हाइकिङको रमाइलो

- नरेन्द्र रौले

श्रावण १५, २०७४-

 

महाकाली–४, नुवाकोटकी सरिता ढकाल प्राय: शनिबार काठमाडौं वरिपरीका डाँडाकाँडा चहारिरहन्छिन् । छरितो ज्यानकी ढकाल घुम्न भनेपछि हुरुक्कै हुन्छिन् । महाराजगन्ज नर्सिङ क्याम्पसमा स्नातक तह दोस्रो वर्षकी विद्यार्थी ढकाल नयाँ–नयाँ ठाउँ अवलोकन गर्न निकै रुचाउँछिन् । 

‘काठमाडौंको भीडभाड र प्रदूषणबाट टाढा हुन पाउँदा आनन्द महसुस हुन्छ ।’ ढकाल भन्छिन्— यात्राका क्रममा भेटिने मन्दिर, पाटीपौवा, प्राकृतिक वनस्पति, ऐतिहासिक स्थल देख्दा एकदमै खुसी लाग्छ । हाइकिङ जाँदा बाटामा भेटिएका साथीभाइहरू ढकाललाई परिवारका सदस्यझैँ लाग्छन् । उनलाई प्रकृतिको काखमा पुग्दा सबै तनावबाट मुक्त भएको आभास मिल्छ र गफ गर्दै लामो बाटो कतिबेला कट्यो पत्तै हुँदैन । 

क्षेत्रपाटीस्थित आनन्द ट्रेड कन्सर्नका सञ्चालक शिव पाण्डे विगत एक वर्षदेखि निरन्तर हाइकिङ गैरहेका छन् । अहिलेसम्म १९ पटक हाइकिङ गएका पाण्डे नयाँ ठाउ घुम्न पाउँदा र नयाँ पेसाका व्यक्तिहरूसँग चिनजान हुँदा हौसिन्छन् । पाण्डे भन्छन्– पहिल्यैदेखि प्रकृतिसँग रमाउन मन लाग्थ्यो । एकातिर शारीरिक अभ्यास हुने र अर्कातिर स्फूर्ति पनि जगाउन सकिने भएकाले हाइकिङप्रति रुचि जागेको हो । पाण्डे हाइकिङकै क्रममा गोसाइकुण्ड, पुनहिल र कालिन्चोक पनि पुगिसकेका छन् । हाइकिङले शारीरिक रूपमा फिट रहन सघाएको उनको अनुभव छ । 

हाइक फर नेपाल फेसबुक पेजले काठमाडौं वरिपरिका डाँडाकाँडामा हाइकिङ गराउन थालेको पनि दुई वर्ष भयो । ठमेलमा ट्राभल एजेन्सी चलाएर बसेका चार जना युवाको समूहले खासगरी भूकम्पपछि नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देश फैलाउन यो पेज खोलेका थिए । गत असार २४ गते सम्म ५१ औं हाइकिङ सम्पन्न गरेको हाइक फर नेपालले स्वदेशमा मात्र होइन, स्वीडेन, लन्डन र मलेसियामा पनि हाइकिङको आयोजना गर्‍यो । स्वीडेनको स्टकहोममा त एक वर्षसम्म हाइकिङ चल्यो । नेपालमा त्यसको प्रभाव पनि राम्रै पर्‍यो । आयोजकमध्येका एक दिनेश पौडेल भन्छन्– विदेशीहरूसँग मिलेर हाइकिङ गर्‍यौं । पछि हामीलाई नेपालबाट चार जनालाई स्टकहोम घुम्ने निम्तो पनि आयो । विदेशमा गरिएको त्यही हाइकिङको प्रभावले केही समूह यता घुम्न पनि आए । अहिले पनि विदेसीहरू चासो दिएर सोधिरहन्छन् । 

पहिलोपटक हाइक फर नेपालले सन् २०१५ जुलाई ११ मा नायक राजेश हमाललाई बोलाएर नागार्जुनको फूलबारी गुम्बादेखि जामाचोसम्म हाइकिङ सञ्चालन गरेको थियो । हाइक फर नेपालले महिनाको दुईवटा शनिबार हाइकिङको आयोजना गर्छ । एकपटकमा झन्डै ८० देखि १ सय ३० जना सहभागी हुन्छन् । पहिलो पटक सहभागी हुन चाहनेले टिसर्टको ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । गाडी भाडाका लागि ४ सय रुपैयाँ तिरे पुग्छ । आयोजकमध्ये एक घनश्याम शर्मा भन्छन्– काठमाडौं उपत्यकाबाहिर मुस्ताङ, रारा, एक्याप, मार्दी हिमाल बेस क्याम्प घुमाउन माग बढिरहेको छ । अक्टोबरमा नाम्चे बजार र डिसेम्बरमा अन्नपूर्ण जाने योजना छ । 

यस्तै हाइकिङ गराउने पुरानो र ११ वर्षदेखि सक्रिय संस्था हो, प्रकृतिप्रेमी समूह । आफ्नो स्वास्थ्य आफ्नै हातमा नाराका साथ प्रकृतिप्रेमी समूहले गत असारसम्म १ सय २२ पटक हाइकिङ आयोजित गरिसकेको छ । यो संस्थाले दैनिक योग–ध्यानलगायत २५ वटा कार्यक्रम सञ्चालन गर्छ ।  उचित आहार, विहार एवं विचार हामीले आफ्नो जीवनमा लागू गरौं भन्ने हो । आयोजक संस्थाकी रामदेवी महर्जन भन्छिन्– वर्षको एकपटक काठमाडौंबाहिर जान्छौं । काठमाडौंमा हरेक महिनाको चौथो शनिबार हाइकिङ सञ्चालन गर्छौं ।

यदि प्रकृतिप्रेमी समूहबाट पहिलो पटक हाइकिङ जाँदै हुनुहुन्छ भने सुरुमा १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसमा टोपी, आइडी कार्ड, खाना र यातायात उपलब्ध हुन्छ । मन लाग्छ भने संस्थाको लोगो अंकित टिसर्ट बेग्लै खरिद गर्न सकिन्छ । कुसुन्ती, ललितपुरकी रामदेवी महर्जन प्रकृतिप्रेमी समूहमा आबद्ध भएको ११ वर्ष भैसकेको छ । झन्डै १ सय ठाउँ घुमेकी महर्जनले यस अवधिमा हाइकिङ र यात्रासँग सम्बन्धित थुप्रै अनुभव बटुलेकी छिन् । देशको अवस्था तथा स्थानीय जनजीवन बुझ्न मौका पाएकी छिन् ।

नेपालीहरूमा घुम्ने लहर बढिरहेको छ । पहिले–पहिले आन्तरिक पर्यटकरू जहाँ–जहाँ गाडी पुग्थ्यो त्यही मात्र पुग्थे । अहिले भने हिंड्न रुचाउनेहरू बढिरहेका छन् । देशमा आन्तरिक पर्यटनको सम्भावना निकै उच्च छ । नेपालीहरू एक्ला–एक्लैभन्दा समूहमा घुम्न रुचाउँछन् । 

हाइकिङ अर्थात् डे टुर भन्नाले छोटो दूरीको यात्रालाई जनाउँछ । काठमाडौंमा हाइकिङ आयोजना गर्ने थुप्रै संस्था छन् । केही ट्राभल एजेन्सी तथा अन्य संस्थाहरू यसमा सक्रिय छन् । फेसबुकमा खोज्ने हो भने विभिन्न पेज भेटिन्छन्, जसमध्ये हाइक फर हेल्थविद् नेपाल भेजेटेरियन एसोसियसन, हाइक फर हेल्थ प्रमुख हुन् । 

 

डाक्टरको सल्लाह 

हरेक मानिसमा धेरै ठाउँ घुमौं, नयाँ कुरा बुझौं भन्ने चाहना हुन्छ । यसरी घुम्दा स्थानीय जनजीवन तथा त्यहाँको हावापानीका सम्बन्धमा पनि जानकारी हुन्छ । हाइकिङ जाँदा खलखली पसिना आउँछ, त्यसैले झोल खानेकुरा, जुस आदि खानुपर्छ । हाइकिङका क्रममा पिँडौला दुख्ने हुन सक्छ । थकाइ लाग्छ । हाइकिङ मुटु र फोक्सोका लागि पनि उपयुक्त मानिन्छ । यसबाट शारीरिक अभ्यास हुन्छ । समूहमा हिँड्दा नयाँ मित्रता गाँसिन्छ । घरायसी समस्याहरू भुलिन्छ ।

हाइकिङमा मेडिटेसन पनि हुन्छ । गर्मीमा हाइकिङ जाँदा पानीको कमी हुन्छ । हिँडेको–हिँड्यै गर्दा डिहाइड्रेसन हुन सक्छ । बर्खा मौसममा चिप्लिएर लड्ने सम्भावना हुन्छ । पहिरो आउन सक्छ । कतिपय ठाउँमा रुघाखोकी लाग्न सक्छ । खानेकुरा पाइएन भने वा जे पायो त्यही खायो भने ग्याँस्टिकले 

पिरोल्ने वा झाडापखाला लाग्न सक्छ । मलेरिया हुन सक्छ । जुका र लामखुट्टेको टोकाइबाट छालाको रोग लाग्न सक्छ । छालाको इन्फेक्सन हुन सक्छ । त्यसैले सकेसम्म हाफ पाइन्ट नलगाउने, ट्राउजर लगाउने । फुल स्लिभ भेस्ट लगाउने । इन्सेक्ट रिप्लेन्ट आयल लगाउने । यो लगाइएको छ भने लामखुट्टेले टोक्दैन । कहिल्यै नगएको ठाउँ जाँदा हाई अल्ट्चि्युड सिक्नेस हुन सक्छ । गर्मीमा सन ब्लक क्रिम लगाउँदा घामको दुष्प्रभावबाट जोगिन सकिन्छ । सकेसम्म समूहमा हिँड्ने । एक्लै हिँड्दा समस्या हुन सक्छ । हल्का खानेकुरा तथा ड्राई फुड्स बोकेर हिँड्ने । जुस, इनर्जी फुड तथा जीवनजल साथमा राख्ने ।

                            - केदार सेन्चुरी, जनरल फिजिसियन (वीर अस्पताल)

के–के बोक्ने ?

- राम्रो ट्रेकिङ ब्याग तथा स्पोर्ट्स जुत्ता

- हाफ वा फुल ट्राउजर, टिसर्ट क्याप वा ह्याट

- सनग्लास

- रेनकोट अथवा छाता

- पानीको बोतल

- सन प्रोटेक्सन क्रिम

- हल्का खाजा तथा फलफूल

- प्राथमिक उपचारका

सामानहरू

अनलाइन वा अफलाइन म्याप

क्यामेरा, ब्याट्री ब्याकअप 

प्रकाशित :श्रावण १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्