पर्दापछाडिको रमाइलो

- साप्ताहिक संवाददाता

श्रावण २६, २०७४-

पर्दा वा क्यामेराअगाडि हामी अभिनय गरिरहेका हुन्छौं । त्यही अभिनयका कारण दर्शक रमाइरहेका हुन्छन् । वास्तविक रमाइलो घटना त पर्दा वा क्यामेरापछाडि पो हुन्छ ? हास्य चलचित्र, टेलिश्रृंखला वा प्रहसनका क्रममा पर्दापछाडि हास्यकलाकार र रमाइला मानिसहरूकै जमघट हुन्छ । त्यसपछि त जे गर्दा पनि हाँसोको फोहोरा छुटेको सुनिन्छ । छायांकनका बेला अर्थात् टेक लिइरहेकै बखत कहिलेकाहीं हाँसोको आवाजले गर्दा ‘कट’ भन्नुपर्ने स्थिति पनि उत्पन्न हुन्छ । जीवनको यथार्थतालाई आत्मसात् गर्दै हाँस्ने–हँसाउने उद्देश्य हो हाम्रो, चाहे त्यो पर्दाअगाडि होस् वा पर्दापछाडि । 

मैले आफ्नो करियरमा पर्दापछाडि धेरै रमाइला घटना सँगालेकी छु । त्यतिबेला घटेका कतिपय अत्याशलाग्दा घटना अहिले मीठो र हाँसोउठ्दो प्रसंग बनिरहेका हुन्छन् । यस्तै एउटा प्रसंग छ । तीन वर्षअघि तीतेजीरे मेरी बास्सै गाईजात्राका क्रममा मेरो र दीपकको प्रहसन अन्तिममा राखिएको थियो । लगातार दस दिन शो गरियो । अन्तिम शोको अघिल्लो साँझ मेरो घाँटी खराब भयो । काठमाडौंको धूवाँ र धूलोले गर्दा स्वर आउने ठाउँ नै बन्द पो भयो त ।

ठूलो स्वरकी धनी भनेर कहलिएकी म आवाजविहीन हुन पुगें । सोको बिहान–दिउँसो आवाज पुन फिर्ता गर्ने अनेक प्रयास गरियो । दीपकलगायत सबै कलाकार, आयोजक, प्रायोजक मेरो आवाज आएन भने के होला ? भनेर चिन्तित भए । साँझस्टेजमा म प्रवेश गर्ने बेला भैसकेको थियो, तर मेरो आवाज आइरहेको थिएन । अन्तत: त्यो अन्तिम शो मैले नगर्ने निर्णय गरियो । मेरो साटो कुञ्जना घिमिरे बहिनीले दीपक र अन्य साथी कलाकारहरूका साथ मेरो भूमिका निर्वाह गरिन् । अहिले पनि प्रहसन हुँदा दीपक र साथी कलाकारहरू सोध्छन्– ‘स्वर त ठीक छ होइन ?’

अर्को प्रसंग त ताजै छ । अहिले चर्चामा रहेको तथा मेरो निर्देशनको चलचित्र ‘छक्कापञ्जा दुई’को छायांकन पाल्पामा गरेर हामी ‘ए दाजु नसमाऊ’ गीतको छायांकन गर्न पोखरा पुगेका थियौं । हामीलाई डिजेलबाट चल्ने ओपन गाडी चाहिएको थियो । पाल्पामा हामी त्यस्तो गाडी पोखरामा त जति पनि पाइन्छ भनेर ढुक्क भएर बसेका थियौं, तर पोखरामा त्यस्तो गाडी फेला परेन । गाडी नभेटेपछि एक दिन त छायांकन हुँदै भएन र त्यो दिन म, दीपक र केदार गाडी खोज्न पोखरा चहार्ने भयौं । घुम्दाघुम्दै हाम्रो एक जना व्यक्तिसँग भेट भयो ।

उहाँ हाम्रो प्रशंसक हुनुहुँदो रहेछ । उहाँले जुन गाडी लिएर आउनुभएको थियो, ठ्याक्कै त्यस्तै गाडी हामीलाई चाहिएको थियो । हामीले समस्या सुनायौं । उहाँले पाँच–छ दिनका लागि गाडी दिने हुनुभयो । हामी उहाँको गाडी लिएर हिँड्यौं अनि गीतको छायांकन पनि सकियो, तर छायांकनका क्रममा गाडीका अरू दृश्य पनि खिच्नुपर्ने थियो, जसका लागि ६ दिन अपुग भयो । अब गाडी दिने व्यक्तिको फोन मलाई, दीपक र केदारलाई आउन थाल्यो । गाडी फिर्ता माग्न पो हो कि ? भनेर हामीले दुई दिन त उहाँको फोन नै उठाएनौं । अन्तत: फोन उठाउनैपर्छ, नत्र माइन्ड गर्छन् कि भन्ने लाग्यो । केदारले फोन उठायो । भरे हाम्रो मनमा पो पाप रहेछ, उहाँले त गाडीले दु:ख त दिएको छैन ? छायांकन कस्तो भैरहेको छ ? भनेर सोध्न पो कल गर्नुभएको रहेछ । पछि यो कुरा सम्झँदै हामी मरी–मरी हाँस्यौं ।  

सन २०१३ मा हामी कार्यक्रमका लागि बेलायतमा थियांै । म र केदार घिमिरे काका (अरूका लागि माग्ने बूढा मेरा लागि दिने बूढा) सँगै थियौं । बेलायत पुगेका बेलामा मेरी बास्सैका केही श्रृंखला त्यही खिच्ने कुरा भयो । केदार काका माग्ने बूढा र मैले सडकमा छातीभरि तक्मा भिरेर तक्मेबूढाको गेटअप धारण गरेर लन्डनको व्यस्त सडकमा छायांकन गर्ने भयौं । प्रचण्ड गर्मीको  त्यो समयमा लन्डनको बाटोमा छायांकन गर्नु निकै गाह्रो थियो । गेटअप र मेकअप सकेर म छिट्टै आइपुगेँ । लन्डनमा पार्किङ पाउन गाह्रो छ, त्यसैले मलाई त्यहाँसम्म ल्याइदिने साथी मलाई ओरालेर पार्किङको खोजीमा गएका थिए । काका पनि आइसक्नुभएको थिएन । म पूरै तक्मेबूढाको गेटअपमा सडकमा उभिएको थिएँ । घाम चर्को भएर मेरो भित्र, अन्तरकुन्तर भरी पसिनैपसिना भैसकेको थियो ।

म धेरै बेर घाममा उभिइरहेको एक जना वृद्धले हेरिरहेका रहेछन् । एकैछिनमा मेरो नजिक आएर अंग्रेजीमा भने ‘यदि तपाईं कसैलाई पर्खिरहनुभएको हो भने मेरो घरमा बसेर पर्खन सक्नुहुन्छ ।’ उनले यो कुरा यति प्रेमपूर्वक भने कि केदार काका र साथीहरूलाई पर्खनु नपर्ने भएको भए म उनीसँग जान्थे होला, उनको मेजबानी खाँदै बस्थे होला, तर मलाई त छायांकन गर्नु थियो । त्यसैले मैले ठीकै छ भनेर टारे । त्यसपछि उनले मैले लगाएको तक्मा छुँदै भने– ‘म पनि रिटायर सैनिक नै हुँ, तपाईंको हाउभाउ, लुगा र तक्मा हेर्दा तपाईं गोर्खा हो जस्तो लाग्यो । त्यही भएर मैले रिक्वेस्ट गरेको, डन्ट वरी ओल्डम्यान ।’ लन्डनको सडकमा उनले गोर्खालीप्रति जुन प्रकारको सम्मान देखाए, म त्यसबाट नतमस्तक भएँ । पर्दापछाडि हुने कैयन यस्ता घटना हाम्रो मनमा यसरी गाढिन्छन् कि कहिल्यै बिर्सन सकिँदैन । जय नेपाली, जय गोर्खाली ।  

भारतको सिक्किम राज्यमा रहेका धेरैभन्दा धेरै नेपाली कलाप्रेमी हुनुहुन्छ । त्यही भएर मलाई बेला–बेलामा त्यहाँका कार्यक्रमको निम्तो आइरहन्छ । केही समयअघि एउटा सोका लागि म सिक्किम पुगेको थिएँ । त्यहाँ पुगेपछि आयोजकले एउटा होइन दुईवटा सो गर्नुपर्ने बताए, जबकि मलाई एउटा मात्र शो भनिएको थियो । आयोजकसँग कुरा बुझ्दा सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले मेरो कार्यक्रम हेर्ने भन्नुभएको रहेछ । उहाँ बेलुकाको कार्यक्रममा आउन नमिल्ने भएकाले मन्त्रीमण्डलका लागि दिउँसो विशेष सो राखिएको रहेछ । म कार्यक्रम स्थल पुगेँ । म तक्मेबूढाको गेटअपमा थिइँन् ।

सो सुरु हुनुभन्दा एकैछिन अघि मुख्यमन्त्रीका एक सहयोगी आएर मसँग सोधे ‘तक्मेबूढा खोइ ?’ । मैले भने– ‘मै हो’ भन्दा उसले भन्यो, ‘जोक नगर्नुहोसन्, तक्मे बूढालाई बोलाउनुहोस् । केही सल्लाह गर्नु छ । फेरि स्टेजमा के–के बोलिदिए भने..’ मैले ‘मलाई भन्नुस् न मै हुँ तक्मे बूढा’ भन्दा ऊ त रिसायो । ‘यस्तो मजाक गरेको मलाई मन पर्दैन । बूढा मान्छेलाई बोलाउनुस् ।’ भन्दै मसँग झनै रिसाउन थाल्यो । अनि मैले ‘उसोभए एकैछिन बाहिर जानुहोस्, म बोलाउँछु ।’ भने त्यसपछि भित्र गएर तक्मेबूढाको गेटअप गरेर आएँ । त्यो सहयोगी दाजुले ‘बाजे ढोग गरेँ है’ भन्दै  ‘अनि त्यो अघि मजाक गर्ने केटो को हो ?’ भनेर सोध्यो । मैले मेरो नाति केटो हो भनिदिएँ । त्यसलगत्तै मैले आफ्नो वास्तविक स्वर सुनाएपछि वरपर रहेका सबै मरुन्जेल हाँस्न थाले ।  

 

प्रकाशित :श्रावण २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्