मह जोडीसँग तीन घण्टा

- कृष्ण भट्टराई

श्रावण २६, २०७४-

साप्ताहिकको इतिहासमै पहिलो पटक मह जोडीलाई मध्यपृष्ठमा प्रस्तुत गर्ने निर्णय भए पनि मह जोडीबाट कस्तो प्रतिक्रिया आउने हो भन्ने कुराको अनुमान गर्न गार्‍हो थियो । त्यसै पनि महका म अर्थात् मदनकृष्ण श्रेष्ठको स्वास्थले साथ देला–नदेला भन्ने थियो । उहाँकी धर्मपत्नी स्वास्थलाभ गरिरहनुभएकाले उहाँबाट फोटोसेसनका लागि समय उपलब्ध होला कि नहोला भन्ने आशंका पनि उत्तिकै थियो । 

गत शुक्रवार बिहान हरिवंश आचार्यसँग मोबाइलमा सम्पर्क गरियो । साप्ताहिकको गाईजात्रा विशेष अंकका बारेमा जानकारी गराउँदै साप्ताहिकले आफ्नो मध्यपृष्ठमा मह जोडीलाई प्रस्तुत गर्न चाहेको कुरा अवगत गराइयो । आचार्यले एकै पटकमा प्रस्ताव स्वीकार गर्दै भन्नुभयो– ‘सधैं राम्रा–राम्रा सुन्दरीको फोटो आउने ठाउँमा हामीलाई ल्याउने निर्णय गर्नुभएछ, म मदन दाइलाई पनि जानकारी गराउँछु । हामी दुवै जनाको समय मिलाएर तपाईंहरूलाई फोटोसेसन गर्ने मिति, स्थान तथा समय अवगत गराउँछु ।’ 

पहिले साउन १३ गते शुक्रबारका लागि फोटोसेसनको मिति तय गरियो । मिति निर्धारण गर्दा उक्त दिन जनैपूर्णिमा तथा नागपञ्चमी पर्छ भन्ने कुराको हेक्का भएन । चाडपर्वको दिन भएकाले साउन १५ गते आइतबारका दिनलाई फोटोसेसन सारियो । लोकेसनका लागि हरिवंश आचार्यका छोरा मोहितवंश आचार्यद्वारा कुपण्डोलमा सञ्चालित ब्रिक्स क्याफे रोजियो । 

आइतबार दिउँसो ठीक १ बजे साप्ताहिकका फोटो पत्रकार महेश प्रधानसहित पंक्तिकार ब्रिक्स क्याफे पुग्यो । हरिवंश आचार्य श्रीमती रमिला आचार्यसहित निर्धारित समयभन्दा आधा घण्टाअघि नै लोकेसनमा पुगिसक्नुभएको थियो । ‘मदन दाइ आउँदै हुनुहुन्छ,’ हरिवंशले भन्नुभयो— ‘मचाहिं मेकअप गर्दै गरौं होला ?’ आचार्यले मेकअप प्रारम्भ गर्ने प्रस्ताव राखेपछि श्रीमती आचार्यले मेकअप किटबाट सौन्दर्य सामग्री बाहिर निकाल्दै आचार्यलाई सिँगार्न थाल्नुभयो । 

पूर्वनिर्धारित कन्सेप्टअनुसार हरिवंश आचार्यले नेवार समुदायकी महिलाले लगाउने पहिरन लगाउने निश्चित गरिएको थियो । त्यसैअनुरूप श्रीमती आचार्यले आफ्ना श्रीमान्लाई महिला बनाउन थाल्नुभयो । मेकअप भैरहँदा नै मदनकृष्ण श्रेष्ठको आगमन भयो । ‘ओहो ! हरिवंश त हरिमाया नै बनिसकेछ नि,’ मदनकृष्णले भन्नुभयो– ‘म पो अलि ढिलो भएछु । ठीकै छ, हरिमाया बन्न अलि समय लाग्छ । म त मदनवंश बन्ने न हो ।’ 

फोटोसेसन गर्ने प्रस्ताव राखेकै दिन हरिवंश आचार्यलाई महिला तथा मदनकृष्ण श्रेष्ठलाई पुरुष बनाउने साप्ताहिकको योजना उहाँहरूलाई सुनाइएको थियो । ‘बडो गज्जबको आइडिया फुराउनुभएछ, त्यही ठीक हुन्छ,’ हरिवंशले भन्नुभयो– ‘युट्युबमा हरिमाया शीर्षकको नेवारी गीतको म्युजिक भिडियो छ, त्यो एकपटक हेरेर हामीलाई खबर गर्नु न । तपाईंहरूलाई चित्त बुझ्यो भने मदनदाइ र म त्यही गेटअपमा प्रस्तुत हुन्छौं । त्यसमा म हाकुपटासीको आधुनिक स्वरूपमा हल्का ग्ल्यामरस देखिने नेवार्नी युवतीका रूपमा प्रस्तुत भएको छु । साप्ताहिकको मध्यपृष्ठमा हामी त्यही वेशभूषामा प्रस्तुत भयौं भने पाठकहरूलाई पनि रमाइलो लाग्नेछ ।’ 

हरिवंशको आग्रहमा पासपुच अमेरिकाले आफ्नो २५ औं वार्षिकोत्सवको अवसर पारेर गत अक्टोबर महिनामा अमेरिकामै आयोजित सांस्कृतिक कार्यक्रमका क्रममा खिचिएको मह जोडीको नेवारी गीत हरिमायाको म्युजिक भिडियो हेरियो । मह जोडीकै स्वरको नेवारी भाषाको उक्त दोहोरी गीतका शब्द तथा संगीत मदनकृष्ण श्रेष्ठले तयार पार्नुभएको हो । पासपुचकै आग्रहमा उक्त गीत मह जोडीले काठमाडौमै रेकर्ड गरेर अमेरिका लगेको थियो । कार्यक्रमका क्रममा मह जोडीको आकर्षक प्रस्तुति क्यामेरामा कैद गरेर म्युजिक भिडियोका रूपमा युट्युबमा राखिएको हो । उक्त भिडियो झन्डै साढे ३ लाख पटक हेरिसकिएको छ । 

‘म ब्राह्मण समुदायको मान्छेले नेवारी पहिरनमा प्रस्तुत भएर नेवारी भाषाकै गीत गाउँदै नेवारी संस्कृतिमै आधारित नृत्य गरेको दर्शकहरूलाई असाध्यै मन परेछ,’ हरिवंश आचार्यले जानकारी दिँदै भन्नुभयो— उक्त कार्यक्रम प्रत्यक्ष हेर्ने दर्शकहरूले पनि असाध्यै रमाइलो मान्नु भएको थियो । मदनकृष्ण श्रेष्ठले पनि उहाँहरू दुई जनाको उक्त रूप तस्बिरका रूपमा बाहिर आओस् भन्ने चाहना राख्नुभएपछि हरिवंश आचार्यलाई हरिमाया तथा मदनकृष्ण श्रेष्ठलाई मदनवंश बनाउने निर्णयले मूर्त रूप पाउने पक्का भएको हो । 

मेकअप आर्टिस्ट रमिला आचार्यले झन्डै आधा घण्टाको मेहनतपछि हरिवंशलाई हरिमाया बनाइसक्नुभएको थियो । त्यस क्रममा उहाँले क्रिम, पाउडर, लिपस्टिक, नेलपोलिस, धागो, युवतीको झैं लामो केश एकपछि अर्को गर्दै हरिवंश आचार्यको अनुहार तथा केशमा सजाउनुभएको थियो । हरिवंशलाई हरिमाया बन्न आधा घण्टाभन्दा बढी समय लाग्यो भने मदनकृष्णलाई मदनवंश बन्न खासै समय लागेन । ‘मैले त दौरा–सुरुवाल र ढाकाटोपी नै लगाइदिएँ,’ ढल्किएको टोपी मिलाउँदै मदनकृष्णले भन्नुभयो– ‘म त तयार भएँ हरिमाया, तिमी पनि तयार भयौ ?’ मदनकृष्णको जिज्ञासामा हरिवंश एकपटक झसंग हुनुभयो । उहाँले आफ्नो कान बुच्चै भएको थाहा पाउनुभएछ । ‘बर्बाद नै भयो नि, हरिवंशले श्रीमतीतर्फ नजर दौडाउँदै भन्नुभयो— ‘कानमा लगाउने गहना (नेवारी भाषामा मापसे) त घरमै छुटेछ । त्यो मापसे नलगाई त यो फोटो खिच्नुको कुनै अर्थ हुँदैन । नेवारी पहिरनमा उक्त गहना अनिवार्य छ ।’ ‘त्यो त अमेरिकामै छुटेको थियो, रमिलाले भन्नुभयो– ‘मैले हजुरलाई भन्नै भुलेछु, अमेरिकाको सांस्कृतिक कार्यक्रमको दौडधूपका क्रममा त्यो त उतै छुट्यो ।’ ‘अब के गर्ने ? त्यो नभै हुन्न, सधैं अरूलाई हँसाइरहने हरिवंश गम्भीर भएको देखेपछि मदनकृष्णले मोबाइलमा कसैसँग सम्पर्क गर्नुभयो । ‘ल मैले व्यवस्था मिलाएँ,’ दंग पर्दै मदनकृष्णले भन्नुभयो– ‘एकपटक बागबजारसम्म पुग्नुपर्ने भयो ।’

 

हरिमायाको पहिरनको व्यवस्था गर्ने बागबजारस्थित नाट्येश्वरी ड्रेस हायर सेन्टरमा उक्त गहना भएको जानकारी पाएपछि साप्ताहिककर्मी बागबजारतर्फ दौडिए । सबै कुराको व्यवस्था भएपछि फोटो पत्रकार महेश प्रधानले करिब तीन बजे क्यामेराको लेन्स खोले । एक–पछि अर्को पोजका लागि हरिमाया र मदनवंशले रोमान्टिक हाउभाउ प्रस्तुत गरिरहनुभयो । हरिमाया युवती भएकाले मदनवंशले उहाँलाई जिस्काएको, दुवै जना जिस्किरहेको कन्सेप्टमा करिब एक घण्टा लगाएर फोटोसेसन पूरा भयो । 

त्यसक्रममा मह जोडीले लामो समयपछि फोटोसेसनमा सक्रिय भएको अनुभव रोमाञ्चक रहेको प्रतिक्रिया दिनुभयो । ‘म त बूढो मान्छेको फोटो कसरी साप्ताहिकको मध्यपृष्ठमा राख्ने होला भन्ने सोच्दै थिएँ,’ मदनकृष्णले भन्नुभयो– ‘तपाईंहरूको कन्सेप्ट गज्जबको रहेछ ।

पत्रिकामा हरिमाया र मदनवंशलाई देखेर सबै जना दंग पर्ने भए बा !’ यता हरिवंश आचार्य भने फोटोसेसनका लागि तयार भैसकेपछि केही लजाइरहनुभएको थियो । ‘कार्यक्रममा धेरै पटक महिलाका रूपमा प्रस्तुत भएको छु, त्यो बेला ब्याक स्टेजबाट सोझै स्टेजमा उत्रने भएकाले खासै अफ्ट्यारो लाग्दैनथ्यो, उहाँको भनाइ थियो– ‘यहाँ आउटडोर फोटोसेसन भएकाले बाहिर निस्कनै लाज लागिरहेको छ ।’ यद्यपि फाटोसेसन प्रारम्भ भैसक्दा–नसक्दै हरिवंश सामान्य भैसक्नु भएको थियो । 

अहिले के गर्दैछ मह जोडी ? 

फोटोसेसन सम्पन्न भएपछिको अनौपचारिक कुराकानीमा मह जोडीले आफ्ना आगामी महत्वाकांक्षी योजना पनि साप्ताहिकसँग सेयर गर्‍यो । मह जोडी यतिबेला दुईवटा नेपाली चलचित्रको स्क्रिप्टमा काम गर्दैछ । आचार्यका अनुसार दसैं–तिहारपछि फ्लोरमा जाने गरी दुईवटा चलचित्रको स्क्रिप्टमा काम भैरहेको छ । ‘दुईमध्ये एउटा चलचित्रको सम्पूर्ण छायांकन इन्डोर हुनेछ,’ आचार्यका अनुसार चलचित्रका लागि कलाकार तथा प्राविधिकहरूको पनि टुंगो लागिसकेको छ ।

केही समयपछि चलचित्रको शीर्षक, कलाकार तथा प्राविधिकहरूका बारेमा जानकारी सार्वजनिक गर्ने मह जोडीको योजना छ । ‘अर्को स्क्रिप्ट व्यवसायिक चलचित्रको छ, मदनकृष्ण श्रेष्ठका अनुसार उक्त चलचित्रका कलाकारहरू पनि निश्चित भैसकेका छन् । दुवै चलचित्रको छायांकन सँगसँगै गर्ने कि पालैपालो गर्ने भन्नेमा यो जोडी छलफलकै क्रममा छ । दुवै चलचित्रमा मह जोडी लेखन, निर्देशन एवं अभिनय आदि विधामा सक्रिय हुनेछ । 

 

प्रकाशित :श्रावण २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्