+२ को नयाँ नियम छोटा स्कर्ट र बाइकमा बन्देज

  • जरिवाना र सजायको नयाँ व्यवस्था

- युवराज गौतम

श्रावण १२, २०७४-

 
 
 पुरानो बानेश्वरस्थित न्यू–समिट कलेजमा कक्षा १२ मा अध्ययनरत वसन्त गैरे कक्षा १० सम्म कडा अनुशासनमा थिए । गत वर्ष कक्षा ११ मा भर्ना भएर अध्ययन सुरु गर्दा उनले सोचेका थिए— अब आकाशमा उड्ने चरीझैं विन्दास हुन पाइन्छ । कलेज लाइफ स्वतन्त्र हुन्छ । साथीभाइहरूसँग हाँसखेल, घुमफिर अनि आफूले सोचेजस्तो दैनिकी बिताइन्छ तर कलेज प्रशासन सोचेजस्तो–भनेजस्तो छैन, गैरे भन्छन्— हामीले कलेजको रुल्स र अनुशासनको पालना गर्नैपर्छ । 
 
 चारखालस्थित एनआईसी कलेजमा अध्ययन गरेकी सबु तिम्सिनालाई पनि कलेज लाइफ बाहिर हल्ला गरिएजस्तो स्वतन्त्र लागेन । नयाँ साथीहरूसँग चिनजान, भलाकुसारी, घुमफिर त धेरै गरियो तर ड्रेस कोड, मोबाइल, एसेसरिज आदिको प्रयोगमा चाहिँ कलेज प्रशासनको कडा नियमको सामना गर्नुपरेको बताउँदै तिम्सिना भन्छिन्– प्रचलित ऐनले गरेको व्यवस्थाअन्तर्गत कलेजहरूले निर्धारण गरेका नियमका आधारमा अनुशासन पालनामा कडाइ हुँदै आएको छ । 
 
भन्नलाई स्टुडेन्ट लाइफ इज गोल्डेन लाइफ भनिन्छ । एसईई उत्तीर्ण गरेपछि धेरै विद्यार्थीको चाहना स्वतन्त्रतामा रमाउने हुन्छ । कक्षा ११ र १२ को अध्ययन समयलाई कलेज लाइफ मान्ने चलन रहेकाले विद्यार्थीहरूले यो दुई वर्षको अवधिमा पूर्ण स्वतन्त्रता खोज्छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरू शारीरिक एवं मानसिक रूपमा चञ्चल मात्र हुने नभै स्वतन्त्रताको असीमित चाहनाको खोजीमा समेत हुन्छन् । आफ्नो यस्तै स्वतन्त्रताको खोजीका क्रममा विद्यार्थीहरू बिन्दास हुन चाहन्छन् । यद्यपि अब विद्यार्थीहरूको यस्तो स्वतन्त्रताको चाहनामा सरकारले नै बन्देज लगाउने तयारी गरेको छ । हाल मन्त्रिपरिषद्मा छलफलका लागि प्रस्तुत गरिएको प्रचलित शिक्षा ऐनको आठौं संशोधनले त्यस्तो बन्देजको व्यवस्था गर्न लागेको हो । यद्यपि यसलाई मन्त्रिपरिषद्ले पास गरिसकेको छैन भने मन्त्रिपरिषद्ले पास नगरी यो कार्यान्वयनमा आउनेछैन ।
 
उच्च माध्यमिक शिक्षा परिषद्ले शिक्षा ऐनको आठौं संशोधनपछि जारी हुने नियमावलीका आधारमा लागू हुनसक्ने आचारसंहिता पनि तयार पारिसकेको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले तयार गरेको उक्त आधारसंहितालाई अहिले उच्च माध्यमिक विद्यालयहरूसहित माध्यमिक तहमा समेत लागू गर्न शिक्षा विभागले आफ्नो अध्ययन अघि बढाएको छ । शिक्षा ऐनको आठौं संशोधनपछि जारी हुने नयाँ नियमावलीमार्फत माध्यमिक तथा उच्च माध्यमिक दुवै तहमा पृथक् र प्रभावकारी आचारसंहिता लागू गर्न यतिबेला सरकार कम्मर कसेर लागेको छ । 
 
सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डका उपनियन्त्रक उत्तमदेव विष्टका अनुसार– विद्यार्थीहरू कक्षा १० उत्तीर्ण भैसकेपछि बढी स्वतन्त्रता खोज्छन्, त्यस्तो स्वतन्त्रताका नाममा विद्यालयहरूमा उच्छृङ्खल गतिविधि र विकृतिसमेत बढेकाले त्यसमा लगाम कस्न यस्तो आचारसंहिता आवश्यक देखिएको हो । विष्ट भन्छन्– टिनएजमा फिजिकल्ली, मेन्टल्ली तथा उमेरगत हिसाबले विद्यार्थीले बढी स्वतन्त्रता खोज्दा विद्यालयहरूमा विकृति देखा पर्‍यो, त्यसैले आचासंहिता आवश्यक देखिएको हो । आचारसंहिता बाटो देखाउने एउटा माध्यम मात्र भएकाले बाध्यकारी चाहिँ नहुने उनले प्रस्ट पारे । विद्यालयमा नैतिकताको विकास एवं प्रवद्र्धन गर्दै अनुशासित जनशक्ति तयार गर्न त्यही शिक्षा ऐन आठौं संशोधनले निर्दिष्ट गरेको नियमावलीका आधारमा अहिलेको आचारसंहिता बनाइएको हो, जुन आचारसंहितालाई विद्यालय तथा कलेजहरूले आफ्नो आवश्यकता अनुरुप लागू गर्न सक्छन् । 
 
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालका अनुसार मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको उक्त शिक्षा ऐन आठौं संशोधनसहितको नियमावलीअन्तर्गत शिक्षक र विद्यार्थीका लागि बेग्ला–बेग्लै आचारसंहिता बनाउनुपर्ने आवश्यकता देखिएको हो । उक्त संशोधित ऐन र नियमावली जारी भएपछि विद्यालय तथा कलेजहरूले प्रस्तावित आचारसंहितालाई प्रभावकारी रुपमा लागू गर्नैपर्छ । अहिलेको मुलुकको तरल राजनैतिक अवस्थामा नयाँ संविधानले व्यवस्था गरेको स्थानीय तहका कानुनहरू अस्तित्वमा आइ नसकेकाले सरकारले शिक्षा ऐन आठौं संशोधनमार्फत नियमावलीहरूमा समेत संशोधन गरी विद्यालय, कलेज, विद्यार्थी तथा शिक्षकसमेतलाई समेट्ने गरी निर्देशिका बनाएर आचारसंहिता लागू गराउन चाहेको डा. लम्सालले बताए । डा. लम्साल भन्छन्– आचारसंहिता भनेको एउटा गाइडलाइन मात्र हो, जुन बाध्यकारी हुँदैन, त्यसैले अनुशासनलाई बुझेर सम्बन्धित पक्षले स्वयं पालना गर्नु नै उपयुक्त हुन्छ । कतिपय विद्यालयले आचारसंहिता लागू गरेको भए पनि कतिपयले त्यसप्रति बेवास्ता गरेको पाइन्छ । यही समस्यालाई ध्यानमा राखेर माध्यमिक तहका विद्यालयका लागि वि.संं. २०६९ मा बनाइएको आचारसंहितामा केही परिमार्जन गरी त्यसलाई नियमावलीमार्फत विद्यालय तथा कलेजहरूमा अनिवार्य रुपमा पालना गराउन लागिएको हो । उक्त आचारसंहिता ६३ बुँदामा समेटिएको बताइन्छ । 
 
मोबाइल र बाइकमा बन्देज
नयाँ नियमावलीअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई विद्यालय वा कलेजमा मोबाइल चलाउन प्रतिबन्ध लगाइनेछ । त्यसबाहेक कलेज ड्रेसमा मोटरसाइकल चलाउन पनि रोक लगाउने व्यवस्था प्रस्तावित नियमावलीमा उल्लेख छ । मोटरसाइकल चलाउँदा विकृति देखिनुका साथै दुर्घटना बढेकाले त्यसमा रोक लगाउनु परेको तर्क सरकारी अधिकारीहरूको छ । नियमावली पालन नगर्ने विद्यार्थीलाई पहिलो पटक अभिभावकलाई जिम्मा लगाउने र पुन: पालन नगरे ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रावधान प्रस्तावित नियमावलीमा उल्लेख छ । त्यस्तै मोबाइल प्रयोग गरिएको पाइए पहिलो पटक चेतावनीसहित जफत गर्ने र अभिभावकलाई पत्र काट्ने व्यवस्था छ । दोस्रो पटक भने ३ हजार रुपैयाँ जरिवाना गराउने कुरा प्रस्तावित नियमावलीमा उल्लेख छ भने आइपड, ल्यापटप विद्यालयको स्वीकृति लिएर मात्र प्रयोग गर्न पाइनेछ । 
 
छोटो स्कर्ट लगाउने र कलेज बंक गर्नेलाई कारबाही
कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूले अति छोटो स्कर्ट लगाए अब कारबाहीको भागी हुनुपर्नेछ । स्कर्ट लगाउँदा घुँडाभन्दा कम्तीमा दुई इन्च तल हुनुपर्ने प्रावधान छ । यसको उल्लघंन गरे कारबाहीस्वरूप कलेज निष्कासन गर्नेसम्मको व्यवस्था गरिएको छ । त्यस्तै विद्यालय पोशाकमा कुनै पनि होटल, सिनेमाहल, पार्क, सपिङ मल आदि स्थानमा गएको पाइए सरोकारवालाहरूले प्रहरीलाई जिम्मा लगाई कारबाही गर्ने व्यवस्था छ । कलेज बंक गरे बोर्ड परीक्षासमेत दिन नपाउने गरी निष्कासन गर्न सकिने व्यवस्था प्रस्तावित नियमावलीमा उल्लेख छ । कलेज बंक गर्ने विद्यार्थीलाई पाँच तहमा कारबाही गर्न सकिनेछ, जसमा २ हजार रुपैयाँ जरिवानादेखि कलेज निष्कासनसम्म हुनसक्छ । 
 
यस्तो छ ड्रेस कोड
चुज पाइन्ट लगाउन पाइनेछैन भने पाइन्टको मोता १६ इन्चभन्दा कम गर्न मिल्नेछैन । 
 
पाइन्ट वा स्कर्ट कम्मरभन्दा कम्तीमा १ इन्च माथि हुनुपर्नेछ भने त्यसलाई हिपहप बनाउन पनि पाइनेछैन ।
 
सर्टको बटम नेकभन्दा एक इन्च तलसम्म मात्र खोल्न मिल्ने हुनुपर्छ । कुर्ता सुरुवालको हकमा एक इन्चभन्दा बढी खुल्ला नेकलाइन प्रयोग गर्न पाइने छैन । 
 
कम्मर पेटीको हकमा १ दशमलव ५ इन्चभन्दा चौडा कम्मर पेटी र फेसनेबल पेटी प्रयोग गर्न पाइनेछैन । अन्य पोसाकहरू विद्यालयले तोकेबमोजिम लगाउनुपर्नेछ भने टाइको गाँठो गलासम्मै बाँधिएको हुनुपर्नेछ । 
 
झगडा गर्ने र ग्याङ बनाउनेहरूलाई सजाय
टिएनएज भएकाले कलेजका विद्यार्थीहरूमा देखिएको ग्याङ फाइट र झगडाका घटनालाई निरुत्साहित गर्न पनि प्रस्तावित नियमावलीमा केही व्यवस्था गरिएको छ । विद्यार्थीले प्राचार्य, शिक्षक, कर्मचारी वा सहपाठीलाई गालीगलौज वा हातपात गरे सार्वजनिक अपराध ऐनबमोजिम कारबाही गर्न प्रहरीको जिम्मा लगाउने अधिकार विद्यालयमा सुरक्षित हुनेछ भने यसमा विद्यालय निष्कासनको व्यवस्था पनि छ तर विद्यालय हाताभित्र विद्यार्थीको सुरक्षाको जिम्मा भने विद्यालय तथा कलेजहरूले नै लिनुपर्नेछ । 
कुनै पनि विद्यार्थीले घाउ, चोटपटक लाग्ने गरी कसैसँग दागा दर्न, हातपात गर्न, झगडा गर्न वा कुटाकुट गर्न पाउनेछैनन् । यदि त्यस्तो गरे ३ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना, निष्कासन, बोर्ड परीक्षामा बन्देजका साथै अन्य खर्च भराउने तथा जरिवानासमेत लाग्ने व्यवस्था गर्न लागिएको हो । ग्याङ बनाउने र धम्क्याउने विद्यार्थीलाई विद्यालय निष्कासनदेखि बोर्ड परीक्षामा सामेल नगराउनेसम्मको व्यवस्था प्रस्तावित नियमावलीमा उल्लेख छ । 
 
भड्किलो फेसनमा निगरानी
कलेज वा विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूले फेसन एसेसरिजको प्रयोगमा पनि विशेष ध्यान पुर्‍याउनुपर्नेछ । मेहेन्दी लगाउन, लामा–लामा नङ पाल्न, छात्रहरूले मुन्द्रा लगाउन, लामो कपाल पाल्न वा हातमा वाला लगाउन पाइने छैन । यसका लागि छुट्टै कारबाहीको व्यवस्था छ । 
 
कलेज एवं शिक्षकमाथि पनि कडाइ
विद्यालय वा कलेजका साथै शिक्षकहरूलाई पनि नियमावलीको घेरामा ल्याइएको छ । 
शिक्षण सिकाइको वातावरण राम्रो बनाउने प्रमुख दायित्व प्राचार्य, शिक्षक एवं विद्यार्थीको भएको हुँदा तीनवटै पक्षले एकअर्काप्रति समन्वयात्मक भावना राख्नुपर्नेछ ।
 
हरेक विद्यालयले परामर्श एकाइ अनिवार्य रूपमा राख्नुपर्ने र विद्यार्थीलाई आवश्यकताअनुसार शैक्षिक एवं मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउनुपर्नेछ । 
 
विद्यालय परिसरभित्र विद्यार्थीको सुरक्षाको जिम्मेवारी सम्बन्धित विद्यालयले लिनुपर्नेछ । 
 
विद्यालयहाताभित्र विद्यार्थीको सम्मान एवं स्वाभिमानमा धक्का पुग्ने काम गर्न पाइने छैन । 
 
विद्यालयले उपयुक्त मापदण्ड बनाइ निर्धारण गरेबमोजिम अधिकतम र न्यूनतम विद्यार्थी मात्र भर्ना लिन पाउने छन् । 
 
विद्यालयको शुल्क नियमावलीले व्यवस्था गरेअनुसार मात्र हुनुपर्नेछ । 
 
विद्यालयले आफ्नो परिसरभन्दा बाहिर होर्डिङ बोर्ड राख्न पाउने छैनन् । त्यस्तो पाइए दण्ड, जरिवाना तथा अन्य कारबाही हुनेछ । 
 
विद्यालयले तडकभडकपूर्ण विज्ञापन गर्न पाउने छैनन् तर ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको विज्ञापन गर्न पाइनेछ । 
 
विद्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा सरकारका अन्य विशिष्ट व्यक्तिहरूको तस्बिर, नाम, विद्यार्थीको तस्बिर आदि राखेर विज्ञापन गर्न पाउने छैनन् । यो नियम उल्लघंन गरेको पाइए ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना तथा सम्बन्धन खारेजसम्मको व्यवस्था गर्न लागिएको छ । 
 
शिक्षकलाई नियुक्ति नदिई अध्ययन–अध्यापन गराउन पाइनेछैन । विद्यार्थीलाई शारीरिक दण्ड दिन पाइनेछैन । यौन दुव्र्यवहार गरे कसुर बमोजिम कारबाही हुनेछ । 
 
शिक्षक वा कर्मचारीले विद्यार्थी वा जोकोही महिलालाई खराब नियतले हेर्ने, खराब अर्थ लाग्ने शब्द बोल्ने, शरीरमा खराब नियतले छुने आदिजस्ता कार्य गरे कडा कारबाही हुने बताइएको छ ।  
 
 
स्वअनुशासनको गाइडलाइन हो 
 
- डा. हरि लम्साल, प्रवक्ता
  शिक्षा मन्त्रालय, सिंहदरबार 
विद्यार्थी र विद्यालयका लागि नियमावलीको आवश्यकता किन पर्‍यो ? 
शिक्षा क्षेत्रमा बिकृति मौलाउन थालेपछि विद्यार्थी एवं विद्यालयलाई अनुसाशित गर्न–गराउन यो नियमावली तयार भएको हो । यो दबाब र बाध्यतामा लागू हुने कुरा भने होइन । यसलाई स्वविवेकले प्रयोग गर्ने हो । के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने मार्गदर्शनका लागि नियमावली तयार गरिएको हो । विद्यालय, विद्यार्थी तथा व्यवस्थापन समितिका लागि यस्तो नियमावली अति आवश्यक छ ।
 
अधिकांश विद्यालयमा आचारसंहिता पालना भएको देखिँदैन नि ?
आचारसंहितालाई माध्यम बनाएर विद्यालयहरूले आफैं पनि गाइडलाइन बनाएका हुन्छन् । जिल्ला शिक्षा कार्यालयले यो मुद्दा बेलामा उठाउँदै आएको छ । यसको अनुगमन शिक्षा विभागले गरिरहेको छ । यद्यपि आचारसंहिता पालना भए–नभएको छुट्टै अनुगमन गर्न समस्या भएकाले अब यसलाई नियमावलीमार्फत ल्याउने तयारी गरिएको हो ।
 
प्रदेश स्तरमा विद्यालय तथा शिक्षक–विद्यार्थीहरूमा कसरी आचारसंहिता लागू गराउने ?
मुलुक संघीय संरचनामा गैसकेकाले स्थानीय तहलाई छुट्टै अधिकार दिइएको छ । स्थानीय तहका लागि केही कानुन बन्ने तरखरमा छन् । अब स्थानीय तहले नै शिक्षासम्बन्धी नियमावली, निर्देशिका साथै आचारसंहिता तयार गरेर सञ्चालन गर्न पाउँछन् । आफ्नो तहमा रहेका शिक्षालयहरूलाई कसरी मर्यादित एवं व्यवस्थित बनाउने भन्ने अधिकार स्थानीय तहलाई नै प्रदान गरिएको छ ।  
 
 
 

प्रकाशित :श्रावण १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्