संगत गुनाको फल

- अविरल थापा

श्रावण ७, २०७४

 

जीवनयापनका क्रममा धेरै मान्छेको धेरै मान्छेसँग चिनजान हुन्छ, तर चिनजान हुँदैमा सबैको सबैसँग संगत हुँदैन । संगत गर्न मानिसले निश्चित आधार खोज्छ । रहँदा–बस्दा केही कुरा मिलेर, काम–व्यवहारहरू मिलेर, मन मिलेर, आकर्षण भएर एकले अर्काको संगत गर्छन् । कति संगतले सत्कर्म गराउँछन् भने कतिले भड्खालोमा पनि हाल्छन् । 

‘गतिलाको संगत गर है, गतिलाको’ भनेर बूढापाकाहरूले सम्झाइरहेको त हामीले सुनेकै छौं, तर को गतिलो को अगतिलो सुरुमै थाहा पाउन गार्‍है हुन्छ । कतिलाई व्यवहार गरेपछि चिनिन्छ भने कतिलाई चिन्न लामै संगत गर्नुपर्छ । विद्वान्हरू भन्छन्, तपाईं कस्तो खालको मान्छे हो भनेर चिन्न र बुझ्न तपाईंसँग नियमित भेटघाट गरिरहने चार जनालाई हेरेर थाहा पाइन्छ । फटाहाको साथी फटाहा नै हुन्छ, चोरको चोर नै, सज्जनको सज्जन, किनभने उनीहरूको एक–अर्कासँग काम र विचार मिल्छ । कतिपय समयमा मानिसहरू आफ्नो क्षणिक स्वार्थ पूरा गर्न आफूभन्दा ठूलाको वा सानाको संगत गर्न पनि पछि पर्दैनन् । कामकाज सक्किएपछि चटक्कै संगत गर्न छाडिदिन्छन् । संगत भनेको जहिले पनि ठूलाबडाको गर्नु भनेर अर्ती दिइएको पनि सुनिन्छ तर गर्छु भन्दैमा सबैले मौका पाउँदैनन् । ठूलाबडाको छेउछाउमा बसेर गफ सुन्ने, कार्यक्रममा सहभागी हुने क्रमले पनि उनीहरूको प्रभाव पर्दै जान्छ । बिस्तारै–बिस्तारै व्यवहारले जितेपछि ठूलाबडाले पनि विश्वास गर्न थाल्छन् र उनीहरूको सानिध्य प्राप्त गर्न सकिन्छ । 

कतिको चाहिं उमेर सानो भए पनि ठूला उमेरकाहरूसँग त कतिको साना उमेरकाहरूसँग संगत हुन्छ । यस्तो मान्छे भएर पनि के त्यस्ताको संगत के गर्‍या होला जस्तो लाग्न सक्छ, तर उमेर तलमाथि भए पनि मन मिल्छ, विचार मिल्छ, कतिमा भौतिक आकर्षण पनि हुन्छ । यी सबै संगत जायज हुन् । कुनै कामविशेषले संगत गर्नु र सुखदु:ख साट्न संगत गर्नु फरक कुरा हुन् । कतिपय संगत कार्यालयमै सीमित हुन्छन् । मानिसको सयौंसँग चिनजान हुन्छ तर मनको कुरा साट्न लायक साथी चार जना पाउन पनि मुस्किल पर्छ । कतिपय समयमा असल मानिस पनि खराबको संगतमा परेर बिग्रन्छ ।

लागूपदार्थ आदिको नशा, यौनकर्म, खेलबाडमा लागेकाहरूको संगतमा परियो भने जोसुकै पनि चाँडै बहकिने डर हुन्छ । जतिसुकै नियन्त्रण गर्छु भने पनि संगतको मनोवैज्ञानिक असर परेरै छोड्छ । सुरुमै यो मानिस यस्तो है भन्ने भेउ पाएपछि सचेत हुँदै संगत नै छोड्न सक्नुपर्छ । साथीको लहैलहैमा लागेर असल पनि अपहरण, बलात्कार, झैझगडा र हत्यासम्म गर्न पछि नपरेका उदाहरण धेरै छन् । असल साथी र मानिसको संगतमा लागेर कमजोर, निरीह र पहिले खराब भनिएकाहरूले उदाहरणीय कर्म गरेका पनि उत्तिकै घटना छन् । कसको संगत गर्ने र कसको नगर्ने आ–आफ्नो रोजाइ हो ।

कहिलेकाहीं भावनात्मक सम्बन्धमा पनि गलत पात्रसँग संगत भैरहेको हुन्छ । चिनेपछि सचेत रहन सक्नुपर्छ । पुरानो बानी र नशा छोड्न गार्‍हो हुन्छ तर असम्भव हुँदैन । ठूलाको संगत गरियो भने गाली खाँदा पनि केही सिकिन्छ । खराबको संगत गर्दा राजाको छोरो पनि बिग्रन्छ । खराव संगतकै कारण कतिले पढाइ बिगारेका छन् त कतिले घरवार । चाँडै पैसा कमाउने प्रलोभनमा आफूसँग भएको समेत गुमाउनेहरू पनि धेरै छन् । अरूले यस्तो हुन्छ उस्तो हुन्छ भनेको भरमा कुरै नबुझी हाम फालिहाल्नु हुँदैन । विश्वासिलो अर्को साथी वा घरका सदस्यसँग आफूले लिन लागेको जोखिमका सम्बन्धमा सरसल्लाह गरे दुर्घटनाको भय कम हुन्छ । 

जतिसुकै ठूलो ओहदामा पुगे पनि बाल्यकालका साथीको संगतमा जस्तो रमाइलो अरूसँग हुँदैन । दुई जनाको पद मिल्दैमा, जातथर मिल्दैमा, गाउँठाउँ मिल्दैमा सबै कुरा मिल्छ भन्ने हुँदैन । धनी मानिसको मिल्ने साथी गरिब पनि हुन सक्छ गरिबको धनी पनि । मान्छेले सितिमिति संगत फेर्न चाहँदैन, किनभने उनीहरूसँगै सहजता महसुस भैसकेको हुन्छ । टाठाबाठाहरू आर्थिक उन्नतिका लागि सम्पर्कमा आएका सम्भावित व्यक्तिहरूसँग संगत बढाएर फाइदा लिन खप्पिस हुन्छन् । ठूला नेता, पुलिस एवं गुन्डाको संगतले आय र शक्ति आर्जन गरेर रवाफ देखाउँदै हिंड्नेहरू पनि भेटिन्छन् समाजमा, तर तिनीहरूको रजाइँ धेरै दिन टिक्दैन । 

जे होस्, जसो होस्, कसैको संगत गर्नुअघि राम्रोसँग चिन्ने प्रयास गरौं । शंका लागे आफ्नो संगत नै फेरौं । सत्कर्मका लागि जोसुकैसँग संगत गरे पनि केही हुँदैन तर खराब कामका लागि हितैषी नै भए पनि संगत छोड्न सक्नुपर्छ । यसको संगत गरेर आज मेरो यस्तो हालत भयो भनेको कसैको मुखबाट सुन्नु नपरोस् ।

                    Facebook.com/abeeralthapa,Twitter@abeeralthapa

 

प्रकाशित :श्रावण ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्