साउने सोमबारको महत्त्व

- साप्ताहिक संवाददाता

श्रावण ९, २०७४

 साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवपूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् ।

यो महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । 

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्— साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ ।

दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ । साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ । शिव पुराणअनुसार शिव स्वयं जल हुन् । भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् । 

हाम्रा महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ । श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन् । चन्द्रमा भगवान् शिवको मस्तकमा शोभायमान छन् । जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेपछी साउन महिना सुरु हुन्छ । सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्छन्, यसकारण सूर्य कर्कट राशिमा 

आएपछि वर्षा हुन्छ र यसले शिवलाई प्रसन्न तुल्याउँछ ।  

 

प्रकाशित :श्रावण ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्