जोखिमको खोजमा युवराज

- किशोर नेपाल

श्रावण २, २०७४-

नेपाली नाटकमा पात्रको प्रचुरता छैन । रहरले जो यतापट्टि छिर्छन् ती छिटै निस्किन्छन् । जो टिक्छन् ती नाटकका लागि टिक्छन् । यिनीहरूमध्ये धेरै आफूलाई स्थापित गर्ने धुनमा हुन्छन् । न त थिएटर छ, न नियमित प्रशिक्षण । एउटा सुनिल पोखरेल कहिले गुरुकुल आरोहण त कहिले ‘ज्ञ’ मा लागिरहेको हुन्छ । सरकारले संगीत नाटक प्रज्ञा प्रतिष्ठान खोलेको छ, तर सिर्जनाका नयाँ लकिरहरू कोर्न चाहेको देखिँदैन । 

चाहिने र नचाहिने हरेक ठाउँमा देशको शासन नकारात्मक हिसाबले परम्परावादी छ । यो वातावरणमा पनि कालिकास्थानको बाँसबारीतिर सर्वनाम, अनामनगरमा मण्डला र बत्तीसपुतलीतिर शिल्पि थिएटर र नाटकको कुरा सुनिन्छ । त्यहाँ अभिनय र रंग साहित्यको सामयिक मर्म सुनेर झोक्राउन पाइन्छ । समयका हिसाबले हिजो पनि नेपाली नाटकको अवस्था उस्तै थियो । अहिले पनि उस्तै छ । हो, अलिकति बजारको शैली छिर्न खोजेको छ, छिरिसकेको छैन ।

रंगमञ्चमा सक्रिय सबै कलाकारले आफ्नो महत्व स्थापित गरिसकेका छन् । तिनको व्यक्तित्वको चर्चा गर्नुभन्दा पनि तिनका सिर्जनाका बारेमा नयाँ सूचना र जानकारी आउनु आवश्यक छ । ती व्यक्तित्वमध्ये एक जना हुन्— ‘घिमिरे’ युवराज । घिमिरे युवराजको यात्रा रोचक छ । पत्रकारिताबाट कलाकारितामा । फुटपाथबाट स्टेजमा । रंगमञ्चका कलाकारमा शक्ति र सौन्दर्य दुवै चाहिन्छ । युवराजमा त्यो शक्ति र सामथ्र्य दुवै छ । ऊ शारीरिक एवं बौद्धिक हिसाबले रोचक कलाकार हो । माधवी नाटकमा युवराजले आफूलाई जुन रूपमा र जुन भूमिकामा प्रस्तुत गरेको थियो त्यो निकै दामी थियो । नेपाली रंगमञ्चका कलाकारहरू आलोचनाबाट अलि परै रहन्छन् ।

उनी अहिले तयारीमा लागेका छन्, नाटक ‘शिरीषको फूल’ । पारिजातको यो कृतिको नाट्य रूपान्तरणमा उनी आफैं लागेका छन् । यो नै नाटकको सबैभन्दा अप्ठेरो र विवादास्पद पक्ष पनि हो । नेपाली भाषामा जोखिम उठाउनुपर्छ । त्यो जोखिम नउठाए मज्जा आउँदैन, किनभने यसमा अभिव्यक्तिका सर्त र सूत्र निकै धेरै छन् । अंग्रेजी भाषामा त्यस्तो जोखिम हुँदैन ।

युवराजका लागि नाटक आफूभित्रका राजनीतिक एवं सामाजिक असन्तोष अभिव्यक्त गर्ने माध्यम हो । उनले रंगमञ्चमा पनि अहिलेसम्म आफूलाई सन्तुष्ट तुल्याउन सकेका छैनन । अहिले उनी आफनो ‘रंग र भाषा’को खोजीमा छन् : घिमिरे युवराज नाटकमा 

आफ्नै परिभाषा र मौलिकताको खोजीमा छन् । नाटकमा विकासका लागिभन्दा पनि फराकिलो संवेदनाका विविध रूपलाई खास स्वरूप दिने नेपाली नाटकको आवश्यकता उनले सोचेका छन् ।

युवराजलाई लाग्छ, अहिले समाजमा जे–जति पनि सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपान्तरण भैरहेका छन् त्यसको नाट्यावतार तयार पार्न कठिन छ । आखिर नाटक अदालत त होइन, जहाँ गएर पात्रले आफ्ना पीडा न्यायाधीशलाई सुनाओस् । आफ्नो भूमिकालाई भरपुर भोग्न नपाएको पीडा । 

युवराजले नाटकलाई विशुद्ध कलाभन्दा बाहेक अरू केही सोचेका पनि छैनन् र बनाएका पनि छैनन् । शिल्पि थिएटरको आफ्नै बक्स अफिस छ । शिल्पिका प्रस्तुतिहरूमा लाटो पहाड, कोमा, माधवी र दीक्षान्तले नाटकीय अभिव्यक्तिको उच्चता आर्जन गरेको छ । ती नाटकले बक्स अफिस कलेक्सन पनि राम्रै गरे भन्नुपर्छ । पछिल्लो नाटक ‘अनि देउराली रुन्छ’ चलेको चल्यै गर्‍यो । नेपाली नाटकका दर्शकहरू नोस्टाल्जिक भएर देउराली हेर्न आए, तर अहिलेको प्रस्तुति फरक थियो । यसलाई काठमाडौंको जेब्रा क्रसिङको समस्याका रूपमा राख्न खोजे युवराजले । मलाई पनि उनको त्यो कलात्मक विचार मन पर्‍यो । 

अनि यो वार्ताको रमाइलो पाटो । युवराज भन्छन्— पुरुषहरू जति पनि आएका छन् नाटकमा, ती सबै अलिकति चर्चित हुनेबित्तिकै सिनेमाको संसारतिर लहस्सिइहाल्छन्, तर नारीहरू त्यस्ता छैनन् । शकुन्तला शर्मा गुरुङ र निशा शर्माले नेपाली नाटकको विरासत धानेका छन् भन्नु अतिशयोक्ति हुनेछैन । यो यात्रामा अहिले सरिता गिरी, अरुणा कार्की, सृजना सुब्बा, पवित्रा 

खड्काजस्ता कर्मठ अभिनेत्रीहरू सक्रिय छन् । नारीकेन्द्रित नाटकहरूको पनि अभाव छैन । अभि सुवेदीका नाटकहरू नारीकेन्द्रित छन् । सरुभक्त, युग पाठक तथा कुमार नगरकोटीजस्ता लेखकहरू नाट्य लेखनतिर राम्रो झुकाव राख्छन् ।

नेपाली नाटकमा केही भएको छ । केही हुँदैछ । गुरुकुलले नाटक देखाउँदा टिकटको मूल्य २५ रुपैयाँ थियो । अहिले महँगिएको छ । यसैबाट पनि थाहा हुन्छ,साँच्चै केही भएको छ । शिल्पि स्थापनाका १५ वर्ष बिते । थिएटर वातावरण हो । यसले सामाजिक वातावरणलाई सन्तुलनमा राख्न मद्दत पुुर्‍याउँछ । 

 

प्रकाशित :श्रावण २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्