बिहानै किङ साइजको ब्रेकफास्ट

- साप्ताहिक संवाददाता

श्रावण १८, २०७४

यदि अरू कुनै काममा छैन भने सामान्य दिनहरूमा म सात बजे उठिसक्छु । उठ्नेबित्तिकै मोबाइल फोनमा एकैछिन भुलिन्छु । सामाजिक सञ्जालहरूमा केही बेर हराएपछि म श्रीमान् र छोरा नउठेसम्म पर्खन्छु । म बिहान ब्रेकफास्ट खान रुचाउँछु । मानिसहरू प्राय: बिहानै दालभात खान्छन्, तर मलाई दालभातमा त्यति रुचि छैन । मलाई बिहानै ‘किङ साइज ब्रेकफास्ट’ चाहिन्छ । त्यसमा पाउरोटी, बटर, जाम, चिज, अण्डा, ससेज र चिया हुनैपर्छ र टन्नै हुनुपर्छ । म आफ्ना श्रीमान्सँगै बसेर ब्रेकफास्ट खान्छु । उनको खान्की मेरो जस्तो त छैन, तर संगतले गर्दा बढ्दो भने छ ।

दिनको पहिलो खान्की पर्याप्त भएपछि म छोरा र श्रीमान्लाई तयार हुन मद्दत गर्छु । घरमा भए सासू र माइतमा भए आमाले हाम्रा लागि लञ्च (दालभात तरकारी) तयार पारिदिनुहुन्छ । म थोरै खान्छु, यदि तरकारी मेरो स्वादको छ भने मात्र । मलाई झुन्डेर फल्ने तरकारी (घिरौला, लौका, इसकुस, फर्सी आदि) मन पर्दैनन् र खान्नँ पनि । 

रेस्टुराँका परिकारमा मलाई इटालियन परिकार मन पर्छन् । भारतीय परिकारमा पनि राम्रो परौठा–तरकारी छ भने मात्र खान्छु । मलाई मसालेदार खाना मन पर्छ, तर धेरै मसालेदार पनि खान मन लाग्दैन । जब म खान थाल्छु, मात्र खानामा ध्यान दिन्छु । खाना खानका लागि बनेका आचारसंहिता ममा लागू हुँदैनन्, खाने बेला म वरपर कसैसँग कुरा गर्दिनँ । म साह्रै छिटो खाना खान्छु । मलाई तितौरा र पाचक मनपर्छ, मेरो ब्यागमा यी दुई चिज कहिल्यै छुट्दैनन् । गुलियो अथवा मिठाईमा मलाई मन पर्ने केही विशेष छ भने खान्छु, नत्र खान्नँ । 

- लुनिभा तुलाधर ‘पवनकली’, अभिनेत्री 

 

प्रकाशित :श्रावण १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्