चिन्ने हो यी “धनपति”लाई ?

- किशोर नेपाल

श्रावण १०, २०७४- 

जुन बिहान म बत्तीसपुतलीको हाइल्यान्ड कफी पसलमा ‘धनपति’सँग कफी गफमा रमाउँदै थिएँ त्यो शुभ दिन रहेछ, उनको जन्मदिन । उनी क्याजुअल ड्रेसमा थिए । नांगो आँखाले सरसरी हेर्दा मात्र त सिनेमाको हिरो भन्न पनि नसुहाउने एउटा लिखुरे केटो, तर दृष्टिको उज्यालोमा नियालेर हेर्दा उनको व्यक्तित्व अलग थियो । एउटा परिपक्व युवक, सुन्दर शब्दका संयोजक, गम्भीर हास्यमा करुणा उनेर दर्शकको ताली पाउने तन्नेरी नायक । यी थिए— खगेन्द्र लामिछाने । तीनवटा सिनेमाको पटकथा लेखेर, अभिनय गरेर, दर्शकलाई मुग्ध पार्ने आफ्नो क्षमता स्थापित गरेका हिरो । 

नाटक र अभिनयको संसारमा रमाए पनि सिनेमा खगेन्द्र लामिछानेको सपना होइन । उनले सिनेमामा अभिनय गरौंला भन्ने आकांक्षा कहिल्यै राखेका थिएनन् । पहिलो चयनमा उनी लेखक बन्न चाहन्थे । सानैदेखि कथा–कहानीमा रुचि थियो उनको । तर, अहिले उनी लोकप्रिय अभिनेताका रूपमा स्थापित भएका छन् । टलकजंग भर्सेस टुल्केपछि पशुपतिप्रसाद र अहिले धनपति । उनका तीनवटै सिनेमा दर्शकले रुचाएका छन् । नेपाली समाजले खोजेको स्वस्थ मनोरञ्जन प्रदान गर्न खगेन्द्र कस्सिएर लागेका छन्, तर अहिले पनि उनको मन लेखनतिरै तानिएको छ । 

उनी भावाभिभूत भएर भन्दै थिए, ‘पछिल्लो समयमा म आफैंले आफैंसँग प्रश्न सोध्न थालेको छु— म लेखक हुँ कि कलाकार ? मेरो लेखक व्यक्तित्वमा अहिले कलाकार हाबी भएको छ । म सिनेमाको मानिस थिइनँ । आईए पढदा नै मैले धनी र गरिबको कथा लेखिसकेको थिएँ । धनी र गरिबको कथा । मलाई मानिसले पाएका दु:खका घटनाले ‘टच’ गथ्र्यो । समाजलाई बढी खोतल–खातल गरेर प्रस्तुत गर्न सक्छु भन्ने 

लाग्थ्यो मलाई ।”

ग्रामीण परिवेशमा हुर्किएका खगेन्द्रको गाउँ हो— स्याङ्जाको बगालथोक । बगालथोकको समाज मिश्रित छ । सबै जातजातिका मानिस अटाएका छन् गाउँमा । सिद्धार्थ राजमार्गको छेउमा रहेको यो गाउँको परिवेश रमाइलो थियो, तर खगेन्द्रले पढ्ने स्कुल थिएन त्यहाँ । उनलाई पढ्न आउनु थियो पोखरा । त्यसपछि काठमाडौं । सिद्धार्थ राजमार्गले पोखरालाई भारतीय सीमा सुनौली–नौतनवासँग जोड्छ । स्थानीय चलन र राजमार्गको प्रभावका हिसाबले खगेन्द्र शिक्षाका लागि भारततिरै लाग्नुपर्ने हो, तर काठमाडौंमा थियो खगेन्द्रको मन । उनका पिताले यतै पढाउने व्यवस्था मिलाइदिनुभयो । पिता किसान हुनुहुन्थ्यो । त्यसका अतिरिक्त एउटा सानो किराना पसल पनि थियो परिवारको ।

काठमाडौंभन्दा पहिले उनी पोखरामा थिए शिक्षाका लागि । त्यहीं कुनै साथीले सोध्यो, ‘खगेन्द्र, नाटक खेल्ने हो ?’ 

नाटक खेल्ने ? अहिलेसम्म हेरेको त छैन, कसरी खेल्ने ? कसरी गर्ने अभिनय ? तर उनले नाइँ भनेनन् । रिहर्सलका बेला अलौकिक अनुभूति भयो उनलाई । मानिसहरू खुसी खोज्न अनेकतिर भौंतारिन्छन् । मैले आफ्नो हातमा आएको यो खुसी किन प्राप्त नगर्ने ?

त्यसपछि सुरु भयो, नाटक संसारका मूर्धन्य व्यक्तित्व अनुप बरालसँग नाटक प्रशिक्षण । अनुपले उनलाई प्रोत्साहित गरे । धेरै कुरा बताए नाटकका बारे । आफ्ना कलाकार पिता दुर्गा बरालको स्टुडियोलाई नाटक प्रशिक्षण केन्द्र बनाएर सुरु गरेका थिए अनुपले काम । खगेन्द्रले अनुपसँग ६ महिना नाटक खेल्ने तालिम लिए । अभिनय सिके र नाटकका अन्य शिल्पहरूको पनि ज्ञान प्राप्त गरे । नाटकमा लागेपछि उनले बालकृष्ण समका नाटकहरूका बारेमा ज्ञान प्राप्त गरे । त्यसपछि आए उनी काठमाडौं ।

काठमाडौंमा उनी सुनिल पोखरेलको संगतमा थिए । दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाका गोल्डमेडलिस्ट सुनिलसँगको संगतले उनको जीवनमा राम्रै ट्विस्ट ल्यायो । प्रतिभाको पहिचान एकै दृष्टिमा गर्न सक्ने सुनिलले खगेन्द्रको प्रतिभा नठम्याउने त कुरै थिएन । सुनिलले प्रतिभाशाली खगेन्द्रलाई नाटकका थप कुरा सिकाए । उनलाई आरोहण राष्ट्रिय नाटक प्रतियोगितामा भाग लिन लगाए । एउटा ‘पीडा गीत’ तयार पारेका थिए खगेन्द्रले । त्यसबाहेक अर्को नाटक थिएन उनीसँग । जनयुद्धका कारण विस्थापित भएका नेपालीको करुण कथा थियो समेटिएको थियो नाटकमा । उनको यो नाटक उत्पादन गर्न खर्च पनि खासै लाग्दैनथ्यो । एकल नाटक थियो ।

रिहर्सल एक्लै गर्थे । २ हजार ५ सय रुपैयाँ पर्याप्त हुन्थ्यो प्रोडक्सनका लागि, तर उनीसँग त्यति पैसा पनि थिएन । उनले आफ्ना अभिन्न मित्र पुष्पराज आचार्यसँग पैसा सापटी मागे । मित्रले खगेन्द्रलाई २ हजार ५ सयको ठाउँमा ७ हजार ५ सय रुपैयाँ दिंदै भने, नाटककै सन्दर्भमा यो पैसा चाहिने हुन सक्छ । यो पैसा राख । उक्त घटना दुई मित्रका बीचको भावात्मक समय थियो । पीडा गीतको रिहर्सलको अन्तिमतिर सुनील त्यो नाटक हेर्न आए । खगेन्द्रको कामबाट उनी यति प्रभावित भए कि उनका आँखाबाट आँसु आए । उनी खुसी थिए । खगेन्द्रले उनको चाहनालाई मूर्त रूप दिएका थिए । नाट्य विधामा जो गम्भीर प्रकृतिका निर्देशक हुन्छन् ती ज्ञान र भावनाका हिसाबले निकै उच्च तहका हुन्छन् । 

पोखराबाट काठमाडौं आउँदा काठमाडौंसँग ‘लड्ने मुड’ लिएर आएका थिए खगेन्द्र । वर्ष थियो २०५७ साल । काठमाडौं सहजै पार लगाउन सकिने सहर होइन जस्तो लाग्थ्यो उनलाई । थियो पनि काठमाडौं त्यस्तै । त्यतिबेला पनि अहिलेजस्तै भीडभाड, धक्कामुक्का, तानातान त थियो नै, तर यी प्रतिकूलता हुँदाहुँदै पनि अवसरहरू काठमाडौंमै केन्द्रित थिए । ती अवसर प्राप्त गर्न सजिलो थिएन । दौड थियो । दौडमा लड्यो, पछारियो भने त मानिस लडेको लड्यै हुन्छ । खगेन्द्र यी सबै कुरा सोचेर पसेका थिए काठमाडौं । उनले आफना तिघ्रा नकाँप्ने र बलियो बनाएका थिए । खगेन्द्रले २००७ मा बीबीसीमा जागिर खाए । २०१३ मा छाडे । उनी जागिर छाडने मनस्थितिमा पुगिसकेका थिए । बीबीसीको नाटक प्रोजेक्ट सकिइसकेको थियो । 

खगेन्द्रले बीबीसीमा जागिर नखाँदै लभ गर्न सुरु गरेका थिए । पूरै आठ वर्ष चलेपछि अहिले त्यो लभ स्थिर भएको छ । जोडीको जीवनको गाडी चल्न थालेको छ । खगेन्द्रमा स्वाभिमान र संवेदना दुवै छ । आफ्ना पितासँगको सम्बन्धलाई सम्भिँmदै उनी भन्छन्, ‘मलाई हुर्काउने र पढाउने काममा बाले रिन पनि बेहोर्नुपरेको रहेछ । अब विदेश गएर पैसा कमाउँछु र रिन तिर्छु भन्दा बाले सम्झाउनुभयो— यो मैले लिएको रिन हो । म बेहोरुँला । भएनछ भने सम्पत्ति छँदैछ, बेचेर तिरुँला । हरेक छोराका बाबु–आमा मरेर जान्छन् । यो क्रम निरन्तर चलिरहन्छ ।’

खगेन्द्र भन्छन्, जीवनमा खासै डाइभर्सिफिकेसन छैन : कि फर्मूला, कि प्रयोग । प्रयोग गर्न उनी ओस्ताद छन् । किसानका छोरा हुन्, च्याउ उमार्न र सुन्तला फलाउन छोडेका छैनन् । जीवन कहिले पनि दु:खान्त हुँदैन, तर सिनेमालाई दु:खान्त चाहिन्छ । 

 

प्रकाशित :श्रावण १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्