ससाना कुराले पनि धेरै ठूला खुसी दिन्छन्

  • आशिरमान देशराज श्रेष्ठसँगको कुराकानी

- कृष्ण भट्टराई

श्रावण ११, २०७४-  
अहिले केमा व्यस्त हुनुहुन्छ ? 
भर्खरै चलचित्र ग्याङस्टार ब्लुजको डबिङ सम्पन्न भयो । अब यसको प्रोमोसनमा व्यस्त हुनुपर्नेछ । 

चलचित्रको ट्रेलर​बाट कस्तो प्रतिक्रिया पाउनुभयो ? 
असाध्यै सुखद प्रतिक्रिया पाइरहेको छु । दर्शकहरूले मन पराउनु त भएकै छ, ट्रेलर हेरेपछि मेरो परिवारमा समेत खुसीयाली छाएको छ । 

परिवारको खुसीयाली कस्तो पाउनुभयो ?
चलचित्रको ट्रेलरमा जसरी भ्वाइलेन्ट भूमिकामा देखिएको छु, वास्तविक जीवनमा म त्यसको ठीक उल्टो छु । आफ्नो स्वभावको विपरीत भूमिकामा प्रस्तुत हुँदा परिवारका सदस्यहरूलाई नै पत्याउन गाह्रो भएको छ । म त्यस्तो भूमिकामा प्रस्तुत भएको छु भन्ने कुरा उहाँहरूले पत्याउनुभएन । 

तपाईंको स्वभावचाहिं कस्तो छ नि ? 
असाध्यै हँसिलो स्वभावको छु । केही लजालु पनि छु, तर मायालु छु । मलाई हत्तपत्त रिस उठ्दैन । 

अभिनेत्री आना शर्मासँगको तपाईंको जोडीले कस्तो प्रतिक्रिया पाइरहेको छ ?
छायांकनस्थलमै हाम्रो केमेस्ट्री मिलेको चर्चा चलेको थियो । हाम्रो जोडीको वास्तविक मूल्यांकन भने भदौ २ गते चलचित्र प्रदर्शनमा आएपछि मात्र हुनेछ । 

चलचित्रमा आउने निर्णयचाहिं कसरी गर्नुभयो ? 
ममा केही वर्षअघि नै चलचित्रमा काम गर्ने रहर जागेको थियो । सामाजिक सञ्जालमा सक्रिय हुन थालेपछि मलाई चलचित्रबाट प्रस्ताव आउन थाल्यो । म उत्कृष्ट स्क्रिप्टको खोजीमा थिएँ । ग्याङ्स्टार ब्लुजको स्क्रिप्ट अध्ययन गरेपछि मैले यो मौका गुमाउनु हुँदैन भन्ने लाग्यो । 

अभिनयको तयारीचाहिं कसरी गर्नुभयो ? 
सुनिल पोखरेलसँग दुई साताको प्रशिक्षण लिएँ । बडी बिल्डिङका लागि जिमशाला धाएँ । नृत्यको अभ्यास पनि गरें । 

निकै अग्लो हुनुहुन्छ, के खाएर यत्रो हुनुभयो ? 
म ६ फिट साढे ३ इन्च अग्लो छु । अग्लो हुनका लागि त्यस्तो विशेष केही खाएको छैन । अग्लो कद हाम्रो वंशाणुगत गुण हो । 

अभिनय क्षेत्रमा आफ्नो भविष्य कस्तो देख्नुभएको छ ? 
राम्रा–राम्रा चलचित्रमा मात्र अभिनय गर्ने योजना छ । वर्षमा दुई वटा उत्कृष्ट चलचित्रमा अभिनय गरेर भविष्यसम्म पनि यही क्षेत्रमा सक्रिय रहनेछु । 

आफ्नो पहिलो चलचित्रको छायांकनको कुनै रमाइलो क्षण ? 
चलचित्रको छायांकनका लागि हामी सुदूर पश्चिमाञ्चलको एउटा विकट गाउँमा पुगेका थियौं । त्यहाँ हाम्रो सम्पूर्ण क्रूले एउटा सानो कोठामा बसेर झन्डै दस दिन छायांकन गरेको थियो । स–साना कुराले पनि जीवनमा कति खुसी दिँदा रहेछन् भन्ने अनुभव मैले त्यही बेला गरें । 

 

प्रकाशित :श्रावण ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्