घिन्ताङघिसी

- साप्ताहिक संवाददाता

श्रावण २५, २०७४-  


स्थान विशेषअनुरूप गाईजात्राका आ–आफ्नै विशेषता छन् । यीमध्ये भक्तपुरको गाईजात्राका क्रममा देखाइने नाच घिन्ताङघिसीको विशेष महत्त्व छ । यो एक प्रकारको नृत्य हो, जसमा उमेर पुगेका व्यक्तिहरूबाट स्थानीय भाषामा ताहामचा (मृतात्माको प्रतीक) भनिने चारवटा बाँसको टुक्रा प्रयोग गरिन्छ । लामबद्ध भएर हिँडिरहेको अवस्थामा अर्काको ताहामचासँग आफ्नो ताहामचालाई ठोकाउँदै आवाज निकाल्दै नगर परिक्रमा गरिन्छ ।

यो क्रममा घिन्ताङघिसीको धुन निकाल्न स्थानीय बाजा खिङ, धिमे, तंं तथा भुक्ष्या बजाइन्छ । उक्त धुनको तालमै ताहामचा जुधाइन्छ । यही नाचलाई घिन्ताङघिसी नाच भनिन्छ । जसलाई संस्कृतविद्हरू नेपालको मौलिक नाच मान्छन् । घिन्ताङघिसीकै क्रममा एउटै व्यक्तिले आफूसँग रहेका दुईवटा ताहामचालाई एकअर्कासँग ठोक्काउँदै नृत्य गर्ने चलन पनि छ । जसलाई माक (बाँदर) नाच भनिन्छ । 

घिन्ताङघिसी नाचसहित भक्तपुरको तलेजु भवानीको आराधना गरेपछि नगर परिक्रमा गरिन्छ र साँझ परेपछि भैरव एवं भद्रकालीको मन्दिरमा पुर्‍याएर घिन्ताङघिसीको विसर्जन गरिन्छ । उक्त नगर परिक्रमापछि नै भक्तपुरमा गाईजात्राको रौनक सुरु हुन्छ, जुन निरन्तर आठ दिनसम्म चल्छ ।  

 

प्रकाशित :श्रावण २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्