प्रेमका भिन्न रुप

- सुविन भट्टराई

श्रावण १, २०७४-
हिजोसम्म प्रेमलाई उच्च देख्नेहरू आज एकाएक तुच्छ देख्न थाल्छन् । हिजोसम्म प्रेमलाई फूलको गुच्छा देख्नेहरू आज एकाएक फुस्सा भन्न थाल्छन् ।

हामी अक्सर प्रेमलाई अत्तरमा चोबलिएर मगमगाउँदै आएको देख्छौँ । त्यही अत्तरमा चोबलिएर आएको प्रेमको भित्री गन्ध थाहा नहुँदा हाम्रो धारणा सोत्तर हुन्छ । 

हामी प्रेमलाई सुसेली हाल्दै अनि गुनगुनाउँदै आएको एउटा मीठो आवाज सुन्छौँ । त्यही गुनगुनाउँदै आउने प्रेमभित्रको बेसुरा राग कहिल्यै नसुनेको हुन सक्छौँ । प्रेमको त्यो स्वरूप देख्यौँ भने मीठो संगीतको धुनले पनि भयभीत हुन सक्छौँ । 

हामी प्रेमलाई वर्षात् देख्छौँ, एउटा रंगीन छाता देख्छौँ अनि त्यही छातामुन्तिरको साथ देख्छौँ । रेस्टुराँ, कफी अनि मीठा कुरा देख्छौँ । हामी प्रेमलाई बाढी र पहिरोमा परेको कहाँ देख्छौँ ? हामी प्रेमलाई आकाशमा उडेको देख्छौँ, गहिरोमा झरेको कहाँ देख्छौँ ? हामी प्रेममा डुब्न चाहन्छौँ, तर प्रेमले डुबाएको हेर्न सक्दैनौँ । हामी प्रेममा उड्न चाहन्छौँ, तर झरेको हेर्न रुचाउँदैनौँ ।

हामी प्रेमलाई ढुकढुकीमा सुन्छौँ, सपनामा बुन्छौँ, कल्पनामा उन्छौँ अनि परेलीमा थुन्छौँ, तर प्रेम ढुकढुकीमा मात्र सुनिँदैन, कहिलेकाहीं थप्पड र चिच्याहटमा पनि सुनिन्छ । भीड र कोलाहलमा पनि गुञ्जिन्छ । प्रेम सपना र कल्पनामा भन्दा यथार्थमै बढी बुझिन्छ । प्रेम बुझिने ठाउँमा मात्र बुझिँदैन । प्रेम नबुझिने ठाउँमा अझ बढी बुझिन्छ । परेलीमा मात्र थुनिने प्रेम  हुँदैन । आँसुमा उनिने पनि 
प्रेम हुँदो रहेछ ।

बैँस न हो, कोही आगो बनेर आउँछ भने उम्लिएरै छाड्छ । त्यो उम्लिनु प्रेम हो अनि उम्लिनुजस्तै पोखिनु पनि प्रेम नै हो । बल्नुजस्तै निभ्नु पनि प्रेम हो । वर्षौंदेखि उस्ताको उस्तै टिकिरहने पीपलको रूखजस्तो प्रेम पनि प्रेम हो । आकार फेरिरहने बादलजस्तै बद्लिरहनु पनि प्रेम हो । प्रेम चढ्ने चिज मात्र होइन । अहँ, हुँदै होइन । ओर्लने चिज पनि प्रेम हो । 

गुलाफ र चमेलीको सुगन्धले मगमगाउने प्रेम पनि प्रेम हो र काखीको पसिनाको दुर्गन्धले सताउने प्रेम पनि प्रेम हो । स्पर्शले कुत्कुत्याएको कुरा मात्र नगर साथी, पर्स रित्याएको कुरा पनि गर । छोएको कुरा मात्र नगर, रोएको कुरा पनि गर । धोइएको, टिलिक्क भएको कुरा मात्र प्रेम नहुँदो रहेछ, मैलिएर कट्कटाएको कुरा पनि प्रेम हुने रहेछ । छोपिएको कुरा मात्र प्रेम नहुँदो रहेछ, उध्रिएर कहाँ–कहाँ देखिएको कुरा पनि प्रेम हुँदो रहेछ ।

प्रेमको एउटै मात्र रूप हुँदैन, जसरी फरक देखिन्छ मान्छे हरेक कोणबाट । अगाडिबाट प्रस्ट चिनिन्छ जसलाई, जरुरी छैन पछाडिबाट पनि उस्तै गरी चिनिऊन् । दायाँबाट जस्ता देखिन्छन्, जरुरी छैन, बायाँबाट पनि उस्तै, दुरुस्तै देखिऊन् । प्रेमका रूप हजार । प्रेमका रंग हजार । 

प्रेम न हो । जीवनकै एउटा प्रमुख पाटो । प्रेमले पनि जीवनजस्तै भोगाइका धेरै चरण पार गर्छ । प्रेमले पनि एउटा यात्रा तय गरेको हुन्छ, जीवनले जस्तै । प्रेम भिज्ने चिज हो भने, सुक्ने चिज पनि हो । प्रेम केही समय थाक्छ पनि, अनि तुरुन्तै आराम पाउँछ पनि । प्रेम घरी रोकिन्छ पनि, घरी दौडिन्छ पनि । प्रेम फाट्ने चिज हो भने सिलाउँदै लैजाने चिज पनि हो । आगो, पानी, घाम, खडेरी, बाढी, पहिरो, अभाव, सुख, दु:ख यी सबै चिजबाट प्रेम गुज्रिएन भने, यी सब चिजलाई प्रेमले नजिकबाट नियाल्न सकेन भने, प्रेम कमजोर हुन्छ । ठाँटिएको स्वरूपमा मात्र प्रेम देखिँदैन, फाटेको कुरूपतामा पनि प्रेम भेटिन्छ । यी सबै चरणबाट गुज्रनेले वास्तविक प्रेम बुझेको हुन्छ । सम्पन्नतालाई अंकमाल गर्न सक्नुमात्र प्रेम होइन, कमजोरीलाई बाल दिन सक्नु पनि प्रेम हो । 

प्रेम सबै चरणबाट गुज्रिनुपर्छ । प्रेमले धेरै थोक देख्नुपर्छ । बस् † प्रेम थाक्नु हुँदैन । रोकिनु हुँदैन । प्रेम कुनै पनि कुराबाट छेकिनु हुँदैन । 

 

प्रकाशित :श्रावण १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्