नेपालमा कमाउने तरिका भद्र लाग्दैन

- जनक तिमिल्सिना, भिषा काफ्ले

श्रावण १८, २०७४- 

वि.सं. २०४९ को एसएलसीका बोर्ड फस्र्ट हुन्— डा. प्रकाश थपलिया । काभ्रेमा जन्मिएका ४० वर्षीय थपलिया विश्व शेयर बजारका वादशाह वारेन बफेटको समेत लगानी रहेको डाभिटा हेल्थ केयर पार्टनर्स इन्कमा क्यान्सर रोग तथा रक्त विशेषज्ञका रूपमा कार्यरत छन् । १२ वर्षदेखि अमेरिकामै विशेषज्ञ चिकित्सकका रूपमा काम गरिरहेका डा. थपलिया अबको केही वर्षमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवाप्रदायक संस्थाको परिकल्पनासहित नेपाल फर्कने योजनामा छन् । उनी अमेरिकामै रहेर नेपालको चिकित्सा शिक्षामा दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना भएको अमेरिका–नेपाल मेडिकल फाउन्डेसनका पूर्व अध्यक्षसमेत हुन् । थपलियासँग नेपालको स्वास्थ्य अवस्था तथा यसको नीतिगत सुधारका विषयमा भिषा काफ्ले र जनक तिमिल्सिनाले गरेको कुराकानी : 

तपाईं त एसएलसीको बोर्ड टपर, अहिले बोर्ड टपर मापन गर्ने चलन हटाइएको छ । यसले केही फरक पार्छ कि पार्दैन ? 

१० जनाको नाम निकालेर हाइलाइट गर्ने पुरानो सिस्टमभन्दा अहिलेको सिस्टम राम्रो छ । किनभने त्यो सिस्टममा लाखौं विद्यार्थीका बीचबाट एक जना वा १० जना छान्दा त्यही क्वालिटीका अरू विद्यार्थीप्रति न्याय हुुँदैनथ्यो । जो टपटेनमा आउँथे उनीहरूमा पनि मैले एसएलसी टप गरें, आइएस्सी पनि टप गर्नैपर्छ, एमबीबीएस पनि टप गर्नुपर्छ भन्ने मानसिक दबाब सिर्जना हुन्थ्यो । अहिलेको नयाँ सिस्टमले कुनै निश्चित व्यक्ति वा संस्थालाई प्रमोट गर्नेभन्दा पनि ठूलै समूहलाई प्रमोट गर्छ । 

लामो समयदेखि अमेरिका बस्दै आउनुभएको छ । यो रहर हो कि बाध्यता ? 

एमबीबीएस सकेपछि दुई वर्ष काम गर्नुपर्ने सरकारको नियम थियो, त्यसअनुसार मैले यहीँ काम गरे । एमडी पनि धरानमा ज्वाइन गरें, तर एक वर्षजति पढेपछि एमबीबीएसकै निरन्तरताजस्तो लाग्यो । त्यसपछि  पोस्ट ग्राजुएसनका लागि अमेरिका पुगें । मेरो विषय हेमोटोलोजी र मेडिकल अंकोलोजी हो । अमेरिका पुगेर तीन वर्षको रेजिडेन्सी प्रोग्राम सक्ने त्यसपछि तीन वर्षको फेलोसिप सक्ने अनि नेपाल फर्कने योजना थियो । तर आफूले सोचेजस्तो नहुँदो रहेछ ।

हेमोटोलोजी र अंकोलोजीमा औंलामा गन्न सकिने मात्र विशेषज्ञ छन् । दुवैको नेपालमा पनि प्रशस्त सम्भावना छ नि ? 

एकदमै, मैले हेमोलोजी र अंकोलोजी नेपालकै कारणले छानेको हुँ, ६ महिना भरतपुर क्यान्सर हस्पिटलमा काम गर्दा मैले बिरामीहरूको दु:ख देखेको थिएँ ।  अमेरिका गएपछि मैले बढी पैसा कमाउने फिल्ड कार्डियोलोजी, ग्याँस्ट्रो पनि गर्न सक्थें, तर मलाई अंकोलोजी नै गर्न मन लाग्यो । नेपालमा यसको असाध्यै सम्भावना छ । नेपालमा पनि क्यान्सर र ब्लड डिजिजको उपचारको 

वातावरण बन्दैछ । 

विकसित देशहरू र नेपालमा हुने क्यान्सरको उपचार पद्धतिमा के फरक छ ? 

कति कुरामा हामी तत्कालै फस्र्ट वल्र्डकै जस्तो काम गर्न सक्छौं । क्यान्सर स्क्रिनिङ (फैलनुभन्दा पहिले नै पत्ता लगाएर निको पार्ने) तुरुन्तै लागू गर्न सकिन्छ । म्यामोग्राम प्रत्येक जिल्ला अस्पतालमा राखिदिने हो भने धेरै ठूलो चेन्ज आउँछ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने टेक्नोलोजीका विषयमा तालिम दियो भने एउटा हेल्थपोस्टको हेल्थ अस्सिटेन्ट र सीएमएले पनि स्क्रिनिङ गर्न सक्छन््, यसरी क्यान्सर स्टेज वान गाउँ–गाउँमै थाहा पाउन सकिन्छ ।  त्यसैले नेपालमा क्यान्सरको इन्सिडेन्ट एकदम बढ्ने सम्भावना देखेको छु मैले । प्रिभेसनका यस्ता विविध कुरा हामी फस्र्ट वल्र्डजस्तै तत्कालै गर्न सक्छौं । जहाँसम्म ट्रिटमेन्ट र डाइग्नोसिसको कुरा छ, त्यो फस्र्ट वल्र्डको लेभलमा पुग्न अझै पनि धेरै मेहनत गर्नुपर्छ । जस्तो, क्यान्सरका दबाइ उत्पादन गर्न करोडौं डलर खर्च हुन्छ, सरकारले उत्पादन गरे केही सब्सिटाइज हुन्थ्यो, क्यान्सरको औषधी प्राय:जसो प्राइभेट कम्पनीले उत्पादन गर्ने भएकाले त्यसको खर्च एकदमै धेरै हुन्छ । त्यसैले नेपाल मात्र होइन, दक्षिण एसियाका बिरामीहरूले नयाँ ड्रग्सहरू तुरुन्तै प्रयोग गर्न निकै गाह्रो छ । कतिपय केमोथेरापी पनि नेपालीलाई धेरै महँगो पर्न आउँछ । त्यसबाहेक क्यान्सर ट्रिटमेन्टको सर्जिकल अप्रेसन हामीसँग भएका जनशक्तिलाई ट्रेन गर्‍यो भने तुरुन्तै गर्न सकिन्छ । 

रिसर्चमा पनि नेपाल धेरै पछाडि छ नि ? 

क्यान्सरको हकमा रिसर्चमा नेपाल निकै पछि छ । हामीले वेस्टर्न रिसर्चहरूलाई फलो गरिरहेका छौं, त्यो राम्रो होइन, किनभने हाम्रो बायोलोजी नै फरक छ, ड्रग्सलाई मेटापोलाइज गर्ने जीन नै फरक छ । त्यसैले उनीहरूको टेस्ट हुबहु हामीकहाँ लागू गर्न सकिँदैन । त्यसकारण हाम्रै लेभलमा रिसर्च हुनुपर्छ, नत्र साइड इफेक्ट बढी हुने, डोज कम–बढी हुने जस्ता अनेकौं समस्या देखापर्न सक्छन् । त्यसैले हामीकहाँ नयाँ ड्रग्स डेभलप गर्न नसके पनि क्लिनिकल टेस्ट गर्नुपर्ने आवश्यकता छ । 

क्यान्सर लाग्नु जीवनको अन्त्य हो भन्ने मानसिकता नेपालीहरूमा छ नि ? 

यो पहिलेको अनुभव हो । ३०/४० वर्षपहिले क्यान्सर लागेपछि स्टेज–४ वा अन्तिम स्टेजमा मात्र डाइग्नोसिस हुन्थ्यो, अन्तिम स्टेजमा डाइग्नोसिस हुने भएकाले सबैले बिमारी मरेको मात्र देख्थे । त्यसैले यो खतरानाक रोग रहेछ, लागेपछि मरिहाल्छ भन्ने अवधारणा विकसित भयो, तर अहिले त यसमा धेरै परिवर्तन आइसकेको छ । अहिले उपचारपद्धतिमा भएको विकासका कारण स्टेज वान, स्टेज टु मै क्यान्सर पत्ता लाग्न थाल्यो र निको पनि हुन थालिसक्यो । स्टेज वान, स्टेज टु वा डाइग्नोसिस भएका क्यान्सरलाई सोलिड क्यान्सर भनिन्छ, जस्तो— फोक्सो, स्तन वा शरीरको क्यान्सर । यस्ता क्यान्सर स्टेज वान टु इभन थ्रीसम्म पनि निको हुन्छन् । ब्लड क्यान्सरहरूको त स्टेज वान, टु, थ्री भन्ने हुँदैन । ब्लडसँग सम्बन्धित धेरैजसो क्यान्सर निको हुने खालका हुन्छन् । कतिपय बोनम्यारो ट्रान्सप्लान्ट नगरी पनि निको हुन्छ । हामीले जनचेतना जगाउन नसकेर क्यान्सरलाई यसरी लिइएको हो । क्यान्सर लाग्नेबित्तिकै मान्छे मर्ने भन्ने कुरा एकदमै गलत हो । 

नेपालमा धेरैजसो क्यान्सरका बिरामी थर्ड र फोर्थ स्टेजमा मात्र उपचार गर्न आइपुग्छन् । सबैतिरको ट्रेन्ड यस्तै हो ? 

एकदमै फरक छ । जस्तो अमेरिकामा ब्लड क्यान्सर डे वा ब्रेस्ट क्यान्सर डेका दिन मेमोग्राम गर भनेर विज्ञापन गरिन्छ तर, नेपालका गाउँ–गाउँमा त्यो पुगेको छैन । अर्कातर्फ हाम्रो देशका विकट गाउँहरूमा स्वास्थ्य सेवाको पहुँच छैन, त्यसका लागि मलाई डा. सन्दुक रुइतको प्रविधि मन पर्छ । बिरामी अस्पताल आएन भने बिरामीको घर गएर उपचार गर्ने, जस्तो उहाँले मोतियाबिन्दुको अप्रेसन गर्नुहुन्छ नि, क्यान्सरको पनि त्यस्तै गर्ने । हिजोआज पोर्टेबल मेमोग्राम मेसिनहरू पाइन्छन्, सरकारले १०/२० लाख खर्च गर्ने हो भने काँधमा बोकेर हिँड्न सकिने मेमोग्राम लिएर गाउँ–गाउँ जान सकिन्छ । त्यसका लागि बिरामी आउँछ भनेर कुर्ने होइन कि सरकार वा प्राइभेट संस्थाहरूले यस्तो इनिसियसन लिनुपर्छ अनि गाउँ–गाउँमा पुगेर बिरामीहरूलाई त्यहीं क्याप्चर गर्न सकिन्छ । यसको रिटर्न र इन्भेस्टमेन्ट एकदमै ठूलो हुन्छ । स्टेज फोरमा पुगेर लाखौं रकम खर्च गरेर उपचार गर्नुभन्दा यो त एकदमै राम्रो विधि हो । 

प्रिभेन्सन खर्चका दृष्टिकोणले पनि निकै उपयोगी देखिन्छ नि ? 

त्यसमा त कुनै शंका नै छैन । एक जनाले दिनमा २० रुपैयाँको उच्च रक्तचापको औषधी खाएर किड्नी फेल हुनबाट जोगिन्छ तर बिग्रिसकेपछि प्रत्यारोपण तथा डाइलोसिस गर्दा लाखौं खर्च हुन्छ । अमेरिकामा मेडिकेयर भन्ने इन्स्युरेन्स छ, किड्नी फेल भएका सबैलाई सरकारले नि:शुल्क किड्नी दिनुपर्छ । यही कारणले अहिले अमेरिकी सरकार टाट पल्टने भयो भनेर यसलाई घटाउने भन्न थालिएको छ भने हामीले कति वर्ष धान्न सक्छौं ? 

सरकारले अहिले ल्याइरहेको स्वास्थ्य बिमा कत्तिको प्रभावकारी होला ? 

हेल्थ इन्स्युरेन्स मानिसहरूको सहभागितामा भर पर्छ । सबैलाई अनिवार्य रूपमा लागू गराउने हो भने त्यो सफल हुन्छ, अनिवार्य रूपमा लागू गराउन सकिँदैन भने सफल हुँदैन, किनभने इन्स्युरेन्स भनेकै रिस्क एभरेजिङमा लो रिस्ककोले हाइ रिस्ककोलाई सपोर्ट गर्ने हो । रिस्क एभरेजिङका लागि मानिसको सहभागिता हुनुपर्छ, त्यसका लागि उनीहरूको कमाइ तथा उमेरअनुसार स्वास्थ्य बिमा कर लिनुपर्छ । त्यो लिइएन भने सफल हुन गाह्रो हुन्छ, किनभने स्वस्थ मान्छे छ भने उसले बिमा गर्दैन, जुन दिन बिमारी पर्छ त्यस दिन उसलाई आवश्यक हुन्छ, तर जो बिरामी छन्, उनीहरूले तुरुन्तै लिन्छन् । बिरामी–बिरामी मात्र जम्मा हुँदा ‘सिक पिपुल’ मात्र भए, हेल्दी पिपुल भएनन् भने बिमाले काम गर्दैन । त्यसैले कुनै न कुनै तरिकाले यसलाई म्यान्डेटेरी बनाउनुपर्छ । 

कसरी स्वास्थ्य बिमालाई अनिवार्य गराउन सकिन्छ ? 

स्वास्थ्य बिमा भनेर छुट्टै पैसा उठाउनेभन्दा पनि राज्यले लिइरहेका करहरूमै स्वास्थ्य बिमा कर जोड्न सकिन्छ, जसले गर्दा बढी आम्दानी हुनेले बढी तिर्छन्, कम आम्दानी हुनेले कम तिर्छन् । यो मेथड भनेको सक्नेले नसक्नेलाई सहयोग गर्ने मेथड हो । 

फरक प्रसंग, नेपालको स्वास्थ्य प्रणालीमा नीतिगत समस्या हो कि व्यवहारिक पक्ष कमजोर हो ? 

नीतिगत सुधार अस्पतालहरूले दिने सेवा–सुविधामा भर पर्छ । त्यसका लागि डाटा चाहिन्छ । हरेक अस्पतालले ६/६ महिनामा आफ्नो डाटा सरकारलाई उपलब्ध गराउनुपर्छ, जसमा कति प्रकारका रोगको उपचार भयो, कति संख्यामा निको भयो, कति असफल भए, कति मान्छे मरे सबै बुझाउनुपर्छ । यसबाट एकातिर राष्ट्रिय स्वास्थ्य नीति बनाउन सजिलो हुन्छ भने अर्कातर्फ अस्पतालहरूको ग्रेडिङ गर्न पनि । त्यहीअनुसार सरकारले अस्पतालको मूल्यांकन गर्नुपर्छ । अनुगमनलाई चुस्त बनाई पुरस्कार र सजायको व्यवस्था हुनुपर्छ । क्वालिटी कन्ट्रोललाई सरकारले कडा गरी लागू गराउनुपर्छ । 

नेपालमा चिकित्सकमाथि हातपात हुने क्रम बढेको छ, यसको कारण के होला ? के अमेरिकामा पनि त्यस्तो हुन्छ ?

घटना नै नहुने त होइन, तर असाध्यै विरलै हुन्छन् । मैले अमेरिकामा प्राक्टिस गरेको २००५ देखि हो । यो १२ वर्षको दौरानमा एकपटक पनि शारीरिक आक्रमण भएको घटना देखेको छैन । त्यहाँ कम्प्लेन गर्ने, मुद्दा चलाउने चलन छ । यद्यपि फिजिकल्ली एसल्ट गर्ला भनेर प्रि–प्लान चाहिँ हुन्छ । गोप्य नम्बरहरू दिइएको हुन्छ । प्रहरी चुस्त हुन्छ तत्काल आइपुगिहाल्छ । सिस्टम दह्रो हुन्छ तर, नेपालमा यस्ता धेरै घटना भैरहेका छन् । त्यसको रुट कज भनेको बिरामीको पक्षलाई दोष दिनुभन्दा पनि अस्पताल र डाक्टरहरूले जुन किसिमको सेवा दिन सकिन्छ त्यही मात्र आश्वासन दिनुपर्छ । नसक्नेलाई रिफर गर्नुको साटो रोकेर राख्ने, डाक्टर आउँछ, बस्नुहोस् भनेर झूटो आश्वासन दिनु हुँदैन । अर्को महत्वपूर्ण पक्ष भनेको बिरामीसँग कसरी डिल गर्ने, कसरी काउन्सिलिङ गर्ने, अप्ठ्यारो परेका बेला कसरी सामना गर्ने भन्ने कलाको पनि अभाव हो । जुन कुरा अध्ययनकै क्रममा सिकाइनुपर्छ, तर नेपालमा अध्ययनका क्रममा त्यस्ता कुरा सिकाइएको हुँदैन । 

नेपालमै पनि चिकित्सकको नाम र दाम कम छैन, तर किन लोभिनुभएन ? 

मलाई दामले त कहिल्यै तानेन । किनभने नेपालमा दाम कमाउने तरिका त्यति भद्र छैन । नामभन्दा पनि अहिलेसम्मको जति अनुभव र स्किल सिकेको छु, त्यसलाई ट्रान्सफर गर्ने एकदम रहर छ । म चाँडै 

नेपाल फर्कन्छु । 

अहिले अमेरिकामा बसेर नेपालका लागि सामाजिक क्षेत्रमा पनि काम गर्नुको कारण फर्कनेबित्तिकै स्थापित हुन सहज होस् भनेर हो ? 

सामाजिक क्षेत्रमा संलग्न हुन व्यक्तिगत कुरालाई जोड्नु त्यति राम्रो हुँदैन । 

यहाँका टपमस्ट प्रोफाइलसँग काम गर्नुको तादात्म्यता त त्यही हो नि, हैन र ?

हामीले त्यहाँ बसेर गर्दै आएको सामाजिक कामले नेपालको स्वास्थ्य शिक्षालाई केही थप सहज बनाओस् भन्ने हो, त्यसरी बुझ्यौं भने राम्रो होला । नेपालका हाइप्रोफाइलहरूसँग काम गर्दा इम्प्लिमेन्टमा सहज भएर हो । अमेरिकामै बसेर यहाँको काम गर्न खोज्यो भने केही काम हुँदैन, तर यहाँका डा. अर्जुन कार्की, डा. भगवान कोइरालाजस्ता व्यक्तिहरूमा जनताको ट्रस्ट बढी भएर पनि हामीले सँगै काम गरेको हो । 

नेपाल फर्कने कुरा गर्दै हुनुहुन्छ यहाँ फर्किएपछिको प्राथमिकता के हो ?

म यहाँ आएर स्वास्थ्य क्षेत्रमा ठूलै क्रान्ति आउने भन्ने होइन । नेपालमा ‘सेन्टर अफ हेल्थ एक्सलेन्स’ आवश्यक छ र त्यो बनाउनुपर्छ भन्ने हो, जसले गर्दा बाहिरका मानिस पनि यहाँ आऊन् । हाम्रा नेताहरूलाई उपचारका लागि बाहिर जान मन नलागोस् भन्ने बनाउने मेरो उद्देश्य छ । 

नेताहरू विदेशमा उपचार गर्न जाने कुराको सधैं आलोचना हुन्छ ? के नेपालमा गुणस्तरीय उपचार नभएरै हो त ?

यो सरासर विदेशमोह मात्र हो । ९९ प्रतिशत रोगको उपचार नेपालमै गर्न सकिन्छ । कुनै–कुनै सर्जरीका लागि मात्र विदेश जानुपर्ला । उदाहरणका लागि पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालालाई जुन उपचार पद्धतिबाट अमेरिकामा उपचार गरियो त्यो नेपालमै सम्भव छ । उहाँले अमेरिकामा उपचार गर्दा १ लाख ५० हजार डलर तिर्नुभयो, भारतमा गरेको भए त्यही उपचार १० हजार डलरमा हुन्थ्यो । यदि नेपालमै गरेको भए १ हजार डलरमै हुन्थ्यो । क्वालिटी र ट्रिटमेन्टमा केही फरक पर्दैनथ्यो, तर जति ठूलो ठाउँमा पुग्यो, उपचार खर्च त्यही अनुसार बढी हुन्छ । त्यस्तै सुजाता कोइरालाको क्यान्सरको ट्रिटमेन्ट पनि शतप्रतिशत यहीं ठीक हुन्छ, तर उहाँले सिंगापुर रोज्नुभयो । रमाइलो कुरा, केपी ओली रगत जाँच गर्न भारत तथा थाइल्यान्ड जानुहुन्थ्यो । त्यो रगत जाँच गर्नका लागि उहाँ एकपटक जाँदा लाग्ने खर्चले मेसिन किनेर यहीं नेपालमै ल्याउन सकिन्छ हाल, नेपालमै त्यो मेसिन ल्याइसकिएको छ । 

अमेरिका–नेपाल मेडिकल फाउन्डेसनले के–के काम गर्छ ?

नेपालमा मेडिकल एजुकेसनलाई क्यापेवल बनाउन सहयोग गर्दै आएको छ । यहाँका डाक्टरहरूलाई विदेशका विभिन्न ठूला संस्थाहरूमा आधुनिक प्रविधिको तालिम दिने काम गरिँदै आएको छ । 

अमेरिकामा कति नेपाली विशेषज्ञ चिकित्सक छन् ? 

झन्डै ४ देखि ५ सय नेपाली विशेषज्ञ चिकित्सक अमेरिकामा कार्यरत छन् । त्यसमा सबै खालका विशेषज्ञ छन् । मुटु र ग्याँस्ट्रोका विशेषज्ञ बढी छन् । 

नेपाल फर्कने तयारी गरिरहँदा व्यक्तिगत चुनौती के–के देख्नुभएको छ ? 

एकै पटक लिगेसी छोड्दा गाह्रो नहुने भन्ने हुँदैन । च्यालेन्जिङ त हुन्छ नै, तर च्यालेन्ज छ भन्दैमा लाइफको मिनिङ पनि बिर्सनु हुँदैन । लाइफको मिनिङ खोज्ने हो । त्यहाँ बस्दा केही लाख रुपैयाँ जम्मा पार्न सकिएला, तर यहाँ जुन आत्मसम्मान हुन्छ त्यो अमेरिकामा पाउन गाह्रो छ । एउटा स्टडीले पनि के देखाउँछ भने काम र पैसा दुवै सँगसँगै जाउन्जेल ठिकै हुन्छ, जब पैसाको फुलफिल हुँदै जान्छ र मान्छे रिटायरमेन्टतिर जान थाल्छ अनि उसको खुसी बिस्तारै घट्दै जान्छ र एउटा लेभलमा पुगेपछि त्यो नेगेटिभ बन्न पुग्छ ।  

 

 

प्रकाशित :श्रावण १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्