विश्वकपपछि नयाँ उचाइमा महिला क्रिकेट

- साप्ताहिक संवाददाता

श्रावण १४, २०७४-
पुरुष प्रभुत्व रहेको क्रिकेट खेलमा महिलाहरूको खासै चर्चा हुँदैन, तर यस पटक महिला क्रिकेटको चर्चा अत्यधिक भयो र यसको कारण थियो— इंग्ल्यान्डमा सम्पन्न विश्वकप । सन् २०१७ लाई महिला खेलकुदको वर्ष पनि भन्ने गरिएको छ । यो वर्ष धेरै खेलका महिला विश्वकप अथवा विश्व च्याम्पियनसिप भए र हुनेछन् । तीमध्ये एक थियो, महिला विश्वकप क्रिकेट । यस पटकको महिला विश्वकप क्रिकेटको यति धेरै चर्चा हुनुका पछाडि यसको सनसनीपूर्ण रोमाञ्चकता एवं अब्बल दर्जाको खेल नै प्रमुख कारण रह्यो । 

विश्वास नहुन सक्छ, पुरुष क्रिकेटको एकदिवसीय विश्वकप सुरु हुनुभन्दा दुई वर्षअघि नै महिला क्रिकेटको विश्वकप प्रारम्भ भैसकेको थियो । त्यो सन् १९७३ को घटना थियो । विश्वकप त सुरु भयो, तर त्यो औपचारिकतामै सीमित रह्यो । महिला क्रिकेटको विश्वकपका एकपछि अर्को संस्करण सम्पन्न भए, तर तिनले विश्व क्रिकेटका करोडौं दर्शकलाई आफूतर्फ आकर्षित गर्न सकेनन् । यही पृष्ठभूमिमा यस पटक इङ्ल्यान्डमा भएको विश्वकप महिला क्रिकेटका लागि कोसेढुंगा सावित भयो र यसको समाप्तिमा भनिएको छ— अब महिला क्रिकेटले नयाँ उचाइ लिनेछ । 

महिला विश्वकप क्रिकेटको यसपटकको फाइनल इङ्ल्यान्ड र भारतबीच लर्ड्समा सम्पन्न भएको थियो । खेलको अन्तिम केही ओभरसम्म तयजस्तै थियो, उपाधि भारतले जित्नेछ, तर इङ्ल्यान्ड अविश्वसनीय रूपमा खेलमा फर्कियो भने भारत नाटकीय पतनको सिकार बन्यो । पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले सात विकेट गुमाएर २ सय २८ रन मात्र बनाएको थियो । जवाफमा भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउनुअघि २ सय १९ रन मात्र बनाउन सक्यो अर्थात् इङ्ल्यान्ड ९ रनले विजयी भयो । अहिलेसम्म महिला विश्वकप क्रिकेटका ११ संस्करण सम्पन्न भैसकेका छन् र तीमध्ये इङ्ल्यान्डले (यसपटकसहित) चार पटक विजय प्राप्त गरेको छ ।

यसपटकको फाइनल खेल हेर्न विश्व क्रिकेटको घर भनिने लर्ड्समा २६ हजारभन्दा बढी दर्शक उपस्थित थिए । त्यसको अर्थ लर्ड्समा दर्शक भरिभराउ थिए । त्यसमा महिला तथा किशोर–किशोरीहरू अत्यधिक थिए । सन् १९९३ को विश्वकप पनि लर्ड्समै भएको थियो र त्यति बेला उपस्थित दर्शकको संख्या चार हजारभन्दा केही बढी मात्र थियो । यसपटक पुरस्कार राशिमा पनि अत्याधिक वृद्धि गरिएको थियो र त्यो रकम २० लाख डलर पुगेको थियो । 

यो रकम यसअघिको संस्करण भन्दा १० गुणा बढी हो । यस्तो कसरी सम्भव भयो त रु यसको स्पष्ट कारण पनि टेलिभिजनका दर्शक नै थिए । यसपटकको प्रतियोगिता पूरा विश्वमा ५ करोडभन्दा बढीले हेरेको अनुमान छ र यो चार वर्षअघि भारतमा भएको विश्वकपको तुलनामा ८० प्रतिशतले बढी हो । यो तथ्यांक आपैंmमा अविश्वसनीय छ । अचेल विश्व खेलकुदका लागि आयको सबैभन्दा ठूलो स्रोत टेलिभिजनका दर्शक नै हुन् र महिला विश्वकपले पनि यो बजारमा आफूलाई बिस्तार गर्न सकेको छ । 

यो विश्वकप महिला क्रिकेटका लागि कोसेढुंगा प्रमाणित हुनेछ । मलाई विश्वास छ, यो विश्वकपले महिला क्रिकेटलाई अझ विस्तार गर्न मद्दत गर्नेछ, विजयी इङ्लिस टिमकी कप्तान हिथर नाइटले प्रतियोगितापछि प्रतिक्रिया दिएकी छिन् । महिला क्रिकेटमा भारतको उदयलाई पनि यो विश्वकपको अर्को विशेषता मानिएको छ । विश्व क्रिकेटका लागि सबैभन्दा ठूलो बजार भारत नै हो । पुरुष क्रिकेटले अहिलेको स्वरूप प्राप्त गर्नुका पछाडि आर्थिक दृष्टिकोणबाट भारतकै सबैभन्दा ठूलो हात रहेको मानिन्छ । यस अर्थमा पनि यसपटकको विश्वकप सफल रह्यो । 

 

प्रकाशित :श्रावण १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्