त्रिवेणीधाममा घुइँचो

- नारायण शर्मा

श्रावण १, २०७४-
नवलपरासीस्थित त्रिवेणीधाममा हरेक साउने सोमबार सबै उमेर समूहका भक्तजनको घुइँचो लाग्छ । सोमबार त्रिवेणीमा नुहाएर यहाँको जल कुनै पनि शिवालयमा चढाउँदा मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ । नेपालबाहेक भारतको मोतीहारी, बेतिया, बगाह, अरेराज, दरभंगा, महाराजगन्ज, कुशीनगर, बगौना, निच्लौल, गोरखपुर, पटना तथा अयोध्याबाट हजारौं भक्त साउनमा त्रिवेणी आइपुग्छन् । नेपालकै बारा, पर्सा, रौतहट, सप्तरी, सिराह, मकवानपुर, चितवन, तनहुँ, कपिलवस्तु, दाङ, नवलपरासी तथा तनहुँका भक्तजन पनि उत्तिकै हुन्छन् यहाँ ।

गेरुवस्त्रधारीहरू लस्करै खाली खुट्टा हिँडेर आउँछन् भने कतिपय गाडीमा पनि आउने चलन छ । श्रद्धालुहरू यहाँ अघिल्लै दिन त्रिवेणीधाममा आएर रात बिताउँछन् र सोमबारका दिन एकाबिहानै जल लिएर फर्कछन् । उक्त जल रुपन्देहीको पर्रोहा, नवलपरासीको दाउन्ने, कावासोतीको नर्मदेश्वर शिवालय, मौलाकालिका मन्दिर, चोरमाराको ल्होसेधारा, देवघाट, पशुपतिनाथ वा नजिकका शिलालयहरूमा चढाइन्छ । भारतीय तीर्थालुहरूले यहाँको जल बिहारको अरेराज र उत्तरप्रदेशको इटहिया तथा गोरखनाथ मन्दिरमा चढाउने चलन छ । जल चढाउन आउनेहरूमा हरेक वर्ष टिनएजर्सहरूको संख्या बढ्दै गएको स्थानीय बासिन्दा प्रेमचन्द्र रौनियार बताउँछन् । 

स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीको जल विभिन्न शिव मन्दिरहरूमा चढाउने चलन सैयौं वर्ष पुरानो हो । त्रिवेणीमा दर्जनौं मठ मन्दिरमा धुनी जगाउने र पूजाआजा गर्ने चलन पनि छ । त्रिवेणी आउनेहरू बजारबाट २ किलोमिटर उत्तरमा अवस्थित यस भेगकै प्रसिद्ध गजग्राह पनि पुग्छन् । गरुडपुराणमा उल्लेख भएअनुसार गजग्राह पौराणिक कालमा हात्ती र गोहीको लडाइँ भएको स्थान हो । साउनमा त्रिवेणी आउनेहरूले गजग्राहको जल लगेर घर–घरमा राख्ने चलन पुरानै हो । यतिबेला यहाँबाट लगिएको जल वर्षभरि गरिने पूजाआजामा प्रयोग हुन्छ । त्रिवेणीमा हरेक माघेऔंसीमा विशेष मेला लाग्छ । त्रिवेणीधाम पूर्व–पश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिण भारतीय सीमानजिक छ ।
 

 

प्रकाशित :श्रावण १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्