हास्य–व्यङ्ग्यको प्रारम्भ

- साप्ताहिक संवाददाता

श्रावण २४, २०७४-

प्रचलित कथाअनुसार छोराको निधनपछि राजा जगतप्रकाश मल्लको ध्यान शासन व्यवस्थाबाट हट्दै गयो । जसका कारण भक्तपुरका जनता आजित हुन थाले र राजाको अयोग्यताका विषयमा लुकीछिपी कुरा काट्न थाले । यो कुरा एक कान, दुई कान हुँदै राजाकहाँ जाहेर हुन पुग्यो । त्यसपछि राजालाई आफ्नो कर्तव्यबोध हुन गयो र उनी पछुतो मान्दै आफ्ना जनतासँग छलफल गर्ने निधोमा पुगे । 

छलफलका क्रममा राजाले सोधे– तिमीहरूलाई मेरो कुरा काट्न आनन्द आउँछ ? राजा जगतप्रकाश मल्लको यस्तो प्रश्न सुनेपछि भक्तपुरका जनताले कुनै जवाफ दिन सकेनन् । त्यसपछि राजा जगतप्रकाश मल्लले आफ्नो शासन व्यवस्था, कामकाज, राज्यको यथास्थितिलगायत भारदार तथा राज्यका अरू प्रशासकहरूको लोकप्रियता जाँच्ने निर्णय गरे ।

त्यसका लागि जगतप्रकाश मल्लले वर्षको एक दिन जनतालाई खुलेर आफ्ना कुरा राख्न दिने निर्णय गरे । यसका लागि उनले गाईजात्राकै दिनलाई रोजे र एक दिनको साटो ७ दिनसम्म भक्तपुरका जनतालाई आफूलाई चित्त बुझे–नबुझेका कुरा सार्वजनिक रुपमा व्यक्त गर्ने छुट दिए । राजाबाटै छुट पाएपछि भक्तपुरका जनताले पनि गाईजात्रापछिका ७ दिन जसलाई जे भने पछि हुन्छ भन्ने सोचेर आफ्ना कुरा खुलेर व्यक्त गर्न थाले । 

यसरी आफ्ना कुरा व्यक्त गर्ने क्रममा कसैले कविताको सहारा लिए भने कसैले ख्याली (व्यंग्यात्मक शैली) को सहारा लिए । कविताको तुलनामा ख्यालीका रुपमा व्यक्त गरिएका कुराहरू बढी रुचिकर हुन थालेपछि त्यसले निरन्तरता प्राप्त गर्दै गयो । यो क्रम भक्तपुरबाट काठमाडौं हुँदै ललितपुर, कीर्तिपुर, ठिमी, साँखु आदि सहरमा पनि विस्तार भयो । अहिलेको सन्दर्भमा गाईजात्रा र व्यंग्यात्मक कार्यक्रम उपत्यकाबाहिरका नेवार बस्तीहरूमा पनि बिस्तार भएको छ ।  

 

प्रकाशित :श्रावण २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्