स्पोर्ट्स एवार्ड वितरण हुने

- साप्ताहिक संवाददाता

श्रावण २०, २०७४-

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा भोलि साउन २१ गते शनिबार पोखरामा स्पोर्ट्स  एवार्ड वितरण हुँदैछ  । वर्ष उत्कृष्ट पुरुष खेलाडीका लागि करण केसी (क्रिकेट), कुमार अधिकारी (लनटेनिस) तथा विशाल बस्नेत (ह्यान्डबल) मनोनयनमा छन् भने वर्षकै उत्कृष्ट महिला खेलाडीमा सुष्मी श्रेष्ठ (फुल कन्ट्याक्ट कराँते), टीकामाया गुरुङ (भारोत्तोलन) तथा अरुणा शाही (भलिबल) मनोनयनमा छन् ।  

छनौट समितिले उदीयमान वर्ष खेलाडीमा ममता डगौरा (भलिबल), दर्शना बूढामगर र सागर नेपाली (एथलेटिक्स) तथा वर्षका उत्कृष्ट प्रशिक्षकमा सुनबहादुर लामा (तेक्वान्दो), बखतमान श्रेष्ठ (भारोत्तोलन) र इन्द्र मल्ल (एथलेटिक्स) लाई मनोनयन गरेको छ । खेलकुद पत्रकार मञ्च, कास्कीले यसै वर्षदेखि उत्कृष्ट संघको विधा थप गरिएको छ । पहिलो पटक प्रदान गर्न लागिएको यो विधामा कास्की जिल्ला लन टेनिस संघलाई उत्कृष्ट संघका रूपमा एवार्ड प्रदान गरिनेछ ।

लाइफटाइम एचिभमेन्ट एवार्डबाट पूर्व अन्तर्राष्ट्रिय धावक खड्गबहादुर रानाभाटलाई सम्मान गरिने मञ्चले जनाएको छ । लाइफटाइम एचिभमेन्ट एवार्ड वाट सम्मानित हुने ६९ वर्षीय रानाभाटले १४ वर्षको हुँदा वि. सं. २०२० देखि आफ्नो खेल जीवन प्रारम्भ गरेका थिए । एथलेटिक्स, भलिबल र फुटबलका राष्ट्रिय खेलाडीसमेत रहिसकेका रानाभाटले सन् १९७० मा थाइल्यान्डको बैंककमा सम्पन्न छैटौं एसियाली खेलकुदमा ३ हजार मिटरको स्टिपल चेजमा आठौं स्थान हासिल गरेका थिए । वि.सं.२०४१ मा एथलेटिक्सका मुख्य प्रशिक्षक रहेका रानाभाट वि.सं.२०६८ मा परिषद्को सदस्यसमेत भएका थिए । 

 

प्रकाशित :श्रावण २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्