नेताहरूलाई व्यंग्य गरेर केही फाइदा छैन

  • जितु नेपालको प्रश्न राजाराम पौडेलको जवाफ

- कृष्ण भट्टराई

श्रावण २३, २०७४-

वरिष्ठ हास्यकलाकार राजाराम पौडेल तथा लोकप्रिय हास्यअभिनेता जितु नेपालले हास्य श्रृंखला जिरे खुर्सानीमार्फत दर्शकहरूलाई पटक–पटक हँसाए । उक्त कार्यक्रममा ठूलो बुवा र भतिजाको भूमिकामा प्रस्तुत भएका राजाराम र जितुले धेरै पटक हास्यव्यंग्य कार्यक्रममा पनि सहकार्य गरेका छन् । मह जोडीका दर्जनौं टेलिश्रृंखलामा अभिनय गरेर दर्शकको मनमा बस्न सफल राजाराम पौडेलसँग मुन्द्रेको उपनामले लोकप्रिय जितु नेपालले गाईजात्राको पूर्वसन्ध्या पारेर साप्ताहिकका लागि विशेष कुराकानी गरेका थिए । कुराकानीको सम्पादित अंश : 

जितु नेपाल : दाइ नमस्कार । 

राजाराम पौडेल : नमस्कार । 

जितु : दाइ मभन्दा धेरै सिनियर हुनुहुन्छ । त्यत्रा चलचित्र, टेलिश्रृंखलाहरूमा अभिनय गर्नुभएको छ । यो जितु नेपालले पनि कुनै दिन दाइको अन्तर्वार्ता लिन्छ जस्तो लागेको थियो ? 

राजाराम : सोच्या थिइनँ मैले । यसरी छिन–छिनमा कसैको पेसा परिवर्तन हुन्छ भन्ने कुरा कसरी सोच्नु ? 

जितु : जितु आज एक दिनका लागि पत्रकार भएको छु । जितुले मेरो मनका यस्ता–यस्ता प्रश्न सोधिदियोस् भन्ने लागेको छ ? 

राजाराम : त्यस्तो त छैन, तर यो पत्रकार जितु नेपालले कस्तो चाहिं प्रश्न सोध्ने होला भनेर खुल्दुलीचाहिँ छ । जितुलाई मेरो सबै कुरा थाहा, जान्न नै के बाँकी छ र ? 

जितु : दाइको नाम राजाराम, तर तपाईंमा भने राजा र राममध्ये कुनैको केही फ्लेवर आउँदैन, 

किन होला ? 

राजाराम : रामको फ्लेवर चाहिं अलि–अलि आउन खोजेको हो । भगवान रामजस्तै म पनि केही वर्षअघि वनवास (अमेरिका) गएको थिएँ । त्यसक्रममा मैले अमेरिकामा सात वर्ष बिताएँ । त्यो मेरो वनवास नै थियो । भगवान राम १४ वर्ष वनबास गएकै हुन् । त्यो बेला अहिलेको जस्तो जेट प्लेन थिएन, हिंडेर समुद्र पार गर्नुपरेको थियो । म पनि हिंडेर आउजाउ गरेको भए ठ्याक्कै १४ वर्ष नै लाग्थ्यो होला । 

जितु : तपाईं अमेरिका पुग्दा र फर्कंदा को–को राष्ट्रपति थिए ? 

राजाराम : म जाँदा पनि बुस राष्ट्रपति थिए, फर्कंदा पनि बुस नै राष्ट्रपति थिए । त्यसैले त म फासफुस भएर फर्किंएँ नि । 

जितु : त्यसो भए बुसको राष्ट्रपतीय कालको सबैभन्दा असफल कार्य भनेकै राजाराज पौडेललाई त्यहाँ राख्न नसक्नु हो ? 

राजाराम : जर्ज बुसले नै मान्छे चिन्न नसकेको हो । हुन त त्यो विचराको विभाग नै अर्कै परेको रै’छ । मेरो विभाग अर्कै । मैले पनि भेट्न खोजिनँ । 

जितु : जर्ज बुसलाई त एक जना पत्रकारले प्रश्नै सोधेछन् नि, उनको कार्यकालको सबैभन्दा असफल कुरा के थियो भनेर ? जवाफमा नेपालको हास्य अभिनेता राजाराम पौडेललाई अमेरिकामा रोक्न नसक्नु भनेछन् । के यो सही हो त ? 

राजाराम : मान्छेले जहिले पनि आत्मआलोचना गर्न पाउँछ । बुसले पनि गरेछन् । त्यसबेला मलाई खुसी नै लाग्थ्यो । 

जितु : अहिलेका नयाँ राष्ट्रपतिले कुनै पहल गर्लान् कि ? 

राजाराम : अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चाहिं धेरै नै पैसा चाहिने रहेछ । म उनलाई भेट्न भर्जिनियादेखि वेस्ट भर्जिनियासम्म पुगेको थिएँ । उनको क्यासिनोमा विभिन्न थरीका ट्याक्स तिर्दै झन्डै ८ सय डलर सकियो । अन्तमा मलाई बुच्चै फिर्ता पठाइदिए । 

जितु : भन्नाले अहिलेका राष्ट्रपतिलाई दाइले ८ सय डलर गुण लगाउनुभएको छ ? 

राजाराम : त्यस्तै भन्नुपर्‍यो । 

जितु : तपाईंको सातवर्षे अमेरिकी बसाइका क्रममा काठमाडौंमा भएकी भाउजूलाई कतिपटक फोन गर्नुभयो ? 

राजाराम : कसले गनेर बस्यो होला र ? त्यो बेला अहिलेको जस्तो फेसबुक, स्काइप, मेसेन्जर आदि थिएनन् । ५, १०, २० डलरको कार्ड किनेर फोन गर्नुपथ्र्यो । कति पटक गरियो–गरियो, यादै छैन । 

जितु : घरकी भनेको घरकै हुन्, गर्दै गरौंला नि भन्ने विचार त आएन नि ? 

राजाराम : बाहिर गएपछि घरको, देश छोडेर गएपछि देशको अलि बढी नै माया लाग्छ । घरकी श्रीमतीको माया नलाग्ने त कुरै भएन, तर त्यो अमेरिका भन्ने देश कस्तो होला भने त्यहाँ कसैलाई फुर्सद नै छैन । कारमै ब्रेकफास्ट खानेदेखि केटीहरू कारमै मेकअप गर्दै काममा गएको समेत देखिन्छ । घरकी श्रीमती बाहेक अरूलाई फोन गर्ने त चान्स नै छैन । 

जितु : अमेरिकामा छँदा कुनै नेपालीको घरमा जमघट हुँदा, गेट टुगेदर हुँदा भने दाइको उपस्थिति कस्तो हुन्थ्यो ? 

राजाराम : म भ्याएसम्म त्यस्तो जमघटमा गैरहन्थें । 

जितु : अनि तपाईं जहाँ जानुहुन्थ्यो, त्यहाँ श्रीमान्–श्रीमतीबीच नै मनमुटाव हुन्थ्यो भन्ने सुनिएको थियो नि ? 

राजाराम : हा हा... मेरै कारण त्यस्तो मनमुटाव, किचलो पथ्र्यो भन्ने होइन । त्यस्तो जमघटका बेला बूढीले बूढालाई, गर्लफ्रेन्डले ब्वाइफ्रेन्डलाई हनी भनेर बोलाएको मलाई पच्दैनथ्यो । हेर्दै साँढे जस्तो मान्छे छ, हनी रे । मेरो हनी होइन, मेरो साँढे भनेर बोलाउनु नि भनिदिन्थें । 

जितु : प्रसंग बदलौं, यत्तिका वर्ष बिते, तर तपार्इंलाई दर्शकहरूले त्यही १५ गते हास्य श्रृंखलाकै भूमिकाका कारण सम्झने कारण के होला ? 

राजाराम : आज यो अन्तर्वाता लिएको दिन पनि १५ गते नै परेको छ, कस्तो संयोग मिलेको ? वास्तवमा १५ गते श्रृंखलाले हरेक वर्ष लाइफ टाइम एचिभमेन्ट एवार्ड पाउनु पर्ने हो । आजका मितिसम्म त्यत्तिको उत्कृष्ट हास्य श्रृंखला बनेकै छैन । त्यो श्रृंखलामा देखाइएका कुराहरू आज पनि उत्तिकै सान्दर्भिक छन्, पुस्तौंसम्म सान्दर्भिक रहने छन् । 

जितु : कुन कुराले त्यसलाई यत्तिको विशेष बनायो त ? 

राजाराम : उक्त श्रृंखलाले काठमाडौंको मान्छेको तराईको एउटा गाउँकी युवतीसँग हुने  वैवाहिक सम्बन्धलाई चित्रण गरेको छ । तराईं, पहाड, हिमाल सबै एउटै हो भन्ने सन्देश त्यो श्रृंखलाले दिएको छ । त्यति बेला हामीले दिएको सन्देश आजको मितिसम्म पनि उत्तिकै सामयिक छ । 

जितु : मह जोडीका कति चलचित्र, टेलिश्रृंखला बने, तर तपाईंको १५ गतेकै जस्तो भूमिका आएन नि ? 

राजाराम : मह जोडी आफैंमा माइलस्टोन हुनुहुन्छ । उहाँहरूले बनाएको १५ गते पनि आफैंमा माइलस्टोन हो । त्यसैले त्यससँग तुलना गर्ने अन्य श्रृंखला नै नभएकाले मेरो भूमिका पनि नभएको हो । म त के भन्छु भने नेपालमा १५ गतेलाई जित्ने कुनै टेलिश्रृंखला नै बनेका छैनन् । 

जितु : अब थोरै व्यक्तिगत प्रश्न सोध्छु, नढाँटी जवाफ दिनु होला । 

राजाराम : एउटा कलाकारको व्यक्तिगत र सार्वजनिक जीवन भन्ने नै हुँदैन । तैपनि सोध्नुस् न, के सोध्न चाहनुहुन्छ ? 

जितु : तपाईं राति ढिला घरपुग्दा भाउजूले शंका गर्ने सम्भावना कत्तिको छ ? 

राजाराम : अब आफूलाई ज्ञानी भनौं कि आदर्शवादी ? म अलि छुकछुके स्वभावको छु, छुल्याहा छु तर यति हुँदा–हुँदै पनि तपाईं कुनै दिन मेरो घरमा साँझ ६ बजे पुग्नुभयो भने हरेक दिन मलाई घरमै पाउनुहुन्छ । म साँझ परेपछि घर बाहिर निस्किन्नँ । 

जितु : भन्नाले यता–उता भएछ भने दिउँसै ? 

राजाराम : अँ दिउँसै (हा हा हा...) ।

जितु : मैले भेटघाट, मिटिङ भन्न खोजेको हो । 

राजाराम : मैले पनि त्यही त भनेको हो नि । मेरी श्रीमतीले मप्रति शंका गर्ने, झगडा गर्ने केही पनि छैन । त्यही भएर हेर्नुस् हाम्रो विवाह भएकै झन्डै ३४ वर्ष हुन लाग्यो, यो अवधिमा एक पटक पनि झगडा परेको छैन । मान्छेका श्रीमान्–श्रीमतीबीच ठ्याक्क–ठुक्क त हुन्छ नि, हाम्रो त कहिल्यै त्यस्तो भएको छैन । 

जितु : टोलका केटा–केटीलाई त तपाईंले छुट्टै भाषा सिकाउनु हुन्छ रे, छुट्टै गीत सिकाउनुहुन्छ रे ? राजाराम दाइसँग भेटेपछि ती केटाकेटीहरूको व्यवहारमै परिवर्तन आउँछ रे ? 

राजाराम : मसँग भेटेपछि केटाकेटीहरू अलि बढि दार्शनिक हुन्छन् । म उनीहरूलाई ज्ञान–गुणका कुराहरू सिकाइदिन्छु, अलि स्मार्ट पनि हुन्छन् उनीहरू । म उनीहरूमाझ अलि बढी लोकप्रिय छु । 

जितु : राजाराम दाइसँग काठमाडौं बाहिर यात्रामा जान पाउँदा महिला कलाकारहरू विशेष खुसी हुन्छन् रे । दाइ, अंकल, बासँग जान पाइने भो भनेर रमाउँछन् रे, तर काठमाडौंबाट बाहिर लाग्नेबित्तिकै दाइका गफ सुनेपछि सबैले जिब्रो काट्छन् रे, के यो साँचो हो ? 

राजाराम : भगवानले जिब्रो दिएकै बोल्न र टोक्नका लागि हो । हो, म रमाइलो स्वभावको छु । यात्रामा गम्भिर हुने कुरा पनि त आएन नि । 

जितु : जोडिएको नातामा खासै विश्वास छैन भन्ने पनि सुनिन्छ ? 

राजाराम : यो पनि सही नै सुन्न भएछ । मलाई त्यो नाता जोडेर भाइटीका लगाउने चलन मन पर्दैन । मैले आजसम्म आफ्नै साख्खै दिदी–बहिनीबाहेक अरुसंग भाइटीका लगाएको छैन । 

जितु : मैले तपाईंको यात्रामा भएका केही सहयात्री महिलालाई भेटेको थिएँ । उहाँहरूको प्रतिक्रिया के थियो भने राजाराम दाइ मैदानमा उत्रिने त हो, तर गोल नै हान्ने स्वभावको मान्छे चाहिं होइन । हो त ? 

राजाराम : मानिसहरूले मेरो स्वभावलाई कसरी मूल्यांकन गर्नुहुन्छ, त्यो उहाँहरूमै भर पर्ने कुरा हो तर म असाध्यै रमाइलो गर्ने स्वभावको व्यक्तिचाहिं पक्कै हुँ । 

जितु : एक .पटक महसञ्चारमा भएको जमघटमा सबै अग्रज कलाकारले अर्को जन्ममा पनि अहिलेकी श्रीमती नै पाइयोस् भनेर कामना गर्नु भयो रे, तपाईंले चाहिं अर्को जन्ममा त अर्कै चाहिन्छ भन्नुभयो रे, यसमा कत्तिको सत्यता छ ? 

राजाराम : यो प्रसंग जोडेर मलाई अहिले सम्म पनि उडाउँछन् । त्यो मैले भनेको होइन, त्यहाँ कसैले पनि भनेको होइन । तिललाई पहाड बनाउने कुरा मात्र हो त्यो । 

जितु : सात वर्ष अमेरिका बसेर फर्किएपछि जीरे खुर्सानीबाट प्रारम्भ भएको यात्रा कस्तो रह्यो त ? 

राजाराम : सबैभन्दा पहिले मैले तपाईं र शिवहरी पौडेललाई धन्यवाद दिनै पर्छ । तपाईंहरूले नै मेरो सेकेन्ड इनिङ प्रारम्भ गराइदिनु भएको हो । कला क्षेत्र भनेको एक–दुई वर्ष ग्याप हुनेबित्तिकै बिर्सने ठाउँ हो । म अमेरिकाबाट फर्कनेबित्तिकै तपाईंहरूले मलाई दिनु भएको प्लेटफर्मले मेरो अभिनय यात्रामा ठूलै काम गरेको छ । पुरानामात्र होइन नयाँ दर्शकले पनि मेरो अभिनयलाई मन पराइदिनु भयो । 

जितु : तपाईं एक दिनका लागि प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ? 

राजाराम : सबैभन्दा पहिले जिब्रो बनाएर बोली प्रस्ट पार्छु । त्यसपछि आफ्ना नातागोतालाई ठाउँ–ठाउँमा नियुक्त गराउँछु । आफू छउञ्जेल त हो नि आफ्नाहरूका लागि गर्ने । 

जितु : देउवा सरकारबाटै मन्त्री खानुपर्‍यो भन्ने प्रस्ताव आयो भने ? 

राजाराम : मलाई यो अकल्पनीय कुरामा विश्वास छैन । मैले आजसम्म कुनै पनि सरकारी सुविधा लिएको छैन, पाएको पनि छैन । एकै पटक मन्त्री देलान् भन्ने त पत्यारै छैन, दिए पनि खान्नँ । 

जितु : तपाईंको पछिल्लो अष्ट्ेरलिया भ्रमण विवादमा परेको थियो, के भएको हो ? 

राजाराम : मैले स्टेजमा प्रस्तुत गरिएको हाम्रो कार्यक्रम छायांकन नगर्न अनुरोध गरेको थिएँ,एउटा स्थानिय नेपाली टेलिभिजन च्यानलले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिदिएपछि म रिसाएको हुँ । 

जितु : तपाईं तेल भिसामा अस्ट्रेलिया जानुभएको कुरा पनि आयो नि ? 

राजाराम : एक जना पत्रकार साथीले कुन भिसामा आउनु भएको भनेर सोध्नुभएको थियो । म त नातीलाई तेल दल्ने भिसामा आएको भनेको थिएँ, सबैतिर तेल भिसाकै चर्चा हुन थालेछ । 

जितु : पछिल्लो समय चलचित्रबाट लोकप्रिय भैरहनुभएको छ, कत्तिको रमाउनु भएको छ ? 

राजाराम : मैले अभिनय गरेका चलचित्रबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । त्यसैको नतिजा होला म पहिलो पटक एउटा चलचित्रमा हिरो बनेर आउँदैछु । 

जितु : कस्तो चलचित्र हो ? जोडी को छ ? 

राजाराम : चलचित्रको शीर्षक हुर्रे हो । यो चलचित्रमा म मुख्य कलाकारका रूपमा प्रस्तुत हुँदैछु । जोडा–जोडी भन्ने छैन । 

जितु : आफैं निर्माता–निर्देशक बन्न मन लागेन ? 

राजाराम : त्यस्तो बहुलाउने रहर कहिल्यै लागेन । त्यसरी बहुलाउन कि त धेरै पैसा चाहियो । पैसा धेरै भएपछि मान्छे बहुलाउँछ । मलाई अभिनय गर्दैमा फुर्सद छैन भने मैले किन आफैं फिल्म बनाउने, निर्देशन गर्ने ? 

जितु : टेलिभिजनका हास्य कार्यक्रमको लोकप्रियता घटेको हो ? 

राजाराम : हास्य कार्यक्रम मात्र होइन, अहिले टेलिभिजनका कुनै पनि कार्यक्रम लोकप्रिय छैनन् भन्दा हुन्छ । मानिसले टेलिभिजन नै हेर्न कम गरेको अनुभव गर्दैछु । बरु अचेल मानिसहरू फुर्सद मिलाएर यूट्युबमा मन लागेका कार्यक्रम हेर्छन् तर टेलिभिजन अघिल्तिर बसेर कार्यक्रम हेर्न छाडे । 

जितु : पछिल्लो समय झन्–झन् हिरो हुँदै जानुभएको छ, कसरी ? 

राजाराम : त्यस्तो हिरो त होइन । कथा अनुसार, भूमिका अनुसार हिरो बन्ने हो । 

जितु : खानामा कत्तिको सौखिन हुनुहुन्छ ? 

राजाराम : म भोकै बस्न सक्दिन । मिठो खान्छु, थोरै खान्छु । समय–समयमा खाइरहन्छु । 

जितु : पिउने कुरामा ? 

राजाराम : डाक्टरले टर्रो पेय पदार्थ अलि–अलि पिए हुन्छ भनेका छन् । सबै कुरा चाखें, त्यो भोड्का भन्नेचाहिँ केही टर्रो हुने रहेछ । कहिलेकाहीं त्यही लिन्छु । 

जितु : यसपटकको गाईजात्राको अवसरमा कुन नेतालाई कस्तो व्यंग्य गर्नु ठीक होला ? 

राजाराम : व्यंग्य गरेको लाग्ने भए पो व्यंग्य गर्नु ? म त नेताहरूलाई व्यंग्य गर्दा–गर्दा वाक्क भैसकें । गाईजात्राकै कार्यक्रममा कुनै एक जना नेतालाई निम्ता गर्‍यो, ४० जनाको जुलुस लिएर आउनुहुन्छ । त्यहीं नकचरो भैसक्नुभयो । त्यहाँ गरिएको व्यंग्य कार्यक्रम हलबाट बाहिर निस्कने बित्तिकै बिर्सनुहुन्छ । त्यस्ता नेतालाई खै के व्यंग्य गर्नु ? 

जितु : अन्त्यमा, गाईजात्राको यो एकदिने पत्रकारलाई के सल्लाह दिनुहुन्छ ? 

राजाराम : कलाकार–पत्रकार दुवै उस्तै हुन् । दुवैको पछाडि कार जोडिएको छ । तपाईं परिआएको खण्डमा राम्रो पत्रकारसमेत बन्न सक्नुहुँदो रहेछ । असाध्यै खुसी लागेको छ । 

 

 

प्रकाशित :श्रावण २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्