परी मेकर्स

- जनक तिमिल्सिना

श्रावण ११, २०७४-
गुड आफ्टरनुन । वेलकम टु नेपाल एसबीआई इनटच’ दरबारमार्गस्थित नेपाल एसबीआई बैंकको भर्खरै खोलिएको इनटच काउन्टरभित्र छिर्न नपाउँदै युवतीको स्वरमा अभिवादन सुनिन्छ । वरपर हेर्दा केही देखिँदैन, यद्यपि ढोकाकै कुनामा एउटा रोबर्ट छ । नजिक पुगेर नियाल्न खोज्दा फेरि रोबर्टले चलमलाउँछ, ‘हाइ, आई एम परी । ह्वाट डु यु वान्ट टु डु ?’ 

नेपालमा व्यवसायिक प्रयोजनमा ल्याइएको यो पहिलो रोबर्ट हो । नेपाली युवाहरूको स्टार्टअप कम्पनी ‘पाइला’ले यसको निर्माण गरेको हो । पाइला टेक्नोलोजीका सिइओ हुन्— विनय राउत । उनकै नेतृत्वमा १० लाखको लगानीमा गत वर्षको दसैंलगत्तै पाइला जन्म भएको हो । त्यही पाइलाले वर्ष दिन नबित्दै ‘परी’ नामक रोबर्ट निर्माण गरेको हो । विनयले भारतको गुरु गोविन्दसिंह इन्द्रप्रस्थ युनिभर्सिटीबाटबाट आइटीमा ग्राजुएसन गरेका छन् भने लन्डनबाट एमबीए । 

बत्तीसपुतलीका विनयको नेतृत्वमा रोबर्ट निर्माण गर्ने टिमका अन्य सदस्य हुन्— पुल्चोक इन्जिनियरिङ क्याम्पसका एउटै ब्याचका विद्यार्थीहरू चितवनका दीपकमल भुसाल, गोरखाका सागर श्रेष्ठ, सीतापाइलाका रविन गिरी, काठमाडौंका नीरज बस्नेत तथा भैरहवाका वसिम अक्रम खान ।

उनीहरूले अघिल्लो वर्ष मात्र पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा ग्राजुएसन सकेका हुन् । रोबर्ट निर्माणमा काठमाडौं युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ग्राजुएसन सकेका अनिष श्रेष्ठ पनि यो समूहका सदस्य हुन् । रोबर्ट निर्माण समूहका अर्का तन्नेरी बुटवलका आयुष कसजूले भने भारतबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका हुन् । संघाईमा रहेका आयुष कम्पनीका लागि आवश्यक पर्ने चिप्स, कम्प्युटर डिभाइसलगायत प्रक्युरमेन्ट डिभिजनको जिम्मेवारी सम्हालिरहेका छन् । यसबाहेक उनी बाहिरको मार्केट सम्भावना हेर्ने र प्रविधिमा आएका परिवर्तनहरू अध्ययन गर्ने काम गर्छन् । 

सात जनाको पाइला टिम गत दसैंदेखि नेपालमै रोबर्ट बनाउने कामका सक्रिय छ । व्यवसायिक रूपमा भने ‘परी’ हाम्रो पहिलो रोबर्ट हो,’ इन्जिनियर दीपकमलले भने, ‘अब हामी वल्र्ड क्लास रोबर्ट बनाउने गरी अघि बढ्दैछौं ।’ यसअघि उनीहरूको समूहले अध्ययनका क्रममै एप्लिकेसनवाइज झन्डै एक दर्जन रोबर्ट बनाइसकेको छ ।

यसरी निर्माण भयो परी 
सन् २०१७ को अप्रिलको अन्त्यतिर एसबीआई बैंकको टिम रोबर्ट बनाउने टिमको खोजी गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पस पुग्यो । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको रोबटिक्स क्लबसँग पाइलाको टिम नियमित सम्पर्कमा थियो । रोबटिक्सका विद्यार्थीहरूले रोबर्ट बनाउन इच्छुक स्टार्टअप कम्पनीका रूपमा एसबीआई बैंकका प्रतिनिधिहरूलाई पाइलामा जान सिफारिस गरे, जुन सिफारिस व्यवसायिक रोबर्ट बनाउने अवसरको पर्खाइमा रहेको पाइला टिमका लागि ब्रेक थु्र बन्यो । 

एसबीआई बैंकको टिम नै कुपन्डोलस्थित पाइलाको अफिस पुग्यो । उसले पाइलाका एप्लिकेसन रोबर्टहरू हेर्‍यो । ‘हामीले एप्लिकेसनवाइज अटोमेटिक डेस्टिनेसनसम्म पुर्‍याउने ह्विलचेयर, अब्जेक्ट र भाषा चिन्ने, ब्याडमिन्टन खेल्ने खालका झन्डै एक दर्जन रोबर्ट बनाइसकेको थियौं,’ विनय भन्छन्, ‘यद्यपि व्यवसायिक रूपमा लगानी नपाएपछि रोबर्ट बनाउन सकेका थिएनौं ।’ एप्लिकेसन वाइज बनाइएका ती रोबर्ट हेरेपछि एसबीआईले पाइला टिमलाई विश्वास गर्‍यो । ‘बैंकमा आएका ग्राहकलाई स्वागत र बिदाइ गर्ने चिटिक्कको रोबर्ट एक महिनाभित्र तयार पार्ने कुरा गर्नुभयो,’ दीपकमलले सुनाए । 

त्यसपछि यी तन्नेरीको टिम रोबर्टको निर्माणमा जुट्यो । रोबर्टको आउट बडी डिजाइनका लागि पाइलाको समूह मूर्तिकार रवि बस्नेतकहाँ पुग्यो । रविसँग मिलेर रोबर्टको चित्र कोर्ने र माटोको डमीमा ढाल्ने काम एउटा समूहले गर्‍यो । प्रिमिटिभ म्याथडमा साँचोका रूपमा प्रयोग गरेर उनीहरूले रोबर्टको बडी बनाए । रोबर्टको मेकानिकल सिष्टम बनाउने काम एक समूहले गर्‍यो भने अर्को समूहले हार्डवेयर र सफ्टवेयर बनाउने काम गर्‍यो । यो रोबर्टमा दुई वटा कम्प्युटर, माइक्रो कन्ट्रोलर, सेन्सर आदि उपकरण प्रयोग गरिएको छ । 

‘हामीले रोबर्ट निर्माणका लागि रातदिन नभनी १५ घण्टासम्म काम गर्‍यौं,’ विनय भन्छन्, ‘त्यसैको परिणाम हो, हामीले बैंकले भनेकै समयमा रोबर्ट तयार पार्न सक्यौं ।’ रोबर्टको नामकरणचाहिँ कसरी गरियो त ? महिलाको स्वरूपमा निर्माण भैरहेको रोबर्टको बडी बनाउने क्रममा सागरले त्यसलाई ‘परी’ भनेर सम्बोधन गर्थे । पछि त्यो नाम निर्माण समूहका सबैलाई मिठास दिने खालको लाग्यो । जसका कारण उनीहरूले रोबर्टको नाम नै ‘परी’ राखे । 

साढे ३ फिट अग्ली परीको वजन ८ दशमलव २ केजी छ । परीलाई चलायमान बनाउन ढोकामाथि राखिएको मोसन सेन्सरले व्यक्ति भित्र बाहिर जान लागेको डिटेक्ट गर्छ भने परीमा जडान गरिएको सेन्सरले व्यक्ति नजिक आएको डिटेक्ट गर्छ । विद्युत्बाट चल्ने परीमा निलो र सेतो रंग निकै आकर्षक देखिन्छ । 

परीले कस्टमर भित्र छिर्दा गुड मर्निङ/गुड आफ्टर नुन, गुड इभनिङ—वेलकम टु एसबीआई बैंक नेपाल भन्छ । कस्टमर रोबर्टको नजिक गए मान्छे डिटेक्ट गर्छ र, ‘हाइ आइ एम परी ह्वाट डु यु वान्ट टु डु ? तपाईं आज के गर्न चाहनुहुन्छु ?’ भनेर प्रश्न गर्छ । त्यसपछि बैंकले सिकाउन खोजेको मेसिनको अप्सन रोबर्टमा जोडिएको स्क्रिनमा आउँछ । आफूले जान्न खोजेको इन्फर्मेसनमा थिचेर भाषा छनौट गर्नुपर्छ र रोबर्टले कस्टमरले छानेको भाषामा गाइड गर्छ । फर्कंदा भने रोबर्टले ‘थ्याक्यु, फर योर भिजिट । सियु सुन । वाइ वाइ ।’ भन्छ । परीभित्र मधुर स्वरमा गुन्जिने वास्तविक परी भने ज्योत्सना मरासिनी हुन् । उनले भौतिक रोबर्टलाई आफ्नो स्वर दिएकी हुन् । 

जिम्मेवारी दिइएको भन्दा धेरै फिचर भएको आकर्षक रोबर्ट बनाएपछि एसबीआई बैंकले पाइलासँग थप बैंकिङ फिचरसहितको दोस्रो रोबर्ट बनाउने सम्झौता गर्ने तयारी गरेको छ । ‘त्यो अटोमेटिक रोबर्ट हुनेछ,’ विनयले भने, ‘अहिलेको भन्दा समृद्ध । यसका लागि आधुनिक ल्याब पनि निर्माण गर्दैछौं ।’ त्यसैका लागि पाइलाका ‘परी मेकर्स’हरू ६ देखि ८ महिनाभित्र मान्छेले जस्तै काम गर्ने आधुनिक रोबर्ट डेलिभर दिने तयारीमा छन् । यसअघि परम्परागत प्रविधीमा बनाइए पनि अबको रोबर्ट भने थ्रीडी प्रिन्टिङ र लेजर कटिङको मोर्डन वयमा निर्माण गरिने उनीहरूका भनाइ छ । लगानी बढी लाग्ने भएकाले थप रुचि भएका व्यवसायिक समूहलाई पनि उनीहरूले अप्रोच गर्दैछन् । वल्र्ड क्लासको हुने भनिएको नयाँ रोबर्टमा अटोमेटिक नेभिगेसन, कम्प्युटर भिजन, नेचुरल ल्याङवेज रिक्नाइजिन एन्ड सेन्थेसिस गरी तीनवटा फिचर हुनेछन् । 

पाइलाको कथा
पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहपाठीहरू दीपकमल भुसाल, सागर श्रेष्ठ, रविन गिरी, निरज बस्नेत तथा वसिम अक्रम खान रोबटिक्समा नेपालमै केही गर्न चाहन्थे, तर उनीहरूले कुनै त्यस्तो योजना बनाउन सकिरहेका थिएनन् । विनय सन् २०१४ मा लन्डनबाट मार्केटिङ एन्ड म्यानेजमेन्टमा मास्टर्स सकेर नेपाल फर्किए । सन् २०१६ मा उनले घरजग्गाको लिस्टिङ गर्ने ‘घरसंसार’ नामक स्टार्टअप सुरु गर्ने योजना बनाए । त्यसैको लोगो डिजाइनका लागि कसैले वसिम अक्रम खानलाई सुझाइदियो । नोभेम्बरमा त्यसैको सिलसिलामा उनी वसिमलाई भेट्न पुल्चोक पुगे । त्यही क्रममा वसिमसहितको पाँच जनाको समूहसँग उनको अन्तक्र्रिया हुन थाल्यो । इन्जिनियरिङ अन्तिम वर्ष पढिरहेका ती ठिटाहरूको जोस र क्षमता देखेपछि विनयले रोबटिङसहित टेक्नोलोजीमा सँगै काम गर्न प्रस्ताव गरे । 

वसिम र दीपकमलहरूलाई पनि उक्त प्रस्ताव मन पर्‍यो । ‘रोबटिङमा नेपालमै केही गर्न चाहन्थ्यौं, स्टार्टअप सुरु गर्ने सोचिरहेका थियौं,’ दीपकमल भन्छन्, ‘उहाँले प्रस्ताव राखेपछि हामी खुसी भयौं ।’ पुल्चोकबाट पाँचै जनाले ग्राजुएसन सकेपछि २०७३ को तिहारलगतै उनीहरूले टेक्नोलोजी स्टार्टअप कम्पनी ‘पाइला’ सुरु गरे । सबै मिलाएर स्टार्टअप सुरु गर्दा उनीहरूको लगानी १० लाख पुग्यो । ‘हामीले सुरुमा तलबै नलिई १६ घण्टासम्म काम गर्‍यौं,’ विनयले भने, ‘हामीले स्टाफ नै नराखी काम गर्‍यौं ।’ अहिले भने पाइला परिवारमा १२ जना पुगेका छन् ।

उनीहरूको टेक्नोलोजी कम्पनी पाइलाले सुरुमा ठूलो लगानी लाग्ने भएपछि रोबटिङमा काम गर्न सकेन । बरु, कम्पनीलाई फाइनान्सियल रुपमा दह्रो बनाउन उनीहरूले अटोमेटिक धारा बनाएर बजारमा ल्याए, जसले उनीहरूका लागि आर्थिक ब्याकग्राउन्डमा केही मद्दत गर्‍यो । अटोमेटिक धारा वायरवालाको ६ हजार ५ सयदेखि ८ हजारसम्म पर्छ भने वायरलेस १४ हजारदेखि १८ हजार ५ सयसम्म पर्छ । ‘एक वर्षभित्र ब्रिगियो भने रिप्लेस गरिदिने सुविधा पनि हामीले दिएका छौं,’ विनय भन्छन् ।
उनीहरूले उधोगहरूमा प्रयोग हुने अर्को प्रविधि पनि बनाए—भेरिएबल फिक्वेन्सी ड्राइभ (भिएफडी), जसको काम उद्योगमा प्रयोग हुने सबै प्रकारका मेसिनको स्पीड कन्ट्रोल गर्ने हो । यो मेसिन नेपालमा बन्दैंन्, अहिले भारत र चीन आदि देशबाट आयात गरिन्छ । भिएफडीलाई दुई महिनापछि बजारमा ल्याउने तयारी उनीहरूको छ । विदेशमा बनाइएका यस्ता मेसिनमा पैसा बढी लिन अनावश्यक फिचर समेत थपिएको हुने र आफूहरूले सस्तोमा राम्रा फिचररहेका मेसिन बजारमा ल्याउन लागेको उनीहरूको दाबी छ । यी दुई टेक्नोलोजीका कारण गत वैशाखमा भृकुटीमण्डपमा सम्पन्न १३ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा उनीहरूले वेस्ट इन्डस्ट्री टेक्नोलोजी एवार्डसमेत हात पारेका थिए । 

प्रकाशित :श्रावण ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्