गाईजात्राको इतिहास

- साप्ताहिक संवाददाता

श्रावण २४, २०७४- 

गाईजात्राको प्रारम्भ कसले र कहिलेदेखि गर्‍यो भन्ने विषयमा हाम्रा इतिहासकारहरूबीच विवाद रहँदै आएको छ । कतिपय इतिहासकारका अनुसार रातो मच्छिन्द्रनाथको जात्रा, बिस्केट जात्रा, इन्द्रजात्राजस्ता उपत्यकाका प्रसिद्ध जात्राहरू जस्तै गाईजात्रा पनि लिच्छविकालीन जात्रा नै हो । गाईजात्रा प्रारम्भ हुनुका पछाडि इतिहासमा कतै काठमाडौंका प्रताप मल्ललाई श्रेय दिइएको छ भने कतै भक्तपुरका जगतप्रंकाश मल्ललाई श्रेय दिइएको छ । 

प्रचलित कथाअनुसार दुवै राजाले पुत्रशोकमा डुबेकी आफ्नी रानीलाई सान्त्वना दिन गाईजात्राको चलन चलाएका हुन् । कथा अनुसार पुत्रशोक रानीलाई मात्र छैन दुनियाँदारलाई पनि छ भन्ने तथ्य सार्वजनिक गर्न राजाज्ञा अनुसार ज–जसका घरमा मानिसको निधन भएको छ उनीहरूले भाद्र कृष्ण प्रतिपदाका दिन आ–आफ्नो घरबाट गाईलाई सिंगारेर झाँकी निकाल्न थालेपछि गाईजात्राको विधिवत प्रारम्भ भएको मानिन्छ । 

इतिहास अन्वेषणको सिद्धान्तअनुसार हेर्ने हो भने गाईजात्राको अहिलेको स्वरूप चलाउने श्रेय भक्तपुरका राजा जगतप्रकाश मल्ललाई नै दिनु उचित हुन्छ । किनभने जगतप्रकाश मल्लको शासनकाल प्रताप मल्लको शासनकालभन्दा अघिको हो । 

भक्तपुरका राजा जगतप्रकाश मल्लको शासनकाल वि.सं. १६८९ देखि १७१० सम्म थियो भने काठमाडांैका राजा प्रताप मल्लको शासनकाल वि.सं. १६९६ देखि १७३१ सम्म । राजा जगतप्रकाश मल्लका छोराको मृत्यु वि.संं १६९६ भन्दा पहिले नै भैसकेको थियो, जुन वर्ष प्रताप मल्ल काठमाडौंका राजा भएका थिए । आफ्नो छोराको मृत्युपछि जगतप्रकाश मल्लले आफ्नी रानीलाई सान्त्वना दिन प्रताप मल्ल काठमाडौंको राजा हुनुअघि नै गाईजात्राको चलन प्रारम्भ गराइसकेका थिए । यता प्रताप मल्लका छोरा चक्रवतीन्द्र मल्लको निधन वि.सं. १७२६ मा मात्र भएकाले काठमाडौंमा गाईजात्रा वि.सं. १७२७ तिर मात्र प्रारम्भ भएको मान्न सकिन्छ । 

इतिहास जे–जस्तो भए पनि ती दुई राजाका पुत्रहरूको निधनले गाईजात्राको परम्परा पुनरुत्थान भएको पाइन्छ भने काठमाडौंमा रानीपोखरी र भक्तपुरमा रंगशाला निर्माण भएको थियो । रानीपोखरी अहिले पनि अस्तित्वमा छ भने भक्तपुरको रंगशालाको अवशेषका रुपमा उक्त रंगशालाको ढोकामा राखिएका दुईवटा सिंहको मूर्ति (जुन अहिले भक्तपुर दरबारको पश्चिमतर्फ छ) मात्र बाँकी छ । 

 

प्रकाशित :श्रावण २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्