थरीथरीका फेसबुके !

- अविरल थापा

श्रावण २, २०७४-

 

पछिल्लो दशकमा विकास भएको इन्टरनेट दुनियाँको सामाजिक सञ्जाल फेसबुक नेपालमा पनि उत्तिकै लोकप्रिय छ । संसारभरि छरिएर रहेका तर लामो समयदेखि छुट्टिएका आफ्ना लगौंटिया यार खोज्नदेखि लिएर नयाँ–नयाँ साथी र सम्बन्ध बनाउन फेसबुक निकै प्रभावकारी पनि छ ।

जुनसुकै नाता सम्बन्धका भए पनि यसमा जोडिएपछि सबै साथी हुन्छन् । कसैलाई साथी बनाउने वा नबनाउने आफ्नो रोजाइ हो । कतिले चिनेकालाई मात्र साथी बनाउँछन् भने कतिले नचिनेका भए पनि नयाँलाई साथी बनाउँछन् । समाजमा नाम चलेका कलाकार, लेखक वा पहिचान भएका मानिसका आफूले प्रत्यक्ष नचिनेका पनि थुप्रै साथी हुन्छन् । साथी होइन भनौं भने साथी हो तर कसैसँग बोलेको हुँदैन, भेटेको हुँदैन तर उसले मित्रवत् व्यवहारको अपेक्षा गरिरहेको हुन्छ । फेसबुकमा साथी भएकाहरू पनि विविध खालका हुन्छन् । सबैको ध्येय र स्वार्थ एउटै हुन्छ भन्न सकिँदैन । कतिको त यहींबाट सम्बन्ध बिस्तार भएर विवाहसम्म हुन्छ भने कत्तिको सम्बन्ध बिग्रिएर हत्यासम्म भएका समाचार पनि आइरहेका छन् । कति कुरा गर्दागर्दै वास्तविक जीवनमा पनि प्रिय मित्र हुन आइपुग्छन् भने कोही फेसबुकमै सीमित हुन्छन् । अब एकछिन् फेसबुकेहरू के–कस्ता प्रकारका हुन्छन्, चर्चा गरौं । 

अन्धभक्त र विरोधीहरू : यिनीहरू आफ्नो खेमा, दल वा आफ्ना मानिसले जे गरे पनि जे लेखे पनि अन्ध भएर हरेक कुराको समर्थन गर्छन् । यिनीहरू न आफ्नो बुद्धि लगाउँछन् न विवेककै प्रयोग गर्छन् । विरोधीहरूको कामचाहिं जतिसुकै सकारात्मक काम वा कुरा भए पनि एउटा न एउटा बिंगा लगाएर कमजोरी देखाउने नै हुन्छ । यिनीहरूले आफ्नो गुट नै बनाएका हुन्छन् । 

शंकालुहरू : यिनीहरू कुनै केटा–केटीको तस्बिर सँगै देखे भने वा कुनै केटाले केटीको वा केटीले केटाको कुरामा कुनै टिप्पणी गर्‍यो भने दुई जनाको त चक्कर नै चलेको भन्ने मान्छन् र सोही प्रकारका प्रतिटिप्पणी गर्न उद्यत भैहाल्छन् । यिनीहरू लैजानै आँट्यो कि, भाग्नै पो आँटी कि भनेझैं शंका गरिहाल्छन् । 

कुरौटे जासुसहरू : यिनीहरू सार्वजनिक रूपमा कुनै टिप्पणी गर्दैनन्, तर कसले के गरिरहेको छ, कसले के लेखिरहेको छ, कसले कोप्रति धेरै चासो दिइराखेको छ निगरानी गरिरहेका हुन्छन् र कहाँ कुरा लाउनुपर्ने हो लगाइरहेका हुन्छन् । 

छद्मभेषीहरू : यिनीहरू केटा भए केटीको, केटी भए केटाको भेष धारण गरेर बसेका हुन्छन् । मीठा कुरा गरेर नजिकका साथीभाइ वा आफन्तको मन चोर्नु यिनको उद्देश्य हुन्छ । आफ्नै प्रेमी, जीवनसाथी वा अभिभावक पनि यस्तो रूपमा हुन सक्छन्— होसियार हुनुहोला । 

डाडेहरू : यिनलाई अरूले घुमेको, खाएको, रमाइलो गरेको तस्बिर वा अन्य गतिविधि देखेर असाध्यै डाहा लाग्छ । अरूको राम्रो जोडी देखेर पनि ईष्र्या हुन्छ । यिनमा कसरी हुन्छ खोट देखाएर होच्याउन खोज्ने प्रवृत्ति हुन्छ । कतिलाई चाहिं त्यसको किन लाइक गर्‍या, किन कमेन्ट गर्‍या भनेर पनि डाह हुन्छ । 

कथित भीआईपीहरू : यिनीहरू आफूसँग सम्बन्धित कुरा छ भने लाइक वा कमेन्ट गर्छन् तर अन्य कुरामा मौन बस्छन् । सबै हेरेका र पढेका हुन्छन् तर टिप्पणी गर्दा आफ्नो स्तर घट्छ भन्ने लघु मानसिकता यिनमा हुन्छ, तर सार्वजनिक रूपमा भेट्दा चाहिं तपाईंको कुरा राम्रो लाग्छ है भनेर धाप मार्न र ठिक्क पार्न पनि पछि पर्दैनन् । 

अवसरवादीहरू : यिनीहरू आफ्नो काम परेका बेला वा कुनै सहयोग चाहियो भने मात्र नाता साइनो लगाउँदै बोल्न आउँछन् । काम सकिएपछि वास्ता गर्दैनन् र पछि फेरि काम पयो भने लाज पचाउँदै चिल्लो घस्न आइपुग्छन् ।

चोरहरू : यिनीहरूको काम अरूले लेखेको कुरा वा खिचेको तस्बिर कुनै श्रेय वा नाम उद्धृत नगरी आफूले नै लेखेको वा खिचेको जसरी आफ्नो भित्तोमा हुबहु सार्ने हो । उस्तै परे यिनले असलीलाई नै चोर प्रमाणित गर्न बेर लाउँदैनन् । 

लम्पटहरू : पुरुषहरू छन् भने सामान्य स्त्रीको जस्तोसुकै कुरा वा तस्बिरको अनावश्यक बढाइचढाइ गर्दै र स्त्री छन् भने प्राय: नाम चलेका पुरुषका जस्तासुकै गतिविधि पनि आहा कस्तो राम्रो भन्दै बखान गर्न कस्सिइहाल्छन् । यसमा नाम चलेका कतिपय पुरुष–स्त्री पनि आफू चिप्लिएको पत्तो पाउँदैनन् । 

कचकचे, गनगने र गुनासेहरू : यिनीहरूसँग बोले पनि सुख पाइँदैन नबोले पनि सुख पाइँदैन । आफूसँग मात्र बोले हुन्थ्यो । यिनीहरूसँग पहिले किन नबोल्या, किन नबोलाको, किन भाउ खाएको, हामी त को हो र ? ठूलो भएको, सान देखाएको जस्ता गुनासोका अनेक पोका हुन्छन् । मानौं अनलाइनमा हुनासाथ बोलिहाल्नुपर्छ । यिनीहरू अरू काम नै नभएजसरी गनगन गरिरहन्छन् ।

यसरी मानिसहरूबीच फेसबुकमा गज्जबको परा–सामाजिक सम्बन्धको निर्माण भैरहेको हुन्छ । कोसँग नजिक हुने र कोसँग टाढा हुने विवेक पुर्‍याएर अघि बढौं । फेसबुकका साथी र समुद्रको पानी उस्तै हो, प्रशोधन गरे पिउन पनि हुन्छ अन्यथा पौडिन मात्र काम लाग्छ । 

                                                                                         Facebook.com/abeeralthapa

                                                                                           Twitter@abeeralthapa

प्रकाशित :श्रावण २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्