सबैभन्दा ठूलो गाईजात्रा कहाँ भैरहेको छ ?

- साप्ताहिक संवाददाता

श्रावण २५, २०७४-
मानिसहरूको आफ्नै जीवनमा ।
सुरक्षा पन्त, अभिनेत्री

काठमाडौंका सडकमा । बिहान काममा जाँदा चिटिक्क परेर गइन्छ, बेलुका घर फर्कंदा धूलो र हिलोले गर्दा घरको कुकुरले पनि नचिनेर लखेट्ला भन्ने डर छ ।
किरण लाकौल, अभिनेता

विकासको प्रलोभन देखाएर जनताको भोटले पदमा पुगेका नेतालाई बारम्बार चुनाव जिताउँदै त्यही पदमा पुर्‍याउने गाईजात्रा हाम्रै देशमा देखिन्छ । 
भीम बिसी, संगीतकार

हाम्रो चलचित्र क्षेत्रमा, हरेक दिनजसो नयाँ–नयाँ चटक जो देख्न पाइएको छ ।
आमेश भण्डारी, अभिनेता

सुशासनका नाममा ।
नारद खतिवडा, हास्य अभिनेता

संसद् भवनमा रूपान्तरित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा । अन्त मैले देखे–सुनेको छैन ।
सीएल शर्मा, गायक

मेरो घरछेउ रातोपुलको सडकमा बढी देख्छु । त्यस्तो राम्रो सडक थियो, भत्काएर चौपट छ । ढलको पानीमा पौडन मात्र बाँकी छ । वर्षामा सडक र ढल खन्ने जस्तो गाईजात्रा हेर्न अन्त जानुपरेको छैन ।
मोहित मुनाल, संगीतकर्मी

हाम्रो चलचित्र क्षेत्र र सरकारमा । गाईजात्रा आउनुभन्दा धेरै अघिदेखि उनीहरू गाईजात्रा देखाइरहेका छन् ।
नीतु पोखरेल, अभिनेत्री 

सरकार र संसद्मा ।
प्रदीपकुमार उदय, निर्माता/वितरक

सामाजिक सञ्जालमा ।
अर्पणा मोहपाल, इभेन्ट व्यवस्थापक

यसको उत्तर प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई थाहा होला कि ?
यमन श्रेष्ठ, गायक/अभिनेता

हजारको नोटमा, साथमा नि छैन, हातमा नि छैन ।
प्रदीप भारद्वाज, चलचित्र लेखक

सडकमा, पानी पर्दा गाईजात्रा, नपर्दा नि गाईजात्रा ।
वसन्त निरौला, निर्देशक

अहिले सबैभन्दा ठूलो गाईजात्रा त हाम्रो देशको राजनीतिमा देखिएको छ ।
डीपी खनाल, गीतकार

चलचित्र नगरीमा ।
विनोद पोखरेल, फोटोग्राफर

१ नम्बरको गाईजात्रा भरतपुरमा, २ नम्बरको गाईजात्रा काठमाडौंका सडकमा, ३ नम्बरको गाईजात्रा संसद भवनमा, ४ नम्बरको गाईजात्रा २ नम्बर प्रदेशमा ।
केदार घिमिरे ‘माग्नेबूढा’, अभिनेता

ओहो ! नसोधौं हजुर, अहिले मेरै कार्यालयमा भैरहेको छ ।
प्रल्हाद बोगटी, संगीतकार

राजनीतिमा, नीतिको बाल छैन, सबै जना राज गर्न चाहन्छन् ।
निश्चल बस्नेत, निर्देशक/अभिनेता

देशको राजनीति र राजनीतिकर्मीहरूले जत्तिको कसले गरेका छन् र गाईजात्रा ?
विनोद ढकाल, गायक

सबैभन्दा ठुलो गाईजात्रा त चलचित्र नगरीमै भैरहेको छ । स्क्यान्डल बाहिरिएको बाहिरियै छ । स्वीकार कोही गर्दैनन् । यथार्थ अस्वीकार गर्नुभन्दा ठूलो गाईजात्रा के होला र ? अनि के तपार्इंले राजधानी नियाल्नुभएको छैन ? गर्मीमा धुलोमान्डु र झरीमा स्वीमिङ पुल । यो पनि ठूलै गाईजात्रा हो । 
वर्षा बस्नेत, सञ्चारकर्मी

काठमाडौंका सडकमा, राजनीतिमा, युट्युबमा अनि नेपाली चलचित्रमा । खासमा भन्नुपर्दा पूरै देशमा जताततै गाईजात्रा चलिरहेको छ ।
जयकिशन बस्नेत, अभिनेता

फेसबुकमा ।
सुस्मिता केसी, अभिनेत्री

काठमाडौको प्रत्येक चोक–चोकमा नेपाल सरकारले गाईजात्रा देखाइरहेको छ । हामी विचरा महान्, धनी, बुद्धीजीवी, व्यापारी, कलाकर्मी, सुकिला–मुकिला काठमाडांैवासी टुलुटुलु अहिलेसम्मकै सबैभन्दा ठूलो गाईजात्रा हेरिरहेका छांै ।
चेतन सापकोटा, संगीतकार

काठमाडौंको सडकमा, एउटाले खन्छ, अर्कोले पुर्छ, पुरी नसक्दै अर्कोले खन्न थाल्छ, उसले पुरेपछि फेरि अर्कोले खन्छ । योभन्दा ठूलो गाईजात्रा कहाँ हेर्न पाइएला ?
दीपक आचार्य, अभिनेता

जताततै छ, तर मैले काम गरिरहेको चलचित्र क्षेत्रमा अचेल अलि बढी देखिएको छ ।
कविराज गहतरात, नृत्य निर्देशक

यत्र तत्र सर्वत्र गाईजात्रा चलिरहेको छ,
देशमा गाईजात्रा, प्रधानन्त्रीको बढ्ता बोलीले,
विदेशमा गाईजात्रा आतंकवादीको बन्दुक र गोलीले,
धर्मका नाममा गाईजात्रा भिक्षा र झोलीले,
गीत–सङ्गीतमा गाईजात्रा, उध्रेको चोलीले,
सडकमा गाईजात्रा, खाल्डो र गाडीले, 
सदनमा गाईजात्रा, नब्याउने पाडीले, 
सन्जालमा गाईजात्रा, फेकन्युजको बाढीले, 
सिनेमामा गाईजात्रा, नाइलनको साडीले ।
मनोज गजुरेल, हास्यव्यंग्यकार 

 

प्रकाशित :श्रावण २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्