के हो अर्गाज्म ?

- डा. सुमनराज ताम्राकार

श्रावण ११, २०७४-
यौनसम्बन्धी चाहना तथा चासो मस्तिष्क भित्रको हाइपोथालामसले निर्देशित गर्छ । यसका साथै यौनेच्छाका लागि आवश्यक हार्मोनहरूको उत्पादन पनि मस्तिष्कबाटै हुन्छ । यौनकार्य वा यौनसम्बन्ध हेर्दा साधारण प्रक्रिया लागे पनि धेरै कुराको समन्वयपछि मात्र यो सम्भव हुन्छ । यौन क्रियाको तयारीमा यससम्बन्धी सोचदेखि शरीरमा नै विविध परिवर्तन देखा पर्छन् । मानिसको यौनचक्रमा चार वटा चरण हुन्छन् ।

यौनचक्रका विभिन्न चरण 
यौन उत्तेजनाको चरण – यौनेत्तेजक वस्तुहरू देख्दा, स्पर्श गर्दा, यसबारे सोच्दा मात्र पनि उत्तेजनाको चरण सुरु हुन्छ । यो चरणमा पाक्क्रीडाको आफ्नै विशिष्ट महत्व छ । कसिलो आलिंगन, ओंठ चुम्बन, स्तन स्पर्श, नितम्ब स्पर्श, भगांकुर घर्षण, यौनाङ्ग स्पर्श गर्दा तथा यौनका लागि संवेदनशील अन्य अङ्गहरू चलाउँदा यौन उत्तेजना ह्वात्तै बढ्छ । यस क्रममा पुरुष लिङ्ग उठ्न थालेर कडा हुन्छ भने महिलामा योनि आसपासका क्षेत्रबाट योनिश्रावको उत्पादन हुन थाल्छ । महिलामा पनि योनिको आकार तथा योनिमार्गमा परिवर्तन आउँछ तर पुरुष जस्तो देखिने गरी हुँदैन । यसका साथै महिलामा भगाङ्कुरको आकार वृद्धि हुने तथा स्तनको मुन्टा पुरुषको लिङ्गजस्तै कडा हुन्छ, जुन यौनक्रिया अघिको पाकक्रिडामा मात्र अनुभूति हुन्छ । त्यसो त यौन उत्तेजनापछि यौनक्रिया राख्न मिल्ने वातावरण छैन भने महिला तथा पुरुष दुवै साधारण अवस्थामा फर्कन्छ ।

प्लेटो चरण – यौन उत्तेजनापछि यौनसम्पर्क राख्न सकिने भए महिला पुरुष दुवैजना प्लेटो चरणमा जान्छ । यस चरणमा यौन उत्तेजनाको मात्रा बढ्छ । व्यक्तिगत भिन्नताका आधारमा प्लेटो चरण लामो वा छोटो समयको हुन्छ । यस चरणमा महिला पुरुषमा आ–आफ्नै परिवर्तनहरू हुन्छन् । पुरुषमा अण्डकोष तथा यस माथिको नलीको आकार बढ्ने हुन्छ । यस चरणमा पुरुष लिङ्गबाट हल्का चिप्लो पदार्थ निस्किन्छ जसले यौन क्रियालाई सहज बनाउँछ । महिलामा योनि तथा आसपासको क्षेत्र बढ्छ । स्तनको आकार पनि बढ्छ । 

महिला तथा पुरुष दुवैका शरीरभरि नै रक्तप्रवाह बढ्न गई मुख तथा छालाको रातो हुन्छ । शरीरमा तातोपन बढ्छ । महिला पुरुष दुवैको मुटुको चालका साथै श्वासप्रक्रियामा वृद्धि हुन्छ । कथंकदाचित यौनक्रियाले निरन्तरता पाएन भने पुरुषको अण्डकोष तथा त्यसमाथिको शुक्रकीटवाहिनी नलीमा हल्का पीडा महसुस हुन सक्छ । महिलाहरूले टाउको दुखेको एवं जिउ भारी भएको महसुस गर्न सक्छन् । 
चरम सुखको चरण– यसअघिकै यौनक्रियाको निरन्तरता हो । यौनक्रियाको चरण उच्च बिन्दुमा पुगी महिला पुरुष दुवैले अलौकिक आनन्द प्राप्त गर्छन् । यसअघिको यौन तनावबाट छुटकारा मिल्छ । यो चरण सर्वाधिक सुखको चरण भए पनि यसको सम्झना अति छोटो हुन्छ, तै पनि यसलाई सम्झँदै अन्य जीवजन्तुहरूले जस्तै मानिसहरू पनि फेरि–फेरि यौनसम्पर्क राख्न लालायित हुन्छन् । 

यो चरण श्वास प्रश्वास एवं मुटुको चालमा झन् तीव्रता आउनुका साथै जननेन्द्रिय आसपासका मांसपेशीमा संकुचन आउँछ । सफलतम चरम सुखमा महिलामा पाठेघर, योनिद्वार खुम्चिने, फुक्ने हुन्छ । पुरुषमा भने जननेन्द्रियका मांसपेशीमा अझ कडापन आउनुका साथै वीर्य स्खलन हुन्छ । वीर्य स्खलन र चरम सुख प्राप्ती एकै पटक भए पनि वीर्य स्खलनलाई मात्र चरम सुख मान्न सकिंदैन ।

रिजोलुसनको चरण– महिला पुरुष दुवैमा यौनक्रियाका क्रममा चरम सुख प्राप्तिपछि पूर्ववत् अवस्थामा फर्कन्छ । दुवै जनाको जननेन्द्रिय तथा शरीरमा आएका परिवर्तन बिस्तारै सामान्य अवस्थामा फर्कन्छ । हस्तमैथुनका बेला पनि कमै मात्रामा भए पनि वास्तविक यौनक्रियाका यी परिवर्तन देखिन्छन् । पुरुषहरू एकपटकको यौनक्रियाको चरम सुख प्राप्त गरेपछि तुरुन्तै यौनसम्पर्क राख्न असमर्थ हुन्छन्, किनभने तिनीहरू पूर्णत: आरामको स्थितिमा जान्छन् तर कतिपय महिलाहरूले भने यौन उत्तैजना कायम रहेको खण्डमा पटक–पटक चरम सुख प्राप्त गर्न सक्छन् । 

 

प्रकाशित :श्रावण ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्