विश्व भारोत्तोलनको पावरहाउस एसिया

- साप्ताहिक संवाददाता

श्रावण २५, २०७४- 

नेपाली भारोत्तोलनकी नयाँ स्टार हुन्— कमला श्रेष्ठ । भरौल, सुनसरीकी कमला भक्तपुरमा हुर्किइन् । कराँतेमा ब्ल्याकबेल्ट श्रेष्ठ भरोत्तोलनमा प्रवेश गरेको तीन वर्ष मात्र हुँदैछ । २० वर्षीया कमलाले यति छोटो अवधिमै सिनियरमा नै सातपल्ट राष्ट्रिय कीर्तिमान बनाइसकेकी छिन् । गएको साता काठमाडौंमा सम्पन्न एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा पनि उनले ५८ किलोग्राम तौल समूहको स्पर्धामा तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । सातौं राष्ट्रिय खेलकुद र पाँचौं ग्राँ प्रिमा स्वर्णपदक जितेकी कमलासँग साप्ताहिकको पाँच प्रश्न : 

एसियाली युवा तथा जुनियर च्याम्पियनसिपमा कीर्तिमान बन्यो तर पदक जितिएन, किन ?

विश्व भारोत्तोलनको पावरहाउस एसिया नै हो । त्यसैले युवा तथा जुनियरकै भए पनि हामीभन्दा उत्कृष्ट खेलाडीहरू सहभागी हुँदा पदक जित्न सकिएन । प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाउनु पनि हाम्रा लागि उपलब्धि हो । यसपालिको अनुभवले भविष्यमा फाइदा गर्नेछ ।

 

च्याम्पियनसिपमा समग्र नेपाली खेलाडी (१३ जना) को प्रदर्शनलाई कस्तो रह्यो ?

म र सञ्जु चौधरीले राष्ट्रिय कीर्तिमान बनायौं । प्रकाश केसीले जुनियरमो कीर्तिमान बनाए । अरूले पनि व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरे । त्यसैले छोटो तयारी र सीमित सुविधामा गरिएको प्रदर्शनलाई राम्रो मान्नुपर्छ ।

 

सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदकनजिक पुगेर पनि वञ्चित हुनुभएको थियो, किन ?

मैले कांस्यपदक जित्ने निश्चित जस्तै थियो तर रजतको होडमा अघि बढ्दा पदकविहिन हुनुपऱ्यो । अनुभवको कमीले पनि त्यस्तो भयो । सिनियरमा त्यो नै मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

भारोत्तोलनमा कसरी लाग्नुभयो ?

लक्ष्मी (वन) दिदी भारोत्तोलन खेलाडी हुनुहुन्थ्यो । यो कस्तो खेल हो भन्दै तीन वर्षअघि उहासँग प्रतिस्पर्धा हेर्न जाँदा मलाई पनि भार उठाउन लगाइयो । मैले उचालें । योचाहिँ बलियो छे भन्दै मलाई सञ्जय (महर्जन) गुरुले भारोत्तोलनमा लाग्ने सल्लाह दिनुभयो । गुरुहरूले आमालाई पनि सम्झाएपछि मैले भारोत्तोलनको अभ्यास गर्न थाले ।

कराँतेलाई चटक्कै छोड्न गाह्रो भएन ?

भयो नि, अहिले पनि मलाई कराँते खेल्न मन लाग्छ । सुरुको एक वर्ष त दुवै खेल खेले । दर्शकको भीड हुने कराँते छाडेर दर्शकविहीन हलमा भारोत्तलन खेल्नुपर्दा नरमाइलो पनि लाग्छ, तर पदक जित्न थालेपछि भारोत्तोलनमै रमाउन थाले । 

 

प्रकाशित :श्रावण २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्