नेपालको बिर्सनलायक प्रदर्शन

- साप्ताहिक संवाददाता

श्रावण ८, २०७४- 

केही प्रतियोगिता यस्ता हुन्छन्, जसमा गरिएको प्रदर्शन बिर्सनलायक हुन्छ र त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने हुन्छ । एएफसी यू–२३ च्याम्पिनसिप छनौट प्रतियोगिता पनि नेपालका लागि एउटा यस्तै अनुभव रह्यो । प्रतियोगिताका सन्दर्भमा सुरुदेखि नै विवाद देखिएको थियो र त्यो विवाद अन्त्यसम्मै पनि जारी थियो । त्यतिबेला सबैभन्दा ठूलो विवाद छनौट खेल्ने टिमको प्रशिक्षक को हुने भन्ने विषयमा थियो । 

सुरुमा प्रशिक्षणको जिम्मा मेघराज केसीले लिने भनिएको थियो तर छनौट सुरु हुनुभन्दा एक महिना कम समय रहँदा केसीले उक्त जिम्मेवारी सम्हाल्न अस्वीकार गरे । त्यसपछि पनि केही प्रशिक्षकले टिम सम्हाल्ने प्रस्ताव अस्वीकार गरेपछि अन्तमा टिम राजुकाजी शाक्यको जिम्मा लगाइयो । 

नेपाल छनौटको समूह ‘डी’ मा परेको थियो र उक्त समूहमा आयोजक युनाइटेड अरब इमिरेट्स (युएई) सँगै उज्वेकिस्तान र लेबनान थिए । युएई र उज्वेकिस्तान एसियाली फुटबलकै शक्ति मानिन्छन् । पछिल्लो समय लेबनानले पनि एसियाली फुटबलमा राम्रो प्रदर्शन गरिरहेको छ । त्यसैले पनि अधिकांश प्रशिक्षकले सम्भावित खराब नतिजाको जिम्मेवारी बोक्ने साहस देखाउन सकेनन् । सम्भवत: शाक्य यो कामका लागि बाध्य बनाइए । उनले नेपालको विपक्षमा देखिएको नतिजामा कुनै प्रकारको फरक पनि ल्याउन सकेनन् । विवाद टिमको तयारीलाई लिएर समेत थियो । तयारीका लागि एक महिनाभन्दा कम समय मात्र उपलब्ध थियो र त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पर्याप्त उदासीनता देखाएको थियो । 

त्यसबाहेक अर्को समस्या के थियो भने प्रशिक्षक राजुकाजी शाक्यले खुलेर खेलाडी छान्न नपाउनु । घरेलु प्रतियोगिताका कारण राम्रा मात्र होइनन्, फिट खेलाडीको पनि अभाव थियो । यिनै कारणले प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर देखिनुलाई अहिले आलोचनाभन्दा पनि सुधारको अवसरका दृष्टिले हेर्न थालिएको छ । 

नेपालको पहिलो खेल युएईविरुद्ध थियो र त्यो खेल नेपालले ५–० ले गुमायो । उक्त खेलमा नेपालको डिफेन्स निकै कमजोर देखियो । जतिले त्यो खेल हेरे, सबैको प्रतिक्रिया थियो— नेपाली डिफेन्समा ठूलै प्वाल परेको थियो र त्यसबाट युएईले लगातार फाइदा उठायो । त्यसपछि प्रशिक्षक शाक्यले टिम संरचनामा केही परिवर्तन त गरे, तर त्यसले उज्वेकिस्तान विरुद्धको खेलमा हार टार्न सकेनन् । नेपालले उज्वेकिस्तानविरुद्धको खेल २–० ले गुमायो । टिमको प्रदर्शनमा केही सुधार त देखियो, तर त्यो पर्याप्त थिएन । यस्तोमा अन्तिम खेल अघि नै अर्को चरणमा पुग्ने नेपालको सम्भावना समाप्त भयो । नेपालका लागि लेबनान विरुद्धको खेल औपचारिक मात्र रह्यो । लेबनान पनि आफ्ना सुरुआती दुई खेल गुमाएर अन्तिम खेल अगाडि नै प्रतियोगिताको छनौट सम्भावनाबाट बाहिरिएको थियो । 

 

प्रकाशित :श्रावण ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्