सामाजिक पँधेरोमा बवन्डर

- साप्ताहिक संवाददाता

श्रावण १४, २०७४

त्यसो त सामाजिक सञ्जाल तात्न कुनै ठूलो ईस्यु चाहिँदैन, त्यसमाथि मनोरन्जनको क्षेत्र भए त कुरै सिद्धियो । गत साता यस्तै भयो– मनोरन्जनको नेपाली संसारका चारवटा घटनाले सामाजिक सञ्जालमा सनसनी नै फैलाए, जसमध्ये पहिलो थियो लोकप्रिय गायक बद्री पंगेनी तासको खालबाट लाखौं रुपैयाँसहित प्रहरीको फन्दामा परेको हल्ला चल्नु । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष प्रहरी खोरमा पुगेपछि सञ्जालका प्रयोगकर्ताहरूका लागि दह्रै मसला मिल्यो । गएको चुनावमा एमालेको प्रचार गीत गाएका पंगेनीको उछित्तो काट्न प्रतिस्पर्धी दलका सदस्य–कलाकारहरू सहित धेरैजना कम्मर कसेर लागे । भन्नेहरूले त कतिसम्म भने पंगेनी अहिले जेलमा सै पनि जुवाडे, मै पनि जुवाडे गाउँदै होलान् । बद्री तासका सौखिन हुन् भन्ने कुरा उनको संगतमा भएका सबैजसोलाई थाहा छ ।

विदेश जाँदा तासको गड्डी नै बोकेर हिँड्ने बद्री दुई जना मात्र भए पनि रमाइलोका लागि जमिहाल्ने स्वभावका छन्, त्यो पनि दिन–रात नभनी । यद्यपि मनोरन्जनका लागि खेलिएको खेल नै बद्रीको लत भयो र त्यसले उनलाई यो दिनसम्म देखायो । बद्रीले आफू तास खेलेको आरोपमा प्रहरी हिरासतमा नपरेको बताए पनि उनी एमाले अध्यक्षको फोनका भरमा छुटेको बताउनेहरूको कमी भएन । सञ्जालमा बद्री बिग्रिएको कुराहरूदेखि लिएर उनलाई सुध्रने सुझाव दिने, उडाउने, आक्षेप लगाउने, गाली गर्ने, उछित्तो काट्नेहरू पनि उत्तिकै भए । यस्तो लाग्थ्यो कि बद्रीले कुनै जघन्य अपराध नै गरेका छन् र सञ्जालका विद्वतजन उनी ओरालो लाग्ने पर्खाइमा थिए । यद्यपि कमसेकम बद्रीले पनि यसलाई बेहोरे, झेले, एउटा सानो घटना हुँदा कति ठूलो मूल्य चुकाउनुपर्छ सामाजिक सञ्जालमा ? सम्भवत: बद्रीभन्दा बढी अरूलाई थाहा नहोला । 

छक्का पन्जा दुईको ए दाजु नसमाऊ नाडीमा गीतले यसै साता रिलिज हुँदै युट्युबमा रेकर्ड ब्रेक गरिरहेको थियो भने अर्कातर्फ त्यसले तीव्र प्रतिक्रिया पनि बटुलिरहेको थियो । कुनै पनि गीत कसैलाई राम्रो, कसैलाई नराम्रो वा कसैलाई ठिकै लाग्नु स्वभाविक हो, तर हाम्रा सञ्जालका प्रयोगकर्ता न परे उनीहरू गीतमा भएको शब्द अनुसार भिजुअलमा नाइनलको साडी खोज्नेदेखि लिएर भएभरका रौंलाई चिरा पार्ने काममा जुटिहाले । हुँदा–हुँदा उक्त गीत अल्मोडा राना उप्रेतीको नभएर अरू कसैको भएको सम्म कुरा आयो । लगत्तै उक्त गीत ती गन्धर्वको पनि नभएर चेतन कार्कीले पहिल्यै संकलन गरेर सार्वजनिक गरेको कुरा संगीत समीक्षक प्रकाश सायमीले रहस्योद्घाटन गरे । २०२० सालतिरको उक्त लोकगीतको मुखडा र लय प्रयोग गरेका अल्मोडाले कसैको मौलिक रचना चोरी गरेको आरोप तीव्र गतिमा फैलियो, जसमा उनको कुनै प्रतिक्रिया पढ्न पाइएन ।

जबकी छक्का पञ्जा दुईका निर्माता तथा मुख्य अभिनेता दीपकराज गिरीले फेसबुकमा आफूलाई अल्मोडा राना उप्रेतीले बास्तविक सर्जकका बारेमा केही नबताएर अध्याँरोमा राखेको प्रतिक्रिया दिए । रिमिक्स र कभर भर्सनको जमानामा अल्मोडाले अक्षम्य अपराध गरेका हुन् कि होइनन् बहसको विषय हुनसक्छ । यद्यपि उनी उक्त लोकगीतका मूल संकलकलाई क्रेडिट दिन भने चुकेकै हुन् । सञ्जालका प्रयोगकर्ता भने यसमा दुई पटक झुक्किए– एक त सुरुमा गलत व्यक्तिलाई स्रष्टा बताउने हल्लाको पछि लागेर अनि फेरि लोकगीत आफैंमा लोकबाट संकलन गरिएको (चोरिएको ?) गीत हो भन्ने कुरा नबुझेर !

सँगै रिलिज भएको अर्को चलचित्रमा दर्शकको ओइरो लाग्नु र आफूले बनाएको सुपरहिट चलचित्रको सिक्वेलमा दर्शकको कमी भएपछि चिढिएका निर्माता सुनिल रावलले सामाजिक सञ्जालमै अबदेखि नयाँ अनुहारलाई आफ्नो चलचित्रमा नलिने भने लगत्तै उनको चलचित्र शायद टुकी अभिनेत्री स्यारोन श्रेष्ठले सुनिलका विरुद्ध गम्भीर आक्षेप लगाउँदै पत्रकार सम्मेलन नै गरिन् । त्यसपछि सुरु भयो सामाजिक सञ्जालमा एउटा नयाँ मल्ल युद्ध । सामाजिक सञ्जालमा मानिसहरूका थरीथरीका स्ट्याटस र कमेन्टस आउन थाले । कुरा अझ चर्कन सक्थ्यो, चलचित्र कलाकार संघ तथा निर्माता संघले यदि यो विषयमा दुई पक्षबीच सहमति नगराएको भए ।

स्यारोनले किन चलचित्र निर्माणकै क्रममा सेक्सुअल ह्यारेसमेन्टको यो गम्भीर कुरा उठाइनन् ? यस्तो गम्भीर आक्षेप पत्रकार सम्मेलन गरेर हल्ला पिटाउने विषय थियो कि कलाकार–निर्माता संघ वा कानुनी उपचारमा जानुपर्ने विषय थियो ? एकपछि अर्को चलचित्र सुपरहिट भएर स्थापित निर्मातामा दरिएका सुनिलले पनि एउटा असफलताबाट यसरी अत्तालिहाल्नु पर्ने थिएन । सफलता र असफलता भनेको चलिरहने कुरा हो भन्ने कुरालाई मनन् गरेर ‘नयाँलाई लिन्न’ भन्ने खालको अभिव्यक्ति नदिएको भए सम्भवत: उनी स्यारोनको कोपमा पर्ने थिएनन् । अब उनीहरूबीच सहमति भैसकेको छ अनि उनीहरूलाई उचाल्ने र पछार्ने गरी कमेन्ट, ट्विट र स्ट्याटस फुराउनेहरू पनि थाप्लामा हात राख्न बाध्य भएका छन् । 

चलचित्र कलाकार संघले सुनिल र स्यारोनलाई बोलाएर आपसी सहमति गराएर विवादमा विश्राम त लगायो, तर अर्कातर्फ यही विषयलाई लिएर निर्मात्री एवं अभिनेत्री सुष्मिता केसीले चलचित्र पत्रकारद्वय उत्सव रसाइली र स्वस्तिका चिलवाललाई फेसबुकमा व्यक्तिगत रूपमा इंगित गर्दै लेखेको टिप्पणीले फेरि सामाजिक सञ्जाल तात्यो भने उत्सव र स्वस्तिकाले पनि सुस्मिता समक्ष आफ्नो दरै जवाफ फर्काए, त्यो पनि सामाजिक सञ्जालमै । 

सामाजिक सञ्जालमा सामाजिक हुनसक्नु राम्रो हो । कुराको जडमा पुगेर आफ्ना कुरा नराख्दा समाजकै सामू लज्जित पनि हुनुपर्ने हुनसक्छ । यसको हेक्का पनि राख्न सक्नुपर्छ कि ? विशेषगरी समाजमा चर्चामा आइसकेका र थोरबहुत इज्जत कमाइसकेकाहरूले । अन्यथा सामाजिक सञ्जालमा बबन्डर मच्चिने क्रम चलिरहनेछ र यसका कारण दुनियाँले रमाइलो गर्ने मसला पाइरहनेछन् । सामाजिक सञ्जाल सार्वजनिक फोरम हो र यसमा भएका –गरिएका कुरा व्यक्तिगत रहँदैनन् भन्ने कुरा त फेसबुकले उहिल्यै सार्वजनिक गरिसकेको छ नि ? 

 

प्रकाशित :श्रावण १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्