हनी ट्रयापका माष्टरमाइण्ड शुक्रे पक्राउ

- साप्ताहिक संवाददाता

श्रावण १८, २०७४

सुन्दर युवतीको प्रयोग गरी अपहरण र लुटपाटमा सक्रिय हनी ट्रयाप गिरोहका माष्टरमाइण्ड तथा गुण्डा शुक्रराज तामाङ ‘शुक्रे’ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शुक्रेलाई ११ साउनमा काठमाडौंको बाँसबारीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नुवाकोट गेर्खुका ३४ वर्षीय शुक्रे अपहरण तथा शरीर बन्धकजस्ता अपराधमा संलग्न थिए । उनले अपराधिक योजना बनाउने तथा सिआईबीको नक्कली डिएसपी बनेर हनी ट्रयापजस्तो अपराधिक र्‍याकेट सञ्चालन गर्दै आएका थिए । शुक्रे नाइके रहेको ६ जनाको हनी ट्रयाप गिरोहले विभिन्न व्यवसायी तथा पैसावालहरुलाई युवतीको प्रयोग गरेर मोहजालमा पारी अपहरणपछि नक्कली प्रहरी बनेर लुटपाट मच्चाउँदै आएको थियो ।

यसअघि उनको गिरोहकी हनी ट्रयाप सुन्दरी दाङकी १९ वर्षीया सरु भनिने आसिका परियारलाई प्रहरीले पक्राउ गरेको थियो । आशिकासँगै नक्कली सिआइबीको सई बनेर हनी ट्रयापमा संलग्न रामेछाप गोश्वाराका ३१ वर्षीय कुविन भनिने कोलबहादुर थापामगर पनि पक्राउ परेका थिए । उनीहरु दुवैलाई प्रहरीले २ असारमा बत्तीपुतलीबाट पक्राउ गरेको हो । 

त्यसअघि प्रहरीले गत पुस १९ मा यसै गिरोहका सिआइबीको नक्कली सई बनेर हनी ट्रयापमा संलग्न दाङका ३२ वर्षीय कोमानन्द खड्का तथा सिआइबीको नक्कली हवल्दार बन्ने भोजपुर छिनामखुका २१ वर्षीय नवीनकुमार राईलाई पक्राउ गरेको थियो । हनी ट्रयाप समूहका अन्य पक्राउ परे पनि शुक्रे भने प्रहरीलाई छलेर लुक्दै आएका थिए । प्रहरीकाअनुसार उक्त समूहकी अर्की एक युवती भने अझै फरार छिन् ।  

शुक्रे यसअघि २१ जेठ २०५९ मा विकास महर्जनको हत्या गरेको अभियोगमा जेल गएका थिए । उनलाई २० वर्षको कैद सजाय पाएका उनी जेलमा १० वर्ष काटेपछि १५ जेठ २०६९ मा छुटेका थिए । जेलबाट छुटेलगतै शुक्रेले दाङका कोमान्दसँग मिलेर हनी ट्रयाप समूह निर्माण गरी अपराधकर्म सुरु गरेका थिए । 

शुक्रेको यो गिरोहले गत वर्ष मात्र अमेरिकी दूतावासका एक जागिरेलाई लुटेको थियो भने गत ४ पुसमा सिन्धुलीका नवधनाढ्य निर्माण व्यवसायीलाई सुकेधारास्थित डेरामा बन्धन बनाएर नगद, मोबाइल तथा गरगहना लुटेर १२ लाख दिने शर्तमा मुक्त गरेको थियो । त्यसको दुई दिनपछि  न्युरोडका एक ब्यापारीलाई माछापोखरीस्थित भ्यु नेपाल नामको गेष्ट हाउसको पहिलो तलाबाट अपरहण गरेर लुटपाट गरेको थियो । 

प्रकाशित :श्रावण १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्