खाल्डो पुराण

- मनोज गजुरेल

श्रावण ९, २०७४-

यो साता देश खाल्डोमय भएको छ । खाल्डोमा एउटी बालिका खसेको भिडियो सार्वजनिक भएपछि खाल्डो अझ चर्चित भयो । त्यो ह्दयविदारक भिडियोले धेरैलाई रुवायो पनि । जनता रोएको भिडियो सार्वजानिक भएपछि बल्ल प्रधानमन्त्रीको नजर पुुग्यो अनि उहाँले तमाम खाल्डो पुर्ने आदेश दिनुभयो ।
खाल्डो खन्ने आदेश जसले दियो, त्यो सानोतिनो मान्छे पक्कै होइन । वर्षामा पानी पर्छ भन्ने कुरा पनि थाहा थियो होला उसलाई । काठमाडौंमा वर्षे पानीको निकास हुँदैन भन्ने पनि ज्ञान थियो होला । निकासविहीन पानी खाल्डामा पर्छ भन्ने जानकारी पनि पक्कै थियो । विकल्पविहीन जनता त्यो खाल्डोमा खस्ने खतरा पनि छ भन्ने बुद्धि पनि पक्कै होला । 

तैपनि मध्यवर्षामा पर्ने गरी खाल्डो खनेर पहिलो मुख्र्याइँ भएको छ । दोस्रो, खाल्डो पुर्न प्रधानमन्त्रीकै आदेश आउनुपरेको छ । तेस्रो, फेरि खन्नुपर्छ भन्ने जान्दाजान्दै भटाभट पुर्न थालिएको छ । पूर्ण योजनाबिनै खनिएको छ । त्यसरी नै पुरिंदैछ । यो खाल्डो पुरेको होइन, टालटुल मात्र गरिएको गजुरियल ठम्याइ छ ।

आज प्रधानमन्त्रीको आदेश आयो, खाल्डो पुर्ने काम सुरु भयो । भोलि राष्ट्रपतिको आदेश आउँछ, खन्ने काम सुरु होला । त्यसपछि गृहमन्त्रीको आदेश आउला, खाल्डोको सुरक्षाको कुरा आउला । राष्ट्रपतिको आदेशमा एक भएर जाने कुरा आउला । अन्तिममा सर्वोच्च अदालतको आदेश आउला, त्यसपछि पुर्ने र खन्ने दुवै काम गर्ने होला ।

यसरी अघि बढ्दै जाँदा खाल्डो एउटा हिन्दी टेलिश्रृंखलाजस्तो होला, जुन कहिल्यै टुंगिँदैन । जे होस्, हामी अहिले खाल्डोको पहिलो श्रृंखलामै छौं । अहिलेलाई प्रधानमन्त्रीमा मात्र सीमित छ खाल्डो । यसलाई पनि सौभाग्य नै मान्नुपर्छ । 

प्रधानमन्त्रीको आदेशपछि खाल्डो पुर्ने काम धमाधम भैरहेको छ । खाल्डो पुर्ने धमाधम हेर्दा लाग्छ, केही दिनभित्रै काठमाडांै खाल्डो पूरै पुरिनेछ । काठमाडौं नै पुरियो भने उपत्यकावासी पनि खाल्डोमा पुरिने भए । त्यसपछि प्रधानमन्त्रीले सम्भवत: अर्को अर्को आदेश जारी गर्नुहुनेछ, पुरेका खाल्डाहरू तुरुन्त खन्नू अनि काठमाडौं पुन: उत्खनन हुनेछ ।

खाल्डो पुर्ने आदेश तब मात्र आएको थियो, काठमाडौंमा खाल्डोले एक जनालाई खाएको थियो भने अर्कीलाई जनताले जोगाएका थिए । खाल्डो पुर्ने काम कसको हो, त्यो त्यसैलाई थाहा होला । हामीलाई थाहा भएको कुरा के हो भने खाल्डोका सम्बन्धमा प्रधानमन्त्रीको आदेश आएपछि मात्र काम सुरु हुँदो रहेछ । अब उठ्ने गम्भीर प्रश्न हो, जाबो खाल्डो पुर्न प्रधानमन्त्रीकै आदेश चाहिने हो कि खाल्डो पुर्न जाबो प्रधानमन्त्रीको आदेश चाहिने हो ?

खैर, खाल्डो पुर्ने काम चलिरहेको छ, तर खाल्डो पुरकहरूको तदारुकता देख्दा पुर्ने होइन, छोप्ने खतरा छ । किनभने प्रधानमन्त्रीले १५ दिनको आदेश दिनुभएको छ । यति धेरै खाल्डा पुरेर सकेनन् भने छोपेर भए पनि त काम चलाउनुपर्‍यो । काम छिटो गर्नु छ, किनभने प्रधाममन्त्रीको आदेश छ । तलबाट झ्यासझुस हालेर माथिबाट माटोले छोपछाप पार्न बेर छैन ।

मानौं प्रधानमन्त्रीको आदेशअनुसार खाल्डो पुरेछन् भने पनि फेरि खाल्डो खन्ने आदेश आउने खतरा छ । किनभने यहाँ खन्ने र पुर्ने काम कुनै योजनाअनुसार हुने गरेकै छैन । खासमा खाल्डो उपत्यवासीलाई पानी ख्वाउन खनिएको हो । अहिले मेलम्चीको काम नसकी पुरियो भने मेलम्चीका तर्फबाट जलस्रोतमन्त्रीको आदेश आउनेछ— तुरुन्त खाल्डो खन्नू । 

मन्त्रीको आदेशपछि कर्मचारीहरूले पुन: खाल्डो खन्न सुरु गर्नेछन् । खाल्डो खनिसक्न पाएको हुँदैन, सडकपीडितहरूको आक्रोश बढ्नेछ, किनभने खाल्डो खन्दा पनि पुर्दा पनि सडकले समस्या बेहोर्नुपर्ने हुन्छ ।

यातायात मन्त्रीले तुरुन्त सडक निर्माण गर्न आदेश दिनेछन् । मन्त्रीको आदेशपछि सडक विभागका कर्मचारीहरू पिच गर्न थाल्नेछन् । पिच गरेर आधाउधि पुगेपछि ऊर्जामन्त्रीको आदेश आउनेछ । सडकनजिकको बस्तीमा बिजुली बाल्नुपर्ने भएकाले तुरुन्त पोल गाड्ने । त्यसपछि प्राधिकरणका कर्मचारीहरू पिच खन्न थाल्नेछन् ।

यसरी खन्ने, पुर्ने, गाड्ने र छाड्ने काम निरन्तर भैरहेको थियो, भैरहेको छ र भैरहनेछ । यसको स्थायी समाधानको योजना ल्याउन पो आदेश दिने कि प्रधानमन्त्रीज्यू ? 

 

प्रकाशित :श्रावण ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्