मानिसहरूको खुसीमा खुसी हुन्छु

- कृष्ण भट्टराई

श्रावण १२, २०७४-
लोकलयमा आधारित रक गीत गाएर हरेक उमेरका श्रोताको मन जित्न सफल सांगीतिक समूह हो– नेपथ्य । यसै वर्ष स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको यो सांगीतिक समूहले नेपालका प्राय: सबै जिल्ला पुगेर आफ्नो सांगीतिक प्रस्तुति दिइसकेको छ । नेपथ्यले विदेशका ४० भन्दा बढी सहरमा आफ्ना लोकप्रिय गीतहरू सुनाइसकेको छ । सामाजिक काममा बढी रुचि राख्ने नेपथ्यलाई नेतृत्व गर्ने मुख्य संगीतकर्मी हुन्–अमृत गुरुङ । आम संगीतकर्मीभन्दा पृथक स्वभावका ४९ वर्षीय गुरुङ यतिबेला अष्ट्रेलियामा छन् । झन्डै एक महिना लामो सांगीतिक यात्राका लागि आफ्नो ब्यान्डसहित त्यसतर्फ प्रस्थान गर्नुअघि गायक गुरुङले साप्ताहिकका लागि कृष्ण भट्टराईसँग लामो कुराकानी गरेका थिए ।  
 

अहिले केमा व्यस्त हुनुहुन्छ ? 
पछिल्ला केही साता हामीले त्यही कन्सर्टको तयारीमा बितायौं । यो पत्रिका 
पाठकको हातमा पर्दा हामी अष्ट्रेलियामा हुनेछौं ।

ब्यान्डसहित विदेशका कन्सर्टको सहभागिता कत्तिको सहज हुन्छ ? 
वाद्यवादनसहित लाइभ कन्सर्ट दिनु आफैंमा गाह्रो काम हो । हाम्रो कन्सर्टमा मसहित ब्यान्डका सबै संगीतकर्मी सहभागी हुन्छौं । विदेशका कन्सर्टमा सामूहिक प्रस्तुति दिनु अझ चुनौतीपूर्ण कार्य हो । आफूसँगै वाद्ययन्त्रसमेत लानुपर्ने हुनाले केही असहज त हुन्छ नै । यद्यपि नेपालयले सबै चाँजो–पाँजो मिलाउने भएकाले हामीले प्रस्तुतिमा मात्र ध्यान दिए पुग्छ । 

दुई वर्षअघि भूकम्प आउँदा पनि अष्ट्रेलियायामै हुनुहुन्थ्यो नि होइन ? 
हो, हामी त्यतिबेला अष्ट्रेलियाका अधिकांश सहरका निर्धारित कार्यक्रम सम्पन्न गरेर अन्तिम प्रस्तुतिको तयारीमा थियौं । कन्सर्टको अघिल्लो दिन नेपालमा भूकम्प गएपछि हामीले अन्तिम कार्यक्रमको स्वरूप परिवर्तन गरेर भावनात्मक गीतहरू मात्र प्रस्तुत गर्‍यौं ।

नेपथ्यको २५ वर्षे यात्रालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 
फुर्सदमा कहिलेकाहीँ हामी आफ्नै समूहको विगत नियाल्छौं । म एक्लै छँदा पनि यदाकदा हाम्रो २५ वर्षे यात्रा सम्झन्छु । हामीले लहै लहैमा नेपथ्य ब्यान्ड स्थापना गरेका थियौं । प्रारम्भिक चरणमा केही गीत लोकप्रिय भए पनि हामी पछि गएर केही सुस्त भयौं तर साथीभाइको अनुरोध र सुझावका कारण उत्कृष्ट संगीत सिर्जनालाई निरन्तरता दियौं । अहिले आएर चाहिँ संगीत हाम्रो पूजा भएको छ, साधना भएको छ । अब नमरुञ्जेल संगीत सिर्जनामै सक्रिय रहने निधो गरेका छौं । 

यो अवधिमा ब्यान्डमा संगीतकर्मी आउने–जाने क्रम कस्तो रह्यो ? 
यो अवधिमा हाम्रो ब्यान्डमा १९ जना संगीतकर्मी आउने–जाने क्रम चल्यो । सन् २००८ अर्थात् विगत ९ वर्षदेखि भने समूहमा ६ जना संगीतकर्मी सक्रिय छौं । ब्यान्डमा म लिड भोकलिस्टका रूपमा आबद्ध छु भने ध्रुव लामा ड्रमसेटमा, सुरज थापा किबोर्डमा, निरज गुरुङ गिटारमा, सुविन शाक्य बेस गिटारमा तथा शान्ति रायमाझी मादलमा हुनुहुन्छ । 

यही ६ जनाको समूहले पछिल्ला उत्कृष्ट गीत दिइरहेको हो ? 
हो, पछिल्ला नौ वर्ष हाम्रा जति पनि गीत सार्वजनिक भएका छन्, ती सबै गीतमा हामी छ जनाको मेहनत परेको छ । 

नेपथ्यका प्राय: सबै गीत कर्णप्रिय छन्, श्रोताहरूको जनजिब्रोमा झुन्डिन्छन् । प्रत्येक गीत लोकप्रिय हुने त्यस्तो के जादू चलाउनु हुन्छ ? 

यो त श्रोताहरूले हामीलाई दिनुभएको माया हो । हाम्रा गीतमा नेपालीपन भएर पनि हो कि ? हामी गीतमा लोक शैली पनि मिसाउँछौं । श्रोताहरूले गीतमा आफ्नोपन महसुस गर्न पाउनु हुन्छ । शायद यिनै कारणले हाम्रा गीत चलेका हुन् । 

एउटा गीत तयार पार्न कति समय लगाउनुहुन्छ ? 
ठ्याक्कै यति नै समय लाग्छ भन्ने हुँदैन । कहिलेकाहीँं सररर पाँचै मिनेटमै पनि गीत तयार हुन्छ, कहिलेकाहीँ कनि–कनि एक वर्ष लगाएर पनि गीत बनाइन्छ । यद्यपि त्यस्ता गीत असाध्यै लोकप्रिय हुन्छन्, जुन पाँच मिनेटमै तयार हुन्छन् । 

गीत सिर्जना गर्न कस्तो समय रोज्नुहुन्छ ? 
यो त मुडमा भरपर्ने कुरा हो । कहिलेकाहीँ असाध्यै खुसी भएका बेला गीत फुरिरहेको हुन्छ भने कहिलेकाहीँं दु:खी भएका बेला पनि गीत फुर्छ । गीत बनाउन बस्छु भनेर मैले अहिलेसम्म एउटा पनि गीत तयार पारेको छैन । 

पछिल्लो समयमा रेकर्ड गरिएका गीतहरू कस्ता छन् ? 
हामीले २०१५ यता नयाँ गीत रेकर्ड गराएका छैनौं । त्यतिबेलै हामीले झन्डै एक दर्जन गीत रेकर्ड गराएका थियौं । अहिले ती गीत एक–एक वटा गरेर युट्युबमार्फत सार्वजनिक गरिरहेका छौं । 

प्राय: यात्राका क्रममा गीत तयार पार्नु हुन्छ होइन ? 
म यात्रा गर्न खासगरी पैदल यात्रा गर्न मन पराउने मान्छे हुँ । आफ्नो प्रत्येक पटकको यात्राका क्रममा एक–दुईवटा गीत तयार पारिरहेकै हुन्छु । यात्राले स्थानीय जनजीवनलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्छ । त्यो बुझाइले नयाँ गीत नै सिर्जना गर्छ । 

पैदल यात्रामा असाध्यै रमाउने कारण ? 
म गाउँमा जन्मिएँ, उतै हुकिएँ । गाउँमा जन्मिएपछि हिँड्नुको विकल्प हुँदैन । म सानैदेखि हजुरआमाको निकै नजिक रहें । उहाँकै संगतले मलाई हिँड्न सिकायो । सानैमा हजुरआमासँग उहाँको माइती स्याङ्जाको एउटा गाउँ जाँदा–आउँदा हिँड्ने बानी लाग्यो । कलेज पढ्न पोखरा आएपछि पनि हिँड्ने त्यो बानीले निरन्तरता पाइरह्यो । पोखरा बसुञ्जेल मैले कहिल्लै सवारीसाधन प्रयोग गरिन । काठमाडौं आएपछि पनि हिँड्ने यो बानीले निरन्तरता पायो । 

काठमाडौंमा कत्तिको हिँड्नुहुन्छ ? 
मेरो बसाइ भैंसेपाटिबाट कार्यालय (कालिकास्थानस्थित नेपालय) को दूरी झन्डै साढे सात किलोमिटर छ । म प्रत्येक दिन घरबाट हिँडेरै कालिकास्थान पुग्छु । ठ्याक्कै एक घण्टा १० मिनेटमा त्यो दूरी तय हुन्छ । समय भएका बेला त्यहाँबाट घरसम्म पनि हिँडेरै आउँछु । 

चर्को घाम, झरी केही नभनी हिँड्नुहुन्छ, त्यो जोस कहाँबाट आउँछ ? 
काठमाडौंको ट्राफिक जामले हिँड्ने जोश बढाइदिएको छ । सवारीसाधनबाट भनेको समयमा पुग्न गाह्रो छ, हिँडेर गयो भने भनेकै बेला पुग्न सकिन्छ । हिँड्दा स्वास्थ पनि राम्रो हुने, समयमा पनि पुगिने । फेरी सानैदेखि लागेको बानीले गर्दा होला म हिँड्न नै मन पराउँछु । 
 

काठमाडौंको हिँडाइले केही कुरा सिकाएको पनि छ कि ? 
काठमाडौं (पाटन पनि) मा अनेकौं चाडपर्व मनाइन्छ । त्यस क्रममा ठाउँ–ठाउँमा झुन्ड–झुन्ड बनाएर बाँसुरी लगायतका परम्परागत बाजाहरू बजाइएको देख्छु । विगतको तुलनामा त्यो क्रम अलि कम भएको छ तर त्यस्ता दृश्यले ममा सांगीतिक ऊर्जा प्रदान गर्छन् । हिँड्ने क्रममा बाटोमा राम्रा–नराम्रा धेरै प्रकारका मानिस भेटिन्छन् । मानिसका भोगाइहरू पनि देखिन्छन्, खुसीका क्षण पनि देखिन्छन् । अर्काे शब्दमा भन्नु पर्दा सडकमा जीवन देख्न पाइन्छ । 

हिँड्ने क्रममा ब्याग छुटाउनु हुन्न, के–के बोक्नु हुन्छ ? 
ब्यागमा एक बोतल पानी, एउटा छाता, एउटा सानो स्विस नाइफ, नेलकटर, रेन कोट, एउटा स्याउ, एक प्याकेट बिस्कुट, एक प्याकेट जीवनजल, फेर्नका लागि एउटा टिसर्ट । यति भएपछि मेरो पैदल यात्रा सहज मात्र होइन सुरक्षित पनि हुन्छ । 

पोखरामा हुर्किएको कलाकार, अहिले पनि प्राय: पोखरातिरै रमाउनु हुन्छ । आखिर पोखरामा त्यस्तो के छ ? 
म अहिले पनि प्रत्येक महिना तीन अथवा चार पटक पोखरा पुग्छु । पोखरा नजिकै (१४ किलोमिटर टाढा) हाम्रो पुख्र्यौली थलो छ जहाँ मैले गाई, भैंसी पालेको छु, खेतीपाती पनि गर्छु । घर वरिपरि रूख–बिरुवाहरू छन् । सानोतिनो जंगल नै छ । झन्डै एक सय रोपनी क्षेत्रफलमा फैलिएको त्यो गोठ मलाई असाध्यै प्यारो छ । त्यसकै रेखदेख गर्न म महिनामा तीन–चार पटक त्यहाँ पुग्छु । त्यसबाहेक उक्त गोठमा हार्मोनियम र गिटार पनि छ । महिनामा पाँच–छ दिन त्यहाँ बिताउँदा संगीत सिर्जनमा पनि तल्लिन रहन्छु । 

 उक्त गोठलाई कहिलेसम्म निरन्तरता दिने विचार गर्नुभएको छ ? 
त्यहाँ कृषि, भेटनरी तथा बोटानी पढ्ने विद्यार्थीहरूका लागि अध्ययन केन्द्र बनाउने विचार छ । यद्यपि त्यो लामो समय लाग्ने योजना हो । यो योजना साकार बनाउने सोच छ । हेरौं, कति समय लाग्छ । 

तपाईं पोखराबाट काठमाडौंसम्म हिँडेरै आइपुग्नु भएको थियो । त्यस्तो लहड कसरी चल्यो ? 
हाम्रा पूर्खाहरू पहिले–पहिले पोखराबाट काठमाडौंसम्म हिँडेरै पुग्ने कुरा सुनेको थिएँ । एक पटक मैले पनि किन प्रयास नगर्ने भनेर उक्त यात्रा गरेको हुँ । पोखराकै साथी काशी बसेलका साथ मैले उक्त यात्रा पूरा गरें । कास्कीको विजयपुरबाट प्रारम्भ भएको हाम्रो यात्रा राजाको चौतारा, सात मुहाने, देउराली, शिशाकाठ, मादी, भन्ज्याङ, कुन्छा, सुन्दर बजार, तार्पुघाट, मस्र्याङ्दी, चेपे, पालुङटार, लुइँटेल भन्ज्याङ, खोल्पाल, दरौंती, घ्याम्पेसाल, आरुघाट, सल्यानटार, बुढी गण्डकी, आबु खोला, कटुन्जे भन्ज्याङ, सामरी भन्ज्याङ, त्रिसुली बजार, ताडी खोला, आरुखर्कबाट ककनी हुँदै बालाजु बाइपास आइपुग्न ठ्याक्कै सात दिन लागेको थियो । 

तपाईंलाई सबैभन्दा मनपर्ने ठाउँ कुन हो ?
पोखरा । मैले संसारका धेरै ठाउँ देखें, तर पोखरा जस्तो सुन्दर र रमणीय ठाउँ कहीँ फेला पारिन् । पोखराको सौन्दर्य शब्दमा वर्णन गरेर साध्य छैन । 

कुन कुराले खुसी हुनुहुन्छ ? 
मानिसहरू खुसीपूर्वक बाँचेको देख्दा नै खुसी लाग्छ । त्यसबाहेक प्रकृतिको काखमा पुग्न पाउँदा पनि खुसी हुन्छु । 

कुन कुराले दु:खी बनाउँछ ? 
मलाई दुई कुराले दु:खी बनाउँछ । पहिलो जानी–जानी बुझ पचाउने, अनि अर्को केही नजाने पनि सबै कुरा जानेको छु जस्तो गर्ने स्वभावका व्यक्तिहरू देख्दा दु:ख लाग्छ । 

खानपिनमा कत्तिको सौखिन हुनुहुन्छ ? 
रत्तिभर सौख छैन । खाना भए पुग्छ, साधारण खाना । अँ, त्यो खाना सफा भने हुनु अनिवार्य छ । मलाई हाइजेनिक खाना मनपर्छ । खाना पाक्ने प्रत्येक भान्सा सफा हुनुपर्छ भन्ने मेरो मान्यता हो । 

फुर्सदमा के गर्नुहुन्छ ? 
पुस्तकहरू अध्ययन गर्छु । पुस्तकका विषय फरक हुन सक्छन् तर 
फुर्सद पाउने बित्तिकै म पुस्तकमा घोत्लिन रुचाउँछु ।  

प्रकाशित :श्रावण १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्