जन्मदिन किन मनाउने ?

- अधिकारी रवीन्द्र

श्रावण २६, २०७४

 

जन्मिएको दिनलाई जन्मदिन भनिन्छ, चाहे मान्छे होस् वा कुनै अन्य जीव । एउटा सिङ्गो जीवनमा जन्मदिन एकपटक आँउछ, केवल एकपटक, जुन कुरा न जन्मिनेले चाल पाउँछ न जन्माउनेले यही दिन जन्माउँछु भनेर इच्छा गरेर हुन्छ । जगजाहेर छ जन्मदिन त हामीले नजानेरै त्यसै दिन मनाइसक्यौँ जुन दिन हामी च्याँच्याँ गर्दै यो धर्तीमा पदार्पण गर्यौं । 

बर्सेनि आउने त्यो कथित ह्याप्पी बर्थ डे वास्तवमै बर्थ डे होइन । त्यो जन्मस्मृति मात्र हो । जन्मस्मृति एउटा आधार लिएर मनाइन्छ, जस्तै कसैले तारिख मान्छन्, कसैले गते त कसैले तिथि । हो, बर्थ डेमा सबै ठ्याक्कै मिलेको हुन्छ तर जन्मस्मृतिमा केवल एक थोक । त्यसैले वार्षिक आउने उक्त दिनलाई जन्मदिन भनेर मनाउनु स्वयंमा एउटा भ्रम हो । जन्मदिनका वार्षिकीहरूलाई जन्मदिन भनेरै हामीले धेरै जन्मदिन मनाइसकेका छौं ।

जन्मस्मृति वा ‘कथित जन्मदिन’ मनाउने परम्पराका सम्बन्धमा बहस जरुरी छ । जन्मस्मृति आफ्नै प्रयासले ल्याइएको परिवर्तन होइन, यो त आफसे आफ आउने प्रक्रिया हो अनि यो कुनै महत्वपूर्ण प्राप्ति पनि होइन, बरु उल्टै एक थप अमूल्य वर्षको अवसान हो । सबैको जीवनमा नचाहेरै पनि बारम्बार आइरहने यो जन्मस्मृति मनाइरहनुको कुनै तुक छैन । 

यसै पनि हामीसँग टाइम पास र रमाइलो गर्न यति धेरै चाडपर्व एवं बिदाहरू छन् । फेरि पनि हामी किन प्रत्येक सदस्यको जन्मदिन खोजी–खोजी मनाउन उद्यत छौँ  ? के हामीसँग कुनै कामै नभएर हो ? कसैसँग काम छैन, समय छ, त्यसैले उनीहरू हरदिन उत्सव खोजी हिँड्छन् । कसैसँग पैसा धेरै छ र हरक्षण खर्च गर्ने बाटो पहिल्याउँछन् । 

समय–समयमा पारिवारिक जमघट हुनु आवश्यक छ तर बर्थ डेका रूपमा त्यो आवश्यक छैन । किनभने प्रत्येक बढ्दो जन्मस्मृति दिवसले घट्दो आयुलाई प्रतिविम्बित गर्छ । जन्मिएका हरेक चिजको मृत्यु निश्चित छ जुन अजय सत्य हो, कतै जन्मदिन भनेर शब्दोच्चारण गरिरहँदा त्यही शब्दसिक्काको अर्को पाटोमा मरणदिन स्वत: मिसिएर आउँछ, तसर्थ दिनानुदिन मृत्युतर्फ अग्रसर भैरहेको कटु सत्यलाई सङ्केत गर्ने त्यो अङ्कलाई सम्झेर बरु शोक गर्नुपर्ने हो, सेलिब्रेसन होइन । 

हाम्रा पितापुर्खाहरू एउटै जन्मदिन नमनाई सय वर्ष बाँचे । अहिले जतिसुकै फुर्तीफार्तीका साथ ह्याप्पी बर्थ डे, गड ब्लेस यू वा लङ लिभ ढिस्कानो भने पनि कसैको आयु एक सेकेन्ड पनि बढ्नेवाला छैन । सही हो, मानिस प्रशंसा रुचाउने स्वार्थी प्राणी हो, उसले हरकृत्य गरेर कम्तीमा वर्षको एक दिन सबैले आफूलाई उपहार दिएर भगवानसरि पुजून् र विस गरुन् भनेर जन्मस्मृतिको चाँजोपाँजो मिलाएको हुन्छ, तैपनि अरूको विसले शताब्दी काट्न गाह्रै छ । 

अरूको अनुकरण गर्ने संस्कृतिमध्येको चरम उदाहरण बर्थ डे सेलिब्रेसनलाई लिन सकिन्छ । पश्चिमा जीवनशैलीको अभिन्न अङ्ग बनेर रहेको यो सेलिब्रेसन आज ढुक्कै हाम्रो घरदैलोसम्म आइपुगेको छ । बर्थ डेमा बालबालिकाहरूलाई साथीहरूबीच चकलेट बाँड्न लगाइन्छ, जुन कार्यलाई अभिभावकले प्रायोजन तथा स्कुलले संयोजन गरिदिएको पाइन्छ । हामी आफ्ना सन्तानलाई चकलेट बाँड्ने पाश्चात्य प्रथा सिकाउँछौँ, तर चकलेट खाइसकेपछि दाँत ब्रस गर्न र चकलेटका खोल जथाभावी नफाल्न भन्दैनाँै । कल्चर कपी नै गरे पनि हुबहु कपी गर्दैनाँै हामी, किनभने हाम्रो बानी नै क्षणिक र हेर्दा आनन्द लाग्ने कुरा मात्र अवलम्बन गर्ने छ । 

अभिभावकहरूले नै बर्थ डे सेलिब्रेसनको नाममा अनावश्यक र चर्को होडबाजीको संस्कार भित्र्याएका छन् । उनीहरू सोच्छन्– कान्छो छोराको साथीको बर्थ डेमा त्यत्रो केक काटेका थिए ? अब हाम्रोमा त्योभन्दा ठूलो र एम्ब्रोइडरी गरेको केक । अनि अर्कोले साइकल गिफ्ट दिएको देखेर मोटरसाइकल किन्दिन पछि पर्दैनन् कोही । कुनै कक्षामा वर्षमा दुई पटक बर्थ डे मनाउने बालबालिका पनि भेटिन्छन्, अनि त्यही कक्षामा बर्थ डे नै नमनाउने बालक भयो भने बिचरा उसको त बेइज्जत नै हुन्छ । उसको झगडाले आजित भएर पैसा नहुने आमाबाबुहरूले समेत ऋणपान गरेर भए पनि एक प्याकेट चकलेट किनिदिनैपर्छ । सस्तै भए पनि बेलुकीपख केक काटिदिनैपर्छ । यो आवश्यकता होइन, देखासिकी हो । 

प्रकाशित :श्रावण २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्