खोल/गुदी

- सुविन भट्टराई

श्रावण २१, २०७४- 

कोही मानोस् वा नमानोस्, तर यो कुरा निर्विवाद भैसकेको छ कि अहिलेको आधुनिक समाजमा गुदीभन्दा पनि खोलतिर मानिस बढी आकर्षित हुन थालेका छन् । कुनै पनि चिजको प्याकेजिङ कुन ढंगबाट भएको छ ? त्यो हेर्ने प्रवृत्ति बढेको छ । ‘भित्र के छ ? कस्तो छ ?  यो प्रवृत्तिको फैलावट यतिसम्म छ कि अंग्रेजीको पुरानो र प्रचलित भनाइ ‘डन्ट जज अ बुक बाइ इट्स कभर’ नै संकटमा परेको देखिन थालेको छ ।

हामी होडमा छौँ । हामी आफैँलाई तिखारेर भन्दा एउटा झिल्के आवरणले ढाकेर बेचिने युगमा छौँ । हरेक आवरणभित्र गुदी हुन्छ भन्ने कुराको सुद्धि हामीमा रहन छाडिसकेको छ । हामी ह्दयले महसुस गर्ने भन्दा आँखाको दृष्टिले स्पर्श गर्ने चीजमा बढी ध्यान दिन थालेका छौँ ।

एउटा सानो प्रेरक प्रसंग जो कतै पढेको, सुनेको थिएँ, यस्तोमा ठ्याक्कै याद आउँछ । केही विद्यार्थीहरू जो आ–आफ्नो क्षेत्रमा सफल थिए, उनीहरूको समूह एकपटक आफ्ना पुराना प्रोफेसरलाई भेट्न जान्छ । प्रोफेसरसित कुरा गर्दै जाँदा उनीहरू जीवनदेखि निराश भएको अनुभव बाँड्न थाल्छन् । प्रोफेसरले आफ्ना विद्यार्थीहरूलाई कफी पिलाउने जमर्को गर्छन् । बनिसकेको कफी हाल्न त्यहाँ विभिन्न कोटीका कप हुन्छन् । कुनै कमसल, सस्तो त कुनै आकर्षक र महँगा पनि ।

विद्यार्थीहरूले छानी–छानी सबैभन्दा राम्रा र महँगा कपमा कफी हाले अनि सस्ता र कमसल कपहरू छाडिए । यो सब विचार गरिरहेका प्रोफेसरले भने, ‘कपमा कफी हाल्दा सबैभन्दा राम्रो कपमा कफी राखेर पिउने तिमीहरूको जुन होड थियो, त्यो नै तिमीहरूको समस्या थियो । जुनसुकै कपमा खाऊ, कफी त त्यही हो । त्यसको स्वादमा कुनै फरक पर्नेवाला छैन । तिमीहरूलाई चाहिएको त कफी नै हो, कप होइन । यो कुरा बुझ कि जीवन कफी हो, कप होइन । तिमीहरूलाई चाहिएको एक चीज छ, तर भड्किएका अर्कै चीजमा छौ । राम्रो जागिर, धेरै पैसा, प्रतिष्ठा, सफलता यो सब भनेको कप हो । तिम्रो गुदीलाई अड्न दिने ठाउँ मात्र हो, तर तिमीहरू यसरी लागिरहेका छौ कि ती चिज नै सबैथोक हुन् । अक्सर कपमा ज्यादा केन्द्रित हुने हुँदा हामी कफीको स्वाद लिन बिर्सन्छौ । कफीमा ध्यान दिने गर कपमा होइन, जीवन आफैँ बुझ्छौ ।’

ती प्रोफेसरले भनेको कुराले उनका विद्यार्थीहरूमा कस्तो असर पर्‍यो थाहा छैन, तर मेरो मुटुमा भने सीधै गढ्यो । हामी आवरणमा यति ध्यान दिन्छौँ कि गुदी भन्ने कुरै बिर्सन्छौँ । आवरणको बाक्लो तुवाँलोले हामीलाई यसरी ढाकेको छ कि हामी के खोजिरहेका छौँ, केका लागि कहाँ हिँडिरहेका छौँ, केका लागि रात–दिन लडिरहेका छौँ भन्ने कुरा नै देख्न छाडिसक्यौँ । कतिपय अवस्थामा खोल हेरेर छाडिएका पुस्तक नपढ्दा एउटा सुन्दर विचार र लोभलाग्दो अभिव्यक्ति छाडिएको हुन सक्छ । 

यस्तो पनि भएको हुँदो हो कि आकर्षक पोस्टरबाट तानिएर हामीले झूर सिनेमालाई तीन–तीन घण्टासम्म झेलेका हौँ । कपडा औसतको मात्र लगाएको व्यक्तिसित बोल्न हिचकिचाएकाले एउटा सुमधुर र मीठो संगत गुमाइरहेका हुन सक्छौँ ।

कति खानेकुरा त लोकल ठाउँमै मीठा हुन्छन् । टिलिक्क टल्किएको भुइँ र झिलिक्क बलेको बत्ती नभएकैले त्यो बाटो काटेर जाने हुँदा अपरिमिति स्वाद मिस गरिरहेका हुन सक्छौँ । खोल त बजारु चिज न हो, जसको केही मोल त छ तर गुदी हो वास्तविक चिज, जो वास्तबमै अनमोल छ । 

 

प्रकाशित :श्रावण २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्