फरक शैलीका गीत गाउने दिकी

- कृष्ण भट्टराई

श्रावण ८, २०७४-

कक्षा ५ मा अध्ययरत छँदै विद्यालयको सांगीतिक कार्यक्रममा कवितालाई गीतको स्वरूप प्रदान गरेर चर्चामा आउने एउटी बालिका यतिबेला नेपालमा मात्र होइन अमेरिकामा समेत गायिकाकै रूपमा स्थापित छिन् । उनी हुन्— २६ वर्षीया दिकी उक्याब । ताप्लेजुङको ओलाङचुङगोला पुख्र्यौली थलो भए पनि उनी अमेरिकामा जन्मिइन् । यद्यपि कक्षा ४ देखि ६ सम्मको अध्ययन उनले काठमाडौंमै गरिन् । त्यसपछिको अध्ययन अमेरिकामा गरेकी दिकीले त्यहाँ प्लस टु गर्ने क्रममा वेस्टर्न क्लासिकल म्युजिकलाई मुख्य विषय बनाइन् भने विद्यालयका कार्यक्रममा गीत–संगीतसमेत प्रस्तुत गरिन् । कार्यक्रममा अंग्रेजी गीत गाए पनि उनको मनमा नेपाली गीत गाएर नेपालीहरूकै मन जित्नुपर्छ भन्ने भावना सानैदेखि थियो । 

झन्डै एक दशकअघि उनको भेट संगीतकार न्ह्यू बज्राचार्यसँग भयो, जो सांगीतिक कार्यक्रमका क्रममा अमेरिका पुगेका थिए ।

बज्राचार्यसँगको भेट नै उनको सांगीतिक यात्राको पहिलो खुड्किलो बन्न पुग्यो । नेपालका स्थापित संगीतकारको संगतमा दिकीले काठमाडौं आएर पहिलो गीत मात्र होइन, पहिलो गीति एल्बम नै रेकर्ड गराउन सफलता प्राप्त गरिन् । उक्त एल्बमका सबै गीत दुर्गालाल श्रेष्ठले रचना गरेका थिए । सन् २०१० मा सार्वजनिक भएको उनको पहिलो एल्बम ‘सिल्भर लाइनिङ’ ले श्रोताहरूको मन जित्यो । उक्त एल्बमसहित केही गीत हिट्स एफएमका थुपै्र विधामा मनोनीत समेत भए । युट्युबको प्रचलन अहिलेको जस्तो नभएकाले उनले त्यति बेला आफ्ना गीत संसारभर छरिएका नेपाली श्रोताहरूलाई सुनाउन पाइनन्, तर पछि आफ्नै च्यानल खोलेर आफ्ना सबै लोकप्रिय गीत युट्युबमा अपलोड गरिन् । 

दिकीले गाएका गीतमध्ये ‘आएर...’ अत्यन्त लोकप्रिय भयो । त्यो उनको जीवनकै पहिलो रेकर्डेड गीत पनि थियो । उक्त एल्बमको जाउँm शीर्षकको गीत पनि श्रोताहरूले मन पराए । दीपक घिमिरेसँगको युगल गीत ‘मैले दिएको फूल’ ले पनि उनलाई एवार्डमा मनोनीत गरायो । त्यसक्रममा उनले गाएको ‘तिमीसँग’ गीतको म्युजिक भिडियोलाई भूषण दाहालले निर्देशन गरेका थिए । 

पहिलो एल्बमको सफलतापछि उनी वर्षको एक पटक नेपाल आउने तथा केही गीत रेकर्ड गरेर फर्कने क्रम जारी रह्यो । यतिबेला उनी दोस्रो एकल एल्बमका गीत रेकर्ड गर्न पुन: नेपाल आएकी छिन् । करिव एक महिनाको अवधिमा उनले न्ह्यू बज्राचार्यकै संगीत तथा दुर्गालाल श्रेष्ठकै शब्दका आधा दर्जन गीत रेकर्ड गराइसकेकी छिन् भने दुई वटा टिबेटियन गीत पनि रेकर्ड गराएकी छिन् । 

‘म पप, ज्याज, ब्लुज सबै प्रकारका गीत गाउन सक्छु’, साप्ताहिकसँगको भेटमा दिकीले भनिन्– ‘विगतमा मैले धेरै अंग्रेजी गीत गाएकाले मेरो टोनमा पाश्चात्य शैली झल्कन्छ तर संगीतकार बज्राचार्यले मैले गाउने गीतलाई पूर्वीय शैलीमा ढालिदिनुभएको छ ।’ संगीतकार बज्राचार्यका गीत मात्र गाउने कारणका सम्बन्धमा राखिएको जिज्ञासामा दिकीले भनिन्— ‘उहाँलाई मेरो गाउने शैली, मेरो स्वर, मेरो डेप्थ सबै कुराको राम्रो जानकारी छ । मेरो क्षमतालाई समेत नजिकबाट चिन्नुभएकाले मैले उहाँसँग सहकार्य गरेकी हुँ ।’ गायिका दिकीले दुर्गालालका शब्दमा एक प्रकारको मीठास पाइने हुनाले उनकै गीत गाइरहेको समेत बताइन् । 

निकट भविष्यमै श्रोतामाझ पुग्ने दिकीका आधा दर्जन गीतमध्ये म जान्दिनँ तथा कुरा उहिलेको लोकप्रिय हुने उनको अनुमान छ । १९७४ एडी, सिने गुरुङ, निमा रुम्बादेखि बिपुल क्षेत्रीसम्मलाई आदर्श मान्ने दिकी भविष्यसम्म पनि संगीतलाई करियर बनाएर नेपाली गीत–संगीतमा सक्रिय रहने बताउँछिन् । 

अमेरिकाका विभिन्न सहरमा आयोजना हुने कन्सर्टहरूमा समेत सहभागी भैरहेकी गायिका दिकी त्यहाँको नेपाली समुदायमा पनि लोकप्रिय छिन् । आफ्नो देशका दर्शकमाझ उभिएर आफ्नै भाषाका गीत गाउन पाउँदाको आनन्द शब्दमा वर्णन गर्न नसकिने दिकी बताउँछिन् । 

 

 

प्रकाशित :श्रावण ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्