एसियाली भारोत्तोलन आजदेखि

- साप्ताहिक संवाददाता

श्रावण ६, २०७४-

नेपालमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता नभएको धेरै भैसकेको छ । विशेषत: भूकम्पपछि त हुने तय भैसकेका कतिपय प्रतियोगिताहरू नेपालबाट बाहिरिए । भूकम्पकै कारण नेपाली भारोत्तोलनले एउटा ठूलो प्रतियोगिता गुमाएको थियो अब भने यस्तो हुने छैन्, किनभने नेपाल भारोत्तोलन संघले आजैदेखि युथ एन्ड जुनियर एसियाली भारोत्तोलन च्याम्पियनसिपको आयोजना गर्दैछ । हाम्रो खेलकुदको इतिहासमै नेपालमा आयोजना हुन लागेको यो एउटा ठूलो प्रतियोगिता हुनेछ ।

आज साउन ६ गते प्रारम्भ हुने यो प्रतियोगिता नौ दिनसम्म चल्नेछ र यसमा ३२ देशको सहभागिता रहनेछ । विश्व भारोत्तोलनमै एसियालाई महाशक्तिका रूपमा लिइन्छ । त्यसैले पनि यो प्रतियोगितामा युथ र जुनियरस्तरमा विश्वकै उत्कृष्ट खेलाडीले भाग लिने निश्चित छ । यस्तोमा तय छ, केही अन्तर्राष्ट्रिय कीर्तिमान पनि बन्ने छन् । अर्कातर्फ प्रतियोगिताका क्रममा जुन प्रतिस्पर्धा देख्न पाइनेछ, त्यो अब्बल दर्जाको हुनेछ ।

लगातारको प्रयासपछि हामीले यति ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर पाएका हौं, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टन्डन भन्छन्– यो प्रतियोगिताको आयोजनाले नेपालमा भारोत्तोलनको सम्भावनालाई अझ फराकिलो बनाउनेछ । यसपटकको प्रतियोगिता १९ औं युथ, २४ औं जुनियर वुमन्स तथा ३१ औं जुनियर मेन्स एसियाली च्याम्पियनसिपका रुपमा आयोजना हुँदैछ । प्रतियोगितामा ३२ देशका २ सय ९० जना खेलाडीको सहभागिता रहनेछ ।

सहभागी देशका प्रतिनिधिलाई पनि गणना गर्ने हो भने प्रतियोगिताका लागि नेपाल आउने पाहुनाको संख्या ४ सय ९० भन्दा बढी पुग्नेछ । अप्रत्यक्ष रूपमा यो प्रतियोगिताको आयोजनाले नेपाली भारोत्तोलनलाई फाइदा पुर्‍याउनेछ नै, त्योभन्दा महत्त्वपूर्ण तथ्य के भने यसले एकपटक फेरि नेपाली खेलकुदमा भारोत्तोलनको वातावरण सिर्जना गर्नेछ । नयाँ र युवा खेलाडी यो खेलप्रति आकर्षित हुनेछन् । यसले नेपाली भारोत्तोलनको भविष्य अझ बलियो हुनेछ, प्रशिक्षक सञ्जय महर्जन बताउँछन् ।

यसपटकको प्रतियोगितामा नेपालका तर्फबाट १३ जना खेलाडीले सहभागिता जनाउने छन् । सम्भवत: नेपाली खेलाडीले कुनै पदक जित्ने छैनन्, तर भर्खर पहिलो पाइला चाल्ने प्रयासमा रहेको नेपाली युथ तथा जुनियर भारोत्तोलनले सही दिशा भने समात्नेछ । 

नेपालबाट सहभागी हुने खेलाडीमध्ये जुनियर मेन्समा गणेश रानाभाट, रामकुमार यादव, सजरुद्दिन आलम, प्रकाश केसी, सुरज वैस्य, विशालसिंह विष्ट तथा जइदी कोजु छन् । त्यसैगरी मेन्स युथमा तुसार मगर र सागर भण्डारीसँगै आलम, वैस्य, विष्ट र कोजुले प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ सन्जु चौधरी, कबिता चौधरी, टीकामाया गुरुङ तथा कमला श्रेष्ठले चुनौती पेस गर्नेछन् । प्रतियोगितामा थाइल्यान्ड, इरान, काजाकिस्तान, चीन, भियतनाम, ताइवान, भारत तथा दक्षिण कोरियाको ठूलो समूहले सहभागिता जनाउनेछ । प्रतियोगिताले नेपालका लागि भारोत्तोलनमा भविष्यका राम्रा खेलाडी उत्पादन गर्न उपयुक्त वातावरण तयार गर्ने निश्चित छ, प्रतियोगिताका सम्बन्धमा संघका महासचिव पार्थसारथी सेनगुप्ताको निचोड छ । 

 

प्रकाशित :श्रावण ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्