हामी डिजिटल नागरिक

- अधिकारी रवीन्द्र

श्रावण ४, २०७४-

 

फेसबुक एउटा यस्तो स्वप्निल देश हो जसमा अहिलेको पुस्ता यसको नागरिक भएकोमा गर्व गर्छ । कतै जाँदा, कुनै पर्व मनाउँदा, कसैसँग भेट हुँदा वा एकान्तमा बोर हुँदासमेत फेसबुक न्युजफिडले तस्बिर र विवरण प्रसारण गर्ने मौका पाएकै हुन्छ ।

म एउटा यस्तो काल्पनिक दुनियाँमा बस्छु जहाँ छिमेकीहरूको सङ्ख्या हजारभन्दा बढी छ । ती छिमेकीहरूमध्ये प्राय: सबैजसो छुट्टाछुट्टै घर–परिवारको प्रतिनिधित्व गर्छन् अनि धेरै हाल समुद्रपारिका देशमा पनि बस्छन् । राष्ट्रियता, जात, लिङ्ग, उमेर, वर्ण, धर्म एवं राजनैतिक आस्था आदि–इत्यादी हिसाबले योभन्दा बढी विविधताले भरिएको एउटै समाज अरू कुन देशमा पाइन्छ ? अहँ कहीं पाइँदैन, सिवाय फेसबुक । फेसबुक वास्तवमै एउटा यस्तो देश हो जसका बासिन्दा तिनै इन्टरनेटमा झुन्डिरहने जमात (नेटिजन) हुन् । 

यो देशमा १३ वर्ष नाघेकाले नागरिकता प्राप्त गर्न नि:शुल्क अनलाइन दरखास्त भर्न पाउँछन् । यो देशको नागरिकता प्राप्त गर्नुअघि यदि तपाईं पहिल्यै कुनै अरू देशको नागरिक हुनुहुन्छ भने पनि फरक पर्दैन, अन्य मुलुकको नियमजस्तो पूर्वनागरिकता खारेज गरिरहनु आवश्यक छैन ।

सुरुमा कक्षागत छलफल र आपसी कुराकानी गर्न खोलिएको फेसबुकले अहिले सबै किसिमका काम गर्न सक्छ । अहिले यो सामाजिक सञ्जाल मात्र नभै अविरल सुधारिइरहने विश्वव्यापी डिजिटल अभियान हो । फेसबुकले यो सहस्राब्दी पुस्ताको श्वास, खोकी, हाँसो, रोदन, सफलता र पीडाका आयामहरूलाई प्रतिबिम्बित गर्दै आएको छ । यद्यपि यो पनि सत्य हो कि नागरिकले जसरी साहसिक यात्रा, खुसी, मनोरञ्जन, सफलता तथा उपलब्धिलाई व्यक्त गर्न फेसबुकलाई खुलेर प्रयोग गर्दै आएका छन्, त्यसरी नै दु:ख, वेदना, निराशा, मृत्यु र असफलतालाई प्रस्फुटन गर्न खुलेर प्रयोग गरेको पाइदैन । ‘नो फिल्टर’ ह्यासट्याग राखेर आएका तस्बिर तथा विवरणहरूले पनि जीवनको वास्तविकतालाई केही न केही, कहीं न कहीं लुकाएकै हुन्छन् ।

उदाहरणका लागि विदेशमा बस्ने कुनै पनि सुड्डोले भाँडा मस्काइरहेको वा बाटोको हिउँ सावेलले सोहोरिरहेको तस्बिर फेसबुकमा पोस्ट गर्दैन । उसले कयौँ  हप्तापछिको एउटा विकेन्ड्मा कुनै मनोरम समुद्री किनाराको रिसोर्टमा साथीभाइसँग बड् लाइटको चुस्की लिइरहेको तस्बिर भने पोस्ट गर्छ । यो उदाहरण प्रतीकात्मक मात्र हो, विदेशमा बस्ने भन्नासाथ सबैले रेस्टुराँमा भाँडै माझ्छन् वा पेट्रोलपम्पमै काम गर्छन् वा कार वासिङ नै गर्छन् भन्ने होइन । हामी मानिस हौं र सकेसम्म आफ्नो दु:ख अरूलाई नदेखाउँ भन्ने चाहना त थोरबहुत सबैमा हुन्छ र स्वभावत: खुसी पनि बाँड्यो भने अझ बढ्छ भन्ने कथन नै छ । 

फेसबुकमा उत्साहको अनि सकारात्मक सोचको विचलन भएका उदाहरण पनि दैनिकजसो नभेटिने होइनन् । मानिलिउँ, तपाईंले फेसबुकमा कुनै निराशावादी पोस्ट ‘फिलिङ सिक’ वा ‘सुसाइडल’ भनेर हाल्दा त्यसले जनमानसमा कस्तो प्रभाव पार्ला ? कसैले फेसबुक ब्राउज गरिरहँदा उसले नयाँ कुरा जान्ने वा पछिल्लो घटनाक्रम बुझ्ने अथवा मित्रजनका राम्रा विवरणमा खुसी मनाउने मनसायका साथ समय खर्चिएको हुन्छ । सोसल मिडियाको प्रयोग सकरात्मकताको खोजीका लागि हुनुपर्छ, यो आफ्नो जिज्ञासा मेटाउने माध्यम हुनुपर्छ । एउटा दु:खी पोस्टले हजारौँ प्रयोगकर्तालाइ निरुत्साहित बनाउने काम आफैमा राम्रो होइन, तसर्थ फेसबुकमा समाधान दिनु उत्तम हो, समस्या तेस्र्याउनु बुद्धिमता होइन । 

फिलिङ फेस्टिभका नाममा अपुरो पोस्ट गर्नुभन्दा त्यो अवसरले तपाईंमा कस्तो नयाँ भावना ल्यायो र तपाईंको त्यो भावले अरूलाई कसरी उत्साह सिर्जना गर्न सक्छ, भन्ने विषयमा दुई वाक्य लेख्ने जमर्को गरौँ । फेसबुकरूपी यो अभौगोलिक राष्ट्रमा खुसी छर्न वा उत्साह बाँड्न जो–कसैले उत्तिकै महत्वपूर्ण भूमिका खेल्न सक्छन् । 

त्यसैगरि ‘फिलिङ फ्रस्ट्रेटेड’ भनेर होइन, ‘फिलिङ होपफुल’ भनेर आशाको पर्खाललाई अझ पर–परसम्म फैल्याउँm । जिन्दगी छोटो छ, यहाँ उकाली र ओराली छ, यहाँ सबैलाई आ–आफ्नै पीडा छ । आफ्नो पिडा सोसल मिडियामा ओकलेर अरूहरूलाई थप दु:खी नतुल्याऊँ । छोटो जीवनमा खुसी खोजौं, खुसी नै बाँडौँ — मात्र खुसी । 

संसारको सबैभन्दा ठूलो सामाजिक सन्जाल फेसबुकको सदस्य भैसकेपछि यसलाई प्रयोग गर्दा हामीले न्यूनतम सतर्कता अपनाउनु आवश्यक छ । कुनै एउटा सडक दुर्घटनाको बिभत्स तस्बिर फेसबुकमा हाल्नुअघि उक्त तस्बिरले राम्रो भन्दा कति भयानक प्रभाव उक्त तस्बिर हेर्नेको मस्तिष्कमा पार्नेछ भन्ने कुरा सोचौं । अहिले फेसबुक बालबलिकाले पनि हेर्छन्, तिनीहरूको बाल मनोदशामा यस्ता पोस्टले कस्तो असर गर्ला, कम्तीमा एकपटक बिचारौँ । सूचना सम्प्रेषित गर्ने काम पत्रकारको हो, उनिहरूले आफ्नो विज्ञता प्रयोग गरेर जायज मानेको तस्बिर मिडियामा दिन्छन्, हामीले फस्ट–ह्यान्ड भन्दै दुर्घटनाको असहज तस्बिर सोसल मिडियामा अपलोड गर्नु हुँदैन । फेसबुक चलाउन जान्ने भैसकेका हामी त्यति अविवेकशील पनि हुनु हुँदैन कि कुन पत्रिकाको आधिकारिकता के र कति हो भन्ने जानौँ  । क्लिक वा हिट सङ्ख्या बढाउने अभिप्रायले कतिपय वेबसाइटले हुइया र हल्लाको समाचारलाई हेडलाइन् बनाएर प्रस्तुत गरेको पाइन्छ ।

विश्वसनीय स्रोतका मात्र समाचार पढौँ  र हाल बर्खे च्याउसरि उम्रिएका नानाभातिका अनलाइन पत्रिकाका समाचार विचार नपुर्‍याई हठात सेयर नगरौं । किनभने तपाईंले सेयर गरेका प्रत्येक लिंकले तपाईंको व्यक्तित्व र बौद्धिक स्तर दुनियाँसामु छर्लङ्ग देखाइरहेको हुन्छ । यो डिजिटल देशमा तपाईंको अनलाइन क्रियाकलाप तपाईंको व्यक्तित्वको ऐना हो । राजनैतिक, धार्मिक वा साम्प्रदायिक रूपले पूर्वाग्रही भएर लेखिएका समाचार तथा विश्लेषण सेयर गर्दा त्यसले सामाजिक सहिष्णुतामा आँच पुर्‍याउन सक्छ–सक्दैन, पूर्वमूल्यांकन आफंैले गर्न सक्नुपर्छ, यदि सक्नुहुन्न भने आफू पढ्नुस्, आफ्नो निश्चित समूहतर्फको झुकाव प्रदर्शन गरी विपरीत धारका धेरैलाई किन अनावश्यक रूपमा चिड्चिडाउनुहुन्छ ? याद गर्नुहोला, तपाईंलाई मन परेको कुरा अरू धेरैलाई मन नपर्न सक्छ । फेसबुकलगायतका सोसल मिडियामा पराजित मानसिकता एवं गलत मनोवृत्तिलाई कहिल्यै बढावा नदिऊँ  । सामान्य वेब शिष्टाचारका बारेमा सुसूचित हौँ  ।

                                                                                        ravinems@iom.edu.np

                                                                                            Twitter/ @ravinems

प्रकाशित :श्रावण ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्