प्रताप मल्लको कविता

- मनोज गजुरेल

श्रावण २२, २०७४-  

राजा प्रताप मल्लले गाईजात्राको चलन सुरु गर्दा गाईजात्रा महोत्सव हुँदैनथ्यो । विभिन्न पत्रपत्रिकाले गाईजात्रे अंक निकाल्दैनथे । गाईजात्राका नाममा मनपरी तन्त्र हुँदैनथ्यो । आज गाईजात्राका नाममा हामीले गरेको छाडाजात्राको पूर्वानुमान गरेका भए उनले पक्कै पनि गाईजात्राको चलन क्यान्सिल गरिसक्थे ।

अझ राजनीति क्षेत्रले गाईजात्राको बेइज्जत गर्ने कुरा जानेका भए प्रताप मल्लले कि नेताहरूलाई प्रतिबन्ध लगाउँथे कि त गाईजात्राको अर्कै नाम राख्थे । किनभने राजनीतिले गाईजात्राको घोर अपमान गरेको छ । कुनै काम बिग्रियो भने पनि त्यसलाई गाईजात्राको नाम दिइन्छ । नेताले नौटंकी देखाए भने पनि गाईजात्रा नै भनिन्छ । यति राम्रो गाईजात्रालाई राजनीतिको विकृतिसँग तुलना गरिएको यो विश्लेषकलाई पटक्कै मन परेको छैन ।

गजुरियल विश्लेषक भन्छ, अब गाईजात्रा पर्वको शुद्धता कायम गर्ने दुईवटा मात्र उपाय छन् । पहिलो, समाजमा बिग्रिएका, भत्किएका, नमिलेका कुरालाई गाईजात्रा भन्न छोड्नुपर्‍यो । किनभने गाईजात्राको अर्थ त्यो होइन । गाईजात्रा भनेको त प्रेरणा, आनन्द र खुसीको पर्व हो । कलाकारले खराब काम गर्‍यो भने गाईजात्रै देखायो भन्न छोड्नुपर्छ । नेताले सदनमा कुर्सी भाँचे भने त्यसलाई नेताजात्रा भन्नुपर्छ, गाईजात्रासँग जोड्नु हुँदैन ।

दोस्रो अर्थात् यदि त्यस्तो सकिँदैन भने गाईजात्रालाई गाईजात्रा नै राख्नुपर्‍यो, गालीजात्रा बनाउनु भएन । पत्रिकामा मनाइने गाईजात्रालाई कार्टुनजात्रा भन्नुपर्‍यो । स्टेजमा देखाइने जात्रालाई नेताजात्रा भन्नुपर्‍यो । युट्युब र भिडियो निकाल्ने कामलाई पैसा कमाउने जात्रा भन्नुपर्‍यो । गाईजात्रा पर्वको मर्म नबुझी गाईजात्रा नाम राखेर गरिने कुनै पनि कार्यप्रति कपिराइट कानुन आउनुपर्ने गजुरियल सुझाव छ ।

आज प्रताप मल्ल छैनन् । उनले सुरु गरेको जात्राको शुद्धता पनि छैन । यो गजुरियल कल्पना गर्छ, साँच्ची प्रताप मल्ल अहिले भएका भए के गर्थे ? गाईजात्रा पर्व छाडाजात्रा भएकोमा प्रताप दण्ड चलाउँथे कि खप्परमा हात राखेर बस्थे होला ? गजुरियल अनुमान छ, यदि प्रताप मल्ल कतैबाट गाईजात्राको बिजोग हेर्दैछन् भने उनको दिमागमा यस्तो कविता फुरेको हुनुपर्छ : 

म प्रताप मल्ल,

मेरो मल्ल शासन पनि गयो
प्रतापको ताप पनि बेकार भयो
गाईजात्रा सुरु गरेर गल्ती गरेछु,
गौमाताकै बदनाम भयो,
कस्तो नमिठो भ्रममा परेछु ।

गाई र गोरुमा भएछ विभेद
भैंसी र राँगाबीच पनि भेद
उही पशु हुन् किन गाई मात्र ?
गर्नुपथ्र्यो बरु पूरै पशुजात्रा ।

बोका र भेडा पनि काम लाग्थे
कुकुर बिराला पनि सधैं जाग्थे
पशु–पशुमा छैन भेदभाव
ममा भने त्यो किन भो अभाव ?

मासिए गाई, गोठमा ती छैनन्
भासिए गोठाला, देशमा रहेनन्
हाँसो कमी भो बढी गालीको मात्रा
बिग्रियो कठै यो मेरो गाईजात्रा ।
पत्रकारले निकाल्छन् गाईजात्रे अंक
न गाई हुन्छ, न जात्रा देखिन्छ
हेर्नै नमिल्ने कार्टुन चित्र
भयो मेरो गाईजात्रा विचित्र !
के व्यंग्य हो अनि के हो हाँसो
पटक्कै छैन नैतिकताको नासो
गाली गर्छन् अनि भन्छन् व्यंग्य
हँसाउने भन्छन्, देखाउँछन् सर्वांग ।

फोहोरी संवाद, लाजमर्दो गाना
समाजमा पच्नै नसक्ने नाना
लाउँछन् मुकुण्डो क्यारिकेचरमा
मानको मर्दन गर्छन् बेकारमा ।

जति महत्व जुन जात्राको
थियो मान त्यसको त्यही मात्राको
निस्कथ्यो जात्रा घर–घरबाट
हेर्थे जनले वरपरबाट ।

घट्यो त्यो जन–जनबाट
हेर्छन् सबैले धन–धनबाट
व्यापार गर्‍या छन् जात्राका नाउँमा
कठै के भयो यो मेरो आफ्नो ठाउँमा । 

 

प्रकाशित :श्रावण २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्