कृषि वैज्ञानिकलाई अवसरै अवसर

- भिषा काफ्ले

श्रावण १५, २०७४-

 

 

नेपालका अधिकांश जनताले कृषिमा आधारित पेसा–व्यवसाय अँगाल्दै आएका छन्, तर आधुनिक कृषि प्रणाली अपनाउन नसक्दा युवाहरू कृषिबाट विमुख हुँदै गएका छन् । यसको प्रमुख कारण कृषिमा आधुनिकीकरणको अभाव भएको कृषि विज्ञहरू बताउँछन् । कृषिमा आधुनिकीकरणका लागि नयाँ अध्ययन एवं खोज नहुनु प्रमुख समस्या हो भने यस्तो खोज एवं अध्ययन गर्ने कृषि वैज्ञानिकहरूको समेत नेपालमा अभाव छ । कृषिमा नयाँ खोज–अनुसन्धानका लागि सरकारले स्थापना गरेको नेपाल कृषि अनुसन्धान परिषद्मा दशकौंदेखि कृषि वैज्ञानिकको संख्या आवश्यकभन्दा कम हुँदै गएको छ । विशेष गरी युवाहरूमा कृषिप्रति विश्वास नहुनु र भए पनि कृषि विज्ञान अध्ययनपछि विदेश पलायन हुनु प्रमुख कारण रहेको वरिष्ठ वैज्ञानिक डा. दीपक भण्डारी बताउँछन् । 

 

कृषिक्षेत्रमा नयाँ कुरा पत्ता लगाउन होस् वा गहन अध्ययन गर्न त्यसको जिम्मेवारी कृषि वैज्ञानिकमै हुन्छ । नेपालमा आवश्यकताअनुसार कृषि वैज्ञानिक उपलब्ध छैनन् । गत २ वर्षदेखि नेपालमा दरबन्दी अनुसार १ सयभन्दा बढी कृषि वैज्ञानिकको पद खाली छ । नेपाल कृषि अनुसन्धान परिषद् मातहतका विभिन्न अनुसन्धान केन्द्रमा ४ सय १३ 

 

वैज्ञानिकको दरबन्दी छ, तर अहिले लगभग २ सय ७० मात्र कार्यरत छन् । अझै १ सय ४० भन्दा बढी पद खाली रहेको परिषद्को कर्मचारी प्रशासन शाखाका प्रशासकीय अधिकृत मीनराज डंगोल बताउँछन् । यसरी ठूलो संख्यामा कृषि वैज्ञानिकको पद खाली भएपछि पदपूर्तिका लागि पटक–पटक विज्ञापन खुले पनि विज्ञापनअनुसार आवश्यक दरखास्त भने पर्दैन । यसले के देखाउँछ भने कृषि वैज्ञानिक भएर नेपालको कृषिको क्षेत्रमा केही गर्छु भन्नेहरूका लागि सरकारी क्षेत्रमा बाटो सहज छ । त्यसका साथै नीजि क्षेत्रमा पनि कृषि विज्ञको माग लगातार बढ्दै गएको छ । 

 

अवसरै अवसर

कृषिको आधुनिकीकरणका लागि केही गर्छु र यसमै भविष्य खोज्छु भन्नेहरूका लागि कृषि विज्ञान अध्ययनलाई राम्रो अवसरका रूपमा लिइन्छ । नयाँ केही गर्छु भन्ने युवाहरूका लागि यो अध्ययनले परम्परागत कृषि पद्धतिमा परिवर्तन, आधुनिक कृषि पद्धतिको संयोजन, नवीनतम विषयवस्तुको खोज तथा अनुसन्धानबाट आफूलाई नेपालमा मात्र नभएर विश्वमै स्थापित गर्न सकिने डा. भण्डारी बताउँछन् । कृषिक्षेत्रको कुनै एक विषयमा नयाँ सिर्जना गरे नेपालमा मात्र नभएर विदेशमा समेत राम्रो अवसर प्राप्त हुने डा. भण्डारीको दाबी छ । ‘नेपाल त त्यसै कृषिप्रधान देश हो, यहाँका लागि यो अध्ययन महत्वपूर्ण छ ।’ भण्डारी भन्छन्, ‘नवीनतम केही गर्न सके अध्ययनपछि विदेशमा पनि राम्रो अवसर पाइन्छ ।’ यसको अध्ययन पूरा गर्नासाथ नेपालमा रोजगारीको सुनिश्चितता छ भने यसलाई समाजमा सम्मानजनक पेसाका रुपमा पनि लिइन्छ ।

 

नेपालमा सम्भावना

कृषिलाई आधुनिकीकरण गरी नयाँ प्रविधिको विकासका लागि पनि कृषि वैज्ञानिकहरूको ठूलो महत्व छ । कृषिमा नयाँ प्रजातिको विकासदेखि लिएर अन्य नयाँ प्रविधिको विकास गर्ने तथा नयाँ प्रविधि भित्र्याउने जिम्मेवारी कृषि वैज्ञानिकहरूकै हुन्छ, तर यी सबै कामका लागि नेपालमा रहेका वैज्ञानिकहरूको संख्या अपर्याप्त रहेको डा. भण्डारी बताउँछन् । ‘अझै केही वर्ष कृषि वैज्ञानिकले रोजगारी प्राप्त गर्न ठूलो प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छैन,’ भण्डारी भन्छन् । 

 

को हुन सक्छ कृषि वैज्ञानिक ?

नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि विज्ञानमा स्नातकोत्तर (एमएसी एजी) गरेर सरकारी सेवा प्रवेश गरेकाहरूलाई कृषि वैज्ञानिकका रूपमा लिने गरेको छ । बिएस्सी एजी गरेकाहरूलाई भने कृषि प्राविधिक अधिकृत मानिन्छ । यी दुवै पदमा हाल स्वीकृत दरबन्दीअनुसारको कोटा पुरा हुन सकेको छैन । नेपालमा मात्र नभै विदेशमा समेत कृषि विज्ञान पढ्नेहरूलाई राम्रो अवसर छ । विदेशमा राम्रो अवसर भएकै कारण उच्च अध्ययनका लागि विदेश गएकाहरूमध्ये कमै मात्र फर्किएर आउने गरेको परिषद्को तथ्यांकमा उल्लेख छ । 

 

कहाँ र कसरी पढ्ने ?

एमएस्सी एजीको अध्ययन रामपुर चितवनस्थित कृषि तथा वन विश्वविद्यालय एवं त्रिभुवन विश्वविद्यालय काठमाडौंमा गर्न सकिन्छ । यी दुई विश्वविद्यालयले प्रत्येक वर्ष ४० जनाभन्दा बढी वैज्ञानिक उत्पादन गरिरहेका छन् । बाली विज्ञान, वागवानी, बालीरोग विज्ञान, किट विज्ञान, जैविक प्रविधी, पशु विज्ञान, मत्स्य विज्ञान जस्ता विषय लिएर पढ्न सकिन्छ । बिएस्सी एजीको अध्ययनपछि सिधै एमएस्सी एजी अध्ययन गर्न पाइन्छ ।

 

त्यसैगरी बिएस्सी एजी पढेर कम्तीमा तीन वर्ष सरकारी सेवा गरेपछि तलबी बिदामा पनि एमएस्सी एजी अध्ययनको अवसर प्राप्त हुन्छ । तेस्रो विकल्पका रूपमा नेपाल सरकार वा अन्य देशको खुल्ला छात्रवृत्तिमा पनि विदेश गएर एमएस्सी एजी पढ्न पाइन्छ । सरकारी कोटा एवं छात्रवृत्तिमा पढ्नेहरूका लागि भने यो अध्ययन ज्यादै सस्तो छ । यसमा कुनै खर्च पनि गर्नु पर्दैन । बिएस्सी एजीपछि एमसीएजी अध्ययनका लागि भने नेपालमा ४ देखि ५ लाख रुपैयाँसम्म खर्च हुन्छ भने विदेशमा गएर अध्ययन गर्दा सोही देशको नियम तथा कलेज अनुसार खर्च हुन्छ । नेपालमा यो अध्ययन दुई वर्षको हुन्छ । 

 

के–कस्ता छन् अवसर ?

 नेपालमा कृषि अनुसन्धान परिषदअन्तर्गतका ६१ केन्द्रमा कृषि वैज्ञानिकको दरबन्दी छ, तर कहीँ पनि दरबन्दी पूर्ण भएको छैन । त्यसैले अध्ययनपश्चात सरकारी सेवाको बाटो खुला छ । 

 कृषिक्षेत्र सिधै मानिसको जनजीवनसँग जोडिएको विषय हो । त्यसैले कुनै नयाँ कुरा पत्ता लगाए चाँडै विश्वभर चिनिने अवसर छ ।

 नेपालले कृषिलाई विशेष महत्व दिएको छ, त्यही भएर यसमा लगाव राख्ने युवाहरूका लागि विदेशमा पढ्न जाने राम्रो 

अवसर हुन्छ ।

 कृषि वैज्ञानिकहरूका लागि छिमेकी देश भारत, पाकिस्तान तथा बंगलादेशमा अन्य कर्मचारीको भन्दा तीन गुणा बढी सेवा–सुविधा छ । अमेरीका, अस्ट्रेलियालगायत युरोपीयन देशमा समेत राम्रो अवसर प्राप्त गर्न सकिन्छ । 

 

कस्ता व्यक्तिले पढ्ने ?

 अनुसन्धान गर्ने रहर एवं नयाँ काम गरौ भन्ने भावना हुनुपर्छ ।

 पेसाप्रति लगाव हुनुपर्छ ।

 कृषि पेसामा आउनेहरूले यो आर्थिक उपार्जन गर्ने पेसा होइन भन्ने सोच बनाएर पढ्नुपर्छ, तर अध्ययन पछि बेरोजगार बस्नु पर्दैन ।

 अध्ययन सकेर काम सुरु भएपछि मात्र वैज्ञानिक हुने हो त्यसैले मेहनत बढी गर्नुपर्छ । 

 नयाँ कुरा खोज गर्ने चाहना हुनुपर्छ ।

 अध्ययनमा अन्य प्राविधिक विषयलाई जत्तिकै ध्यान दिनुपर्छ । 

प्रकाशित :श्रावण १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्