सामाजिक सञ्जालका समाचार कत्तिको विश्वसनीय लाग्छन् ?

- साप्ताहिक संवाददाता

श्रावण १०, २०७४-
शतप्रतिशत विश्वास त गर्दिनँ र गरिहाल्नु पनि हुँदैन । सरकारी अनुमति लिएका अनलाइन तथा अनुमोदित स्रोतबाट आएका खबरहरूमा भने सत्यता हुन्छ । 
- रोशन प्रसाईं, विज्ञापन व्यवसायी

अनलाइन धेरै भएका कारण कतिपय समाचार झूटा र कपोलकल्पित पनि हुन्छन् । त्यसैले बिग मिडियाबाट आउने समाचारमा मात्र विश्वास गरिन्छ ।
- सिर्जु बराल, मोडल

अहिले सामाजिक सञ्जाल र अनलाइन मिडियाको प्रभाव अत्यधिक छ । पूरै विश्वास गर्न नसके पनि उनीहरूको प्रस्तुतिका कारण हेर्न–पढ्न मन लागिहाल्छ । यसरी अनलाइन र सोसल मिडियाको नकारात्मक प्रयोग गर्नेहरूको बिगबिगी हुँदा सत्य–असत्य छुट्टयाउन गाह्रो छ ।
- शान थापा, डिजाइनर

आफ्नो साइटको भ्युज बढाउन अनलाइन र सामाजिक सञ्जालमा कतिपय उडन्ते समाचार पनि हालिन्छ । अनलाइन र सामाजिक सञ्जालमा आउने समाचार सत्य हो कि होइन भनेर विश्वास गर्न अन्य माध्यमबाट भेरिफाई गर्नैपर्छ, यद्यपि अहिले छिटो समाचार प्राप्त हुने स्रोत अनलाइन र सामाजिक सञ्जाल नै भएका छन् । 
- शारदा थापा, समाचारवाचिका

सबै अनलाइन र सामाजिक सञ्जाल समाचारको स्रोत हुनसक्छन्, तर त्यसको विश्वसनीयताका लागि विश्वसनीय अनलाइनहरूमा गएर क्रसचेक गरिन्छ । यसको अर्थ सामाजिक सञ्जाल तथा अनलाइनमा आउने सबै समाचारमा शतप्रतिशत विश्वास गरिँदैन भन्ने नै हो ।
- तेञ्जिङ शेर्पा, इभेन्ट आयोजक

कहाँ लाग्नु ? लाग्दैन नि ।
- गौरव पहारी, अभिनेता

अचेल त विश्वास लाग्छ । हरेक समाचार वा घटना थाहा पाउने पहिलो स्रोत नै अनलाइन र सामाजिक सञ्जाल भएका छन् । 
- उषा खड्गी, मिस नेपाल– २०००

सन्दर्भ ठीक हुन्छ, तथ्य प्राय: हावादारी लाग्छन् ।
- सुरक्षा पन्त, अभिनेत्री

हालसालैका धेरै समाचार हेर्दा विश्वास लाग्न छाडेको छ । उल्टोपाल्टो पारिएका, बढाइचढाइ गरिएका समाचारहरू हालिएको पाइन्छ, तर केही विश्वसनीय पनि छन्, जसले सही जानकारी दिएका छन् ।
- मोहित मुनाल, संगीतकर्मी

धैरैजसो विश्वसनीय नै हुन्छन्, तर उत्ताउला, उरन्ठेउला शिर्षक भएका समाचारचाहिँ फेक नै लाग्छन् ।
- नीराजन प्रधान, अभिनेता

ठीकै लाग्छन् । 
- लक्ष्मी बस्नेत, अभिनेत्री
जमाना भाइरलको छ । सामाजिक सञ्जालमा जे लेखे पनि, जे राखे पनि शरीरमा भाइरस फैलिए जस्तो गरेर समाचार फैलिन्छ । भाइरसले शरीरलाई जसरी असर गर्छ, भाइरल भएर फैलिएको समाचारले पनि समाजलाई त्यसरी नै असर गर्छ । त्यही भएर विश्वास गर्नुभन्दा अघि भाइरललाई निको पार्ने औषधि खोज्छु म त । पत्रपत्रिका वा अन्य स्रोतबाट पुष्टि भएपछि मात्र विश्वास गरिन्छ सामाजिक सञ्जालका कुराको ।
- विजय अधिकारी, चलचित्र लेखक

केहीको लाग्छ, केहीको लाग्दैन ।
- प्रदीप भट्टराई, निर्देशक

कतिपय विश्वास लायक समाचार पनि हुन्छन्, तर धेरै गलत उद्देश्यले फैलाइएका हुन्छन् । सामाजिक सञ्जालमा कसैले कुनै गलत खबर फैलायो भने पनि सबै त्यसकै पछि दौडिन्छन् । आफ्नो कान नै नछामी कागको पछाडि दौडिए जस्तो ।
- अप्सरा घिमिरे, गायिका

खासमा अनलाइन तथा सामाजिक सञ्जालमा आउने समाचार, समाचारका लागि लेखिएका हुँदैनन् । गुगलबाट कमाउ धन्दाका लागि कपिपेस्ट गरी जथाभावी हेड लाइन राखिएको हुन्छ । त्यस्तालाई कसरी विश्वास गर्नु ? अपुष्ट समाचारको पोको नै हो अनलाइन र सामाजिक सञ्जाल तसर्थ मलाइ त १० प्रतिशत जति मात्र विश्वास लाग्छ ।
- जनकदीप पराजुली, निर्देशक

समाचारको बिउमा विश्वास लाग्छ, तर टुसाहरूचाहिँ ९० प्रतिशत नै हावादारी लाग्छन् ।
- नरेश पौड्याल, निर्देशक

५०/५० प्रतिशत । शतप्रतिशत विश्वास गर्न पत्रिका नै हेर्छु ।
- सिर्जना सुब्बा, नाट्यकर्मी

मेरो व्यक्तिगत विचारमा समाचारलाई सकारात्मक ढंगबाट लिइयो भने त्यो राम्रै लाग्नसक्छ, नकारात्मक ढंगबाट लिइयो भने त्यो गलत नै हुन्छ ।
- सुनील थापा, अभिनेता

ठूला मिडियाको समाचारमा मात्र विश्वास लाग्छ ।
- राम पाण्डे, टेलिभिजनकर्मी

सबै झूटा हुन्छन् । तिनमा शून्य प्रतिशत पनि सत्यता हुँदैन । 
- सुनिल रावल, निर्माता

केही विश्वास त लाग्छ, नहेरे चित्तै बुझ्दैन ।
- किशोर घिमिरे, गीतकार 

 

प्रकाशित :श्रावण १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्