । कुरा नमिल्दा घर नै छोडेर हिँड्नेहरू पनि धेरै छन् । नयाँ काम वा व्यापार गर्दा नाफा–घाटा त भैहाल्छ, डुब्यो भने मैले पहिल्यै डुब्छ भनेको थिएँ भन्नेहरू र गरेर कमायो भने यसले केही गर्ला जस्तो पहिल्यै लागेको थियो भनेर साखुल्ले पल्टिनेहरू उत्तिकै हुन्छन् । अरूलाई सल्लाह दिने कैयौं हुन्छन् तर अग्रसर भएर गर्ने र गरौं भन्ने थोरै हुन्छन् । आफूले रोजेको चीज गर्न कतिले घर र कार्यालय छाडेका छन्, कतिले पढाइ छाडेका छन्, कतिले जीवनसाथी नै पनि छाडेका छन् । 

 पुरानो बाटोमा भीड धेरै हुन्छ । जीवन त चल्छ तर भीड छिचोलेर अघि बढ्न समय लाग्छ । को पहिले पुग्ने भन्ने होडबाजी त हुन्छ नै, आफूले प्राप्त गर्ने हिस्सा पनि थोरै हुन्छ । नयाँ बाटोमा कहिलेकाहीं एक्लै पनि भइन्छ । यदाकदा छिटपुट कोही भेटिन पनि सक्छन् । राम्रोसँग र चलाखीपूर्वक अघि बढे लक्ष्यमा पुग्न सकिन्छ भने लापरवाही गरे भीरबाट लड्न पनि सकिन्छ । लगनशीलता, धैर्यता, दूरदृष्टि एवं आत्मविश्वास नभई नयाँ बाटो हिँड्नै सकिँदैन । 

यदि यो संसारमा सबैले नगर् भनेको काम नगरेको भए, नहिँड् भनेको बाटो नहिँडेको भए नयाँ–नयाँ आविष्कार र नयाँ–नयाँ रहस्यहरू पदार्पण हुँदैनथ्यो । हरेकका छोराछोरीले आमाबाबुले भनेकै मात्र गरेर बसेका भए मैले नगर् भन्दाभन्दै यस्तो गरेर देखायो भनेर गर्व गर्न लायक कुरा हुँदैनथे होला । प्रेममा विद्रोह गर्नेहरूले नै कालजयी प्रेमकथाहरूको निर्माण गरेका छन् । राजनीतिमा विद्रोह गर्नेहरूले नयाँ युगको थालनी गरेका छन् । कला र साहित्यमा नयाँ प्रयोग गर्नेहरूले नवचेतनाको निर्माण गरेका छन् । तत्कालीन व्यवस्था र समाजका विरुद्ध बोल्दा ज्यानको आहुती दिएरै भए पनि नयाँ बाटो खनेर जानेहरूले इतिहास निर्माण गरेका छन् । यो संसार यति विकसित र झिलीमिली तिनै मूर्ख, बौलाहा र सन्कीहरूले बनाएका हुन् जसले अरूले नगर भनेको काम गरे, हुँदैन भनेको काम गरे, डुब्छस् भनेको काम गरे । 

 नयाँ काम गर्दा यो सफल हुन्छ भनेर सघाउनेहरू हुँदैनन् तर सफल भएपछि धाप मार्न आउनेहरू धेरै हुन्छन् । कति बेला डुब्छ र खुच्चिङ भनौंला भनेर कुर्नेहरू धेरै हुन्छन् । नयाँ विचार राख्नेहरूसँग, नयाँ काम गर्नेहरूसँग दुनियाँ डराउँछ । दुनियाँलाई चुनौती दिन सक्नेहरूले नै संसार जितेका छन् । पछुवा हुने कि अगुवा हुने आफ्नो विचार हो । अरूजस्तै बन्ने भए पुरानै बाटो हिँड्नुुहोस्, संसार जित्ने हो भने नयाँ बाटो हिँड्नुुहोस् । हारे पनि इतिहास बन्छ जिते पनि इतिहास बन्छ ।

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

 

प्रकाशित :श्रावण २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्