झिनामसिना कुरा

- सुविन भट्टराई

श्रावण ८, २०७४-

जीवनमा कतिपय चिजको आवश्यकता परिरहेको हुन्छ । हाम्रो दैनिक जीवनमा स–साना चिजहरूको अभाव खड्किरहेका हुन्छन् । जीवन यस्तै स–साना चिजहरूले कतै भ्वाङ परिरहेजस्तो लाग्छ, कतैबाट चुहिरहेजस्तो लाग्छ । केही समय जाँगर नचलाएकाले कतै कुनै चिजले आफैँलाई दुहिरहेको जस्तो हुन्छ, जसले सहज हुने कुरालाई पनि असहज बनाइरहेको हुन्छ । जो अप्राप्य, जटिल वा असम्भव हुँदैन । जो एक कदमको दूरीमा हुन्छ । जो हातको एक लम्क्याइमा हुन सक्छ । जो एक कल फोनको अभावमा अल्झिरहेको हुन सक्छ, तर ती सबै कुरा मानिसका उपेक्षाको सिकार भएर कतै झोक्राइरहेका हुन्छन् । 
हामी त्यो आवश्यकता हत्तपत्त पूरा गरिहाल्दैनौँ । हामी एक कदम बढाउन हिचकिचाउँछौँ । हामी हात लम्काउँदैनौँ । हामीमा फोन उठाएर डायल गर्ने हिम्मत नै हुँदैन । हामीलाई थाहा हुन्छ, त्यो आवश्यक चिज हाम्रो जीवनमा थपियो भने हाम्रो जीवन सहज हुन्छ, सरल हुन्छ । हामी जुन कमीमा बाँचिरहेका हुन्छौँ, त्यो कमी पूरा हुन्छ, तर यस्ता कुरामा हामी त्यति ध्यान पुर्‍याउँदैनौँ । धेरै श्रम वा पैसाको आवश्यकता पनि हुँदैन । धेरै ऊर्जा खपत हुने पनि होइन । धेरै दिमाग लगाउनुपर्ने पनि त्यस्तो केही हुँदैन । यद्यपि त्यही एक कदम उठाउन हामी गाह्रो मान्छौँ । 

रातदिन यस्तै स–साना समस्याहरू काँधमा बोकेर हिँडिन्छ । सर्टको बटनको एउटा टाँक झरेर सर्ट थोते भएर दराजमा थन्किएको छ महिना भैसक्यो, सियो र धागो पनि त्यही दराजमा हुँदो हो, तैपनि हामी त्यसलाई सिलाउन सकिरहेका हुँदैनौं । धाराको टुटीमा अलिकति लिकेज छ, पुटिनले टालिदिए बन्द हुँदो हो, तर घरमै भएको पुटिन पनि खोज्ने आँट छैन । एक दिन समय निकाल्न नसकेर मंसिरमा तिर्नुपर्ने बाइकको कर चैत पुग्दासम्म तिरिएको हुँदैन । पर्दाको दुइटा रिङ झरेको हुँदा छेउबाट पर्दा उध्रिएजस्तो देखिएको छ । खोजे भुइँतिरै भेटिँदो हो, पर्दाको रिङ । दुई मिनेट कुप्रिँदा अनि दुई मिनेट उभिँदा सकिने काम छ, तैपनि हामी त्यही च्यातिएको पर्दा हेरिरहन अभ्यस्त हुन्छौँ । घरअगाडि जहिले हिलो हेर्न अभ्यस्त हामी घरभित्र यसै रहिरहेको दुई डोको गिट्टी–बालुवा लगेर पुर्न सक्दैनौँ । भित्तामा माकुराले जालो लगाउन थालिसक्यो, खाटमुनि साङ्लाले घर बनाउन थालिसक्यो, एक–दुइ घण्टा दिए त समस्या समाधान हुँदो हो, त्यसमा पनि हात अघि सर्दैन । फलानो साथीलाई भेट्ने भनेको पनि तीन महिना भैसक्यो, त्यहाँसम्म जाने पाइला अघि सर्दैन । 

खड्किएका झिनामसिना कतिपय कुरामा सम्बन्ध पनि हुन्छन् । एउटा सानो ‘सरी’को दूरीमा ठूल्ठूला सम्बन्धहरू अलग किनारमा भौंतारिरहेका हुन सक्छन् । अविश्वासको एउटा सानो झिल्कोलाई निभाउने भेउ नपाउँदा सम्बन्धमा लाग्ने ठूला डढेलाहरूको परिणाम भोग्नेहरू हामीमध्येमै कैयौँ छौँ । एक पाइला अघि बढाएर मुस्कुराउँदै संवाद सुरु गर्न नसक्दा कैयौँ प्रेमकहानी नजन्मदै मरेका हुँदा हुन् । कसैसित एक नमस्ते वा एक औपचारिकताको दूरी पनि टाढा लागेका हुनाले मानिस आफैँसित विरानो हुँदै गैरहेको छ । कसैका आदरमा दुई हात जोडिँदैन, कसैको सहयोगमा चार कदम अघि बढ्दैन, कसैको पक्षमा आठ शब्द बोल्न ओठ र मन हिचकिचाउँछ भने सोचे हुन्छ, त्यस्तो मानिसको मूल्य शून्य बराबर छ ।
हो, जीवनमा सबै कुरातिर ध्यान पुग्दैन । संसारमा परिवर्तन देख्न चाहनेले सबैभन्दा पहिलो चरणमा आफ्नै स्वभावको परिवर्तन (यस्तो स्वभाव, जो देखेर बेला–बेलामा मानिस आफैँसित आजित हुन्छ) गर्न जरुरी छ । 

यी र यस्तै झिनामसिना कुरा हुन्, जो जीवनमा नहुँदा पनि जीवन काइदाले चल्छ, जसको अभावले जीवन त्यति असहज र दु:खदायी पनि हुँदैन, तर यिनै कुराको उपस्थिति भएको खण्डमा हामीभित्रको खुसीमा केही वृद्धि पक्कै हुन्छ । केही सुविधा हामीले पक्कै पाउनेछौँ, तर हामी पुरानै स्थितिमा अभ्यस्त हुन्छौँ । हामी परिवर्तन खोज्ने मानिस त पक्कै हौँ, तर परिवर्तनका लागि पहल गरिहाल्ने सोच नभएका पनि हौँ । 

 

प्रकाशित :श्रावण ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्