पार्टी एकताको लहर

- मनोज गजुरेल

श्रावण १५, २०७४-
अहिले चारवटा पार्टीबीच एकताको चर्चा चलिरहेको छ । उज्ज्वल थापा टिमको विवेकशील पार्टी र रवीन्द्र मिश्रको साझा पार्टी एक बने । बाबुराम नेतृत्वको नयाँ शक्ति र उपेद्र यादवको फोरम एकताको कुरा पनि पाइपलाइनमै छ । फरक पेसा र फरक धारका यी व्यक्तिहरूले पार्टी एकता गर्नुपर्ने आवश्यकता किन महसुस गरे होला ? 

यो चुनाव जित्ने रणनीति हो भनौं भने गलत हुन्छ, किनभने एउटा चुनाव गैसक्यो, अर्को चुनाव आएकै छैन । वैचारिक एकता मानौं भने अनेकताबीच एकता खोजिँदैछ ।

कसैलाई लाग्न सक्छ, यो चुनावी हारको रनाहामा चालिएको कदम हो । कसैलाई लाग्न सक्छ यो आगामी निर्वाचनमा घनघोर उपलब्धिको अपेक्षामा थालिएको प्रयास हो । कसैलाई लाग्न सक्छ, यो एकता–सेकता केही होइन, पार्टी ठूलो देखाउने रहर मात्र हो ।

तर गजुरियल विश्लेषण छ, यी सम्भावित एकतामा ठूला पार्टीहरूको ठूलो योगदान छ । उनीहरूले गत स्थानीय निर्वाचनमा त्यति धेरै मत नल्याइदिएको भए एकताको यो प्रयास पटक्कै हुने थिएन । एकताको दोस्रो कारण यिनै ठूला पार्टीको विगतको फुट पनि हो ।

उहिले नेपाली कांग्रेस फुटाएर शेरबहादुरले पनि नयाँ कांग्रेस बनाएकै थिए, तर उनी कहीं पुग्न सकेनन् । फर्किएर मूल धारमा जोडिनैपर्‍यो । वामदेवले पनि माले बनाएकै हुन् । मालेले पनि कुनै तात्विक सफलता हासिल गरेन, पुन: एमालेमा फर्कनैपर्‍यो । 

पत्रकारितामा अनुभवको कपाल फुलाएका रवीन्द्र मिश्रहरूले यही सत्यबोध गरेर विचार मिल्नेहरूको एकता आह्वान गरेका हुन सक्छन् । यो सुन्दर पक्ष हो । 

चुनावअघि साझा पार्टी र विवेकशील पार्टी निकै चर्चित रहे । पुरानाको भीडमा यी नयाँ पार्टीप्रति नेटिजन्सहरूका ठूलो भरोसा थियो, तर सिटिजनले खासै पत्याएनन् । काठमाडौंमा त भोट आएकै हो, तर देशभरिको हिसाब गर्दा जनताले खासै पत्याएको मान्न सकिँदैन ।

नपत्याउनुलाई अस्वीकार गरेको अर्थमा लिनु हुँदैन । अर्को पटकका लागि भोट हाल्न थाँती राखेको अर्थमा बुझ्नुपर्छ । त्यसैले राम्रो उद्देश्यले एकीकरणमा जाने जो–सुकैलाई पनि शुभकामना दिनुपर्छ । अझ नयाँको नारा बोकेको विवेकशील र साझा पार्टीलाई दिल खोलेर शुभकामना दिनुपर्छ भन्ने गजुरियल बुझाइ छ ।

यद्यपि एकताको सूत्र परम्परागत भने पटक्कै हुनु हुँदैन । एकता विचारले गर्छ, फेबिकोलले होइन । अनेकता लोभले बनाउँछ, एजेन्डाले होइन । पार्टी एकतालाई दीर्घजीवी बनाउन पद, प्रतिष्ठा, प्रलोभनको फेबिकोल होइन, विचार, व्यवहार र व्यक्तित्वको सुपरग्लु पत्ता लगाउनुपर्छ, अन्यथा एकताका लागि एकता नभएर अनेकताका लागि एकता हुने खतरा देखिन्छ ।

सम्भवत: यो एकताको युग नै होला । प्रचण्डले पनि आफ्ना भाइ पार्टीहरूलाई भूल धारबाट मूल धारमा आउन आह्वान गर्नुभएको छ । कम्युनिस्ट पुच्छर झुड्याइएका पार्टीहरूको संंख्या दुई दर्जनभन्दा बढी होलान् । पुच्छरले पार्टी बलियो हुँदैन, टाउको बलियो हुनुपर्छ । अनेकतामा रमाउने पुच्छरहरूले टाउकोलाई कर्‍यापकुरुप पार्ने खतरातर्फबाट सोच्नुपर्ने गजुरियल सुझाव छ । 

बाबुराम भट्टराई र उपेन्द्र यादवबीच पनि पार्टी एकताको कुरा चलिरहेको छ । कारण जेसुकै होस्, कुरा एकदम सही हो । एकता नै बल हो, अनेकता नै भल हो । वर्षाको भलमा बगेर सिद्धिनुभन्दा एकताको डोरीमा बाँधिएर बस्नु देशको हितमा पनि छ भन्ने गजुरियल ठम्याइ छ । 

 

प्रकाशित :श्रावण १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्