मलाई थुक्ने त्यो केटी

- अधिकारी रवीन्द्र

श्रावण १९, २०७४

 

आज उठ्नै ढिला उठियो, जडीबुटीबाट सधैं पौने ६ बजे बस चढेर बाङ्गेमुढास्थित श्रृंगार पसल खोल्न त्यतातिर लागें । जाडो मौसम, पौने ८ भा’थ्यो, दुई–चार जना मान्छे मात्र गल्लीतिर देखिन्थे । त्यस्तैमा अकस्मात् आकाशबाट देब्रेपट्टिको कन्चटमा तात्तातो लेदो खस्यो । एकोहोरो हिँडिरहेको मेरो हंसले ठाउँ छोड्यो, झट्ट माथि हेरें, काँचो इँटाले बनेको पुरानो घरको आँखीझ्यालको बुट्टामाथि तेस्र्याइएको काठमा दुवै हातका पाखुरा टेसाएर एउटी केटी मुन्टो घोप्टो पारी मदमस्त बसेकी थिई । दोस्रो पटक थुक्नलाई जसो–तसो मुखमा खकार जम्मा गर्न लागिपरेकी थिई ऊ । 

तल बाटोमा को आइरा’ छ, उसलाई मतलब छैन । खकार बनायो, थुक्यो । बस, क्या आनन्द  ! गल्लीमै घर हुने र उमेर हेर्दा २५–२६ की देखिनेको त कम्तीमा थुक्ने बेलामा कोही छ कि तल भनेर हेर्नुपर्ने चेतना आइसकेको हुनुपर्ने अनि मलाई रिस नउठ्ने कुरै भएन । मलाई ऊदेखि मात्र होइन, बाटा–बाटाँ घर बनाएर थुक्ने संस्कार सिकाउने बाउ–आमादेखि पनि उल्कै रिस उठ्यो । म खम्बासरी अडिग थिएँ, देब्रेपट्टिको आँखीझ्यालमा मेरा आँखा एकटक अडिएका थिए । कस्ती सोमत नभ’की केटी रै’छे भनेर सोच्दासोच्दै उसले खाक्राङ–खुक्रुङ गरेर दुवै गालासमेत पुक्क हुने गरी एक मुख टन्न खकार बनाइहाली र पुन: प्याच्च थुकिदिई । 

उसको मुखबाट छुटेको थूकको उल्टो प्यारासुट हावालाई विस्थापित गर्दै गुरुत्वप्रवेगमा चुनुनुनु तल झर्दा हाम्रा आँखा एक–अर्कामा ठोक्किए । उसका आधा बन्द आँखा पूरै खोलिए, तबसम्म ऊ पुरापुर होसमा आइसकेकी थिई । उसका अनुहारमा पश्चातापका बादल मडारिन थालेझैं भयो, पक्कै पनि ऊ नथूकेको भए हुने भनेर सोच्दै थिई । लाग्थ्यो, एक थुकाइको त्यो विघ्न पछुतो जीवनमा उसको पहिलो थियो । उसले मुख बिगारी । ओठ खोलेर दाँत देखाई, निधार र नाक एकसाथ खुम्च्याई । सास तानी र सुस्केरा छोडी । उसका आँखा अर्धचन्द्रको आकारबाट पूर्णचन्द्रको आकारमा परिणत भए । त्यही क्षण मेरो अवरुद्द गलाबाट निसास्सिएको ‘ए ए’ भन्ने लवज आयो । मेरो आगो रिसलाई तटस्थ पार्न सक्ने लेभलको सुन्दरता उसको अनुहारले बोकेको थियो, त्यसैले सबै गाली, सबै सराप तिनै दुई अप्रस्ट ‘ए ए’ मै पचेर गयो । हिजो–अस्ति सधैं टाइममा हिंड्ने मान्छे आज पनि टाइममा हिंडेको भए यो दशा हुँदैनथ्यो । उसले थुक्ने बेलासम्म त बोनी पनि भैसक्थ्यो । 

मेरो रिफ्लेक्स ह्याङ भो र यो सबै घटनाक्रम यति छिट्टै भयो कि मनमा रिस एकातिर थाती राखी के गर्ने के नगर्ने भनेर बिचार्दा–बिचार्दै एउटा ठूलो टोप्रो खकार मिश्रित थूकले ग्वाल्र्याम्मै निधारमा ल्यान्डिङ गर्‍यो । एक मिनेटभन्दा कम समयको फरकमा खकारका दुई ल्यान्डिङ खाएको मेरो अनुहारबाट ल्यार्र बाक्लो थूकको झोल आँखाको खोप्रे डोल हुँदै नाकको फेद छोएर ओठसम्म पुग्यो । सोचें– अरे क्षयरोग नै भकी केटी हो कि क्या हो ? मेरो आँखाको घुराइ सहन नसकेर हो वा आफ्नो असभ्यताले लज्जित भएर हो, त्यो केटी हेर्दाहेर्दै हराई अनि म फुर्सदले गल्लीको पेटीमा हात अड्याई भुलुक्क–भुलुक्क बान्ता गर्न थालें । 

मान्छेको पुर्पुरो भाग्यले बल्छ भन्छन्, मेरो पुर्पुरो अभाग्यले भिज्छ । ठाउँ न कुठाउँ, बेला न कुबेला अपरिचित केटीको थूकले स्वाम्र्याङ्गै । सहानुभूति थप्न अर्को पात्र दृश्यमा देखिई । धोतीको सप्कोले मुख छोप्दै त्यो अधबँैसे आईमाई कराई– ‘कस्ती लबस्तरी केटी रै’छे ए, हेर्दै नहेरी अर्कालाई थूकेर अलप भै । बिचरा कहाँ जान लागेको भाइ हो, सन्चो पनि छैन जस्तो छ ।’ 

अनुहारभरि लत्पत्तिएको थूक रुमालले पुछ्ने क्रममा अमिलो पानी हुलुक्क–हुलुक्क अझै आइरहेको थियो । त्यो दिन मैले कम्मर दुख्ने गरी बान्ता गरें । दुई आना खेतमा चाँदेले बाउसे गर्दा जति न्युटन बल खर्च हुन्छ त्यस दिनको उग्र बान्ताले त्योभन्दा बेसी नै भयो, कम पक्कै भएन । 

तेस्रो दिन साँझ ऊ घर जाँदै थिई, म बागबजारबाट भक्तपुर जाने गाडी समात्न रत्नपार्कतिर आउँदै थिएँ । मैले उसलाई एकटक हेरिरहें । उसले आफ्ना अगाडिको दृष्टिक्षेत्रलाई एकसरो सर्र बढारी । त्यो क्षेत्रमा म केवल ब्लाइन्ड स्पट मात्र थिएँ । केटी त साँच्चै लाज पचेकी नै रै’छे, दुई दिनअघि मात्र एक मुख थूक अर्काको अनुहारभरि थुकिदिने अनि आज नचिनेको जस्तो गरी हिंड्न खोज्ने । कम्तीमा मसँग एक वचन बोल्नुपर्ने । कम्तीमा एकपटक सरी भन्नुपर्ने । सोचें– थूकको ऋणले यसलाई जरुर पोल्नेछ । 

आखिर संसार त्यति ठूलो पनि छैन कि असनको गल्लीमा बस्ने त्यो केटी बाङ्गेमुढाको कस्मेटिक पसलमा कहिल्यै केही किन्न नआओस् । अन्तत: एक वर्षभित्रै त्यो दिन पनि आयो जुन दिन ऊ मेरो पसलमा आई । नि:संकोच यो र त्यो यस्तो र उस्तो के–के दिनु भनी । उसले १ सय ६८ रुपैयाँको सामान किनी । दुइटा हरिया नोट दिइ । ३० रुपैया फिर्ता पाई । हिसाब सुझाउँदै भनी– ‘६८ भन्नुभा’ हैन, २ रुपैयाँ पुगेन त, हेर्नुस् त ।’ तर मैले कस्तो स्वादसँग उसका कान राता अनि मुहार नीला हुने गरी डाइलग मारें । बाँकी दुई रुपैयाँको हल्ससमेत नदिई मैले २ लाख मुफ्त फाइदा खाएबराबरको आनन्द त्यस बखत लुटें । कहिलेकाहीँ कसैलाई केही भन्नु नै जिन्दगीको आनन्द हुन्छ । २ रुपैयाँ मूल्यको त्यो थूकले त्यसरी एक वर्षपछि मलाई औधी आनन्द दियो । 

ऊ भोलिपल्ट पनि आई । निराश मुद्रामा ‘आई एम सरी’ भनी अनि अब असनको गल्ली हठात हुन सक्ने उसको थूक आक्रमणबाट स्वतन्त्र भएको खुलासा पनि गरी । कारण सिन्धुपाल्चोकको ठोक्कर्पा 

गाउँका स्यान्ताङ दाइले उसलाई तीन महिनाअघि बिहे गरी लगेका रहेछन् । 

                                                                                  ravinems@iom.edu.np 

प्रकाशित :श्रावण १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्