Teej banner

पुराना नोटको प्रदर्शनी

- साप्ताहिक संवाददाता

असार ३१, २०७४

कतिपय वस्तु जति पुराना हुन्छन्, त्यति नै मूल्यवान् हुन्छन्, त्यसैले भनिएको हुनुपर्छ— ओल्ड इज गोल्ड । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत आइतबार सम्पन्न तीनदिने नोट मेलामा ठ्याक्कै यस्तै दृश्य देखियो । पुराना नोटका संकलकहरूले आफूले संकलन गरेका पुराना नोटको आकर्षक मूल्य प्राप्त गरे । 

नेपालमा पहिलो पटक वि.सं. २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो । त्यतिबेलाका नोटमा खजाञ्चीले हस्ताक्षर गर्थे । नेपालको पहिलो नोटमा हस्ताक्षर गर्न पाउने पहिलो भाग्यमानी खजान्ची जनकराज थिए । उनको पालामा ५, १० र १ सय मोरु निष्कासन भएको पाइन्छ । त्यसपछि खजान्चीकै रूपमा भरतराज र नरेन्द्रराजले नेपाली नोटमा हस्ताक्षर गरे । वि.सं. २००९ मा नरेन्द्रराजको पालामा मोरु १ निष्कासन भयो । वि.सं. २०१६ मा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि मात्र गभर्नरले नोटमा हस्ताक्षर गर्ने चलन सुरु भएको हो । पहिलो गभर्नरका रूपमा हिमालयशमशेर राणाले नोटमा हस्ताक्षर गरेका थिए । 

मुद्रा संकलकहरूले अहिले ७५ वर्ष अघिदेखिका पुराना र दुर्लभ नोटहरू संकलन गरेर राम्रै आम्दानी गरिरहेका छन् । भारतको नासिकस्थित सेक्युरिटी प्रिन्टिङ प्रेसमा छापिएका ती नोटको मूल्य अहिले २ हजारदेखि ६० हजार रुपैयाँसम्म पर्छ । नेपाल मुद्रा संकलक संघका अध्यक्ष शंकर श्रेष्ठ पुराना मुद्राबाट आकर्षक आम्दानी भैरहेको बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा जस्तो नेपालमा पुराना नोटको सरकारी मूल्य निर्धारण गरिएको छैन । श्रेष्ठ भन्छन्— सबैभन्दा पहिले प्रचलनमा आएको सय रुपैयाँको नोट ६० हजार रुपैयाँसम्ममा बिक्री हुन्छ भने दोस्रो सय रुपैयाँको नोट २० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । श्रेष्ठका अनुसार पहिले प्रचलनमा आएको हजार रुपैयाँको नोटको मूल्य अहिले ८/९ हजार रुपैयाँ छ भने पहिलो ५ सय रुपैयाँको नोटको मूल्य झन्डै ५० हजार रुपैयाँ पुगेको छ ।

वि.सं. २०५२ मा राजा वीरेन्द्रको शुभराज्यारोहणको रजतजयन्तीका अवसरमा निष्कासित तथा अहिले बजारमा नरहेको २ सय ५० रुपैयाँको नोटलाई उक्त प्रदर्शनीमा १ हजार रुपैयाँको स्टिकर टाँसेर बेच्न राखिएको थियो । किनबेच नगरी संकलन मात्र गरेर बस्न गाह्रो छ, हाम्रो त आम्दानीको स्रोत नै यही हो, यसैबाट मैले घर खर्च चलाइरहेको छु, संकलक दुर्गाभक्त छुचोनले साप्ताहिकलाई बताए । यो प्रदर्शनीमा मात्र झन्डै ५०/६० हजार रुपैयाँको मुद्रा किनबेच गरेका छुचोनका अनुसार उनले यो आर्थिक वर्षमा मात्र ८/९ लाख रुपैयाँ बराबरका पुराना नोट किनबेच गरिसकेका छन् । 

मुद्रा संकलन नशा हो, फरक यति छ यसले स्वास्थ्य र सम्पत्ति बिगार्दैन । बरु सम्पत्ति बढ्दै जान्छ, अर्का मुद्रा संकलक जयहरि झाले बताए । नेपाली मुद्रासम्बन्धी पहिलो पुस्तक नेपालको कागजी मुद्रा एक समीक्षा प्रकाशित गरेका झाले वि.सं. २०३८ देखि मुद्रा संकलन गर्न थालेका हुन् । एक इटालियनले नेपाली मुद्राको अध्ययन गरेको देखेपछि झा पनि मुद्रा संकलनतर्फ आकर्षित भएका हुन् । एक दिनमा ५ लाख रुपैयाँसम्मको व्यापार पनि हुन्छ, कहिलेकाहीँ त्यत्तिकै पनि बस्नुपर्छ । झा भन्छन्— राम्रै आम्दानी भैरहेको छ । घाटा खाएर व्यापार गर्ने होइन । मुद्रा संकलकहरूलाई संगठित गर्नसमेत सक्रिय भूमिका खेलिरहेका झाले पुराना मुद्राको ठूलो व्यापारिक सम्भावना रहेको बताए । 

नेपाली बजारको प्रकृति र आकारका कारण मुद्राको किनबेचमा एकरूपता भने देखिँदैन । पुराना मुद्रा संकलन तथा कारोबारमा सक्रिय नेपाल मुद्रा संघका सदस्य तथा नेपाली मुद्रासम्बन्धी एक पुस्तकका लेखक श्याम खतिवडाका अनुसार अहिले पुराना कागजी नोटमध्ये मोरु ५ लाई २ हजार रुपैयाँ, मोरु १० लाई ३ हजार रुपैयाँ र मोरु १ सयलाई २० हजार रुपैयाँसम्म पर्ने गरेको छ । विशेष अवसर र परिस्थितिमा केही पुराना नोटको माग बढ्दा त्यस्ता नोटको मूल्य प्रतिथान २० हजार रुपैयाँसम्म पुग्ने खतिवडा बताउँछन् । 

पुराना मुद्रा संकलकहरूले विदेशी मुद्रासमेत संकलन गरेर किनबेच गर्ने गरेका छन् । जयहरि झा आफूसँग नेपाली मात्र होइन, विभिन्न देशका १४/१५ सय नोट संकलित रहेको दाबी गर्छन् । झाका अनुसार उनीसँग ४ हजारजति पुराना नेपाली मुद्राको संकलन छ । नेपालमा मुद्रा किनबेचमा सीमित मानिस संलग्न छन्, संघका अध्यक्ष श्रेष्ठ थप्छन्— तर जति छन्, उनीहरूले मुद्रा किनबेचमार्फत राम्रै आम्दानी गरिरहेका छन् । रहर र सौखका लागि मुद्रा संकलन गर्नेहरूको संख्या झन्डै ४ सय रहेको अनुमान गरिएको छ । 

संकलकहरूको मुद्रा संकलनको आधार पनि फरक–फरक छ । कसैले आकर्षक नम्बरमा, कसैले एउटै नम्बरमा, कसैले प्रिफेक्स र समान नम्बरमा, कसैले उल्टो–सुल्टो नम्बरमा, कसैले रंगमा देखिएको त्रुटि तथा कसैले नम्बरमा भएको त्रुटिका आधारमा नोटको संकलन गर्ने गरेका छन् । 

कुन नोट कहिले आयो ?

वि.सं. २०२६ मा पहिलो पटक १ हजार रुपैयाँको नोट निष्कासन भयो भने वि.सं. २०२८ मा ५ सय रुपैयाँको नोट निष्कासन भयो । डा. यादवप्रसाद पन्त गभर्नर रहेका बेला निष्कासित ती नोटमध्ये ५ सयको १ लाख थान र १ हजारको २ लाख थान नोट निष्कासन गरिएको थियो । वि.सं. २०३९ मा २० रुपैयाँको नोट निष्कासन भयो । हाल निकै प्रचलित रहेको २० रुपैयाँको नोटमा पहिलो पटक हस्ताक्षर गर्ने गभर्नर कल्याणविक्रम अधिकारी थिए । रमाइलो त के भने त्यतिबेला राजाको फोटोमा रंग नमिलेका कारण उक्त नोटलाई वि.सं. २०२६ देखि वि.सं. २०३९ सम्ममा तीन पटक फेरिएको थियो । पहिलो निष्कासनयता ५ सय रुपैयाँ र हजार रुपैयाँको नोटमा तीन पटक डिजाइन परिवर्तन भैसकेको छ ।

५० रुपैयाँको नोट पहिलो पटक वि.सं. २०३४ मा निष्कासन भएको थियो, त्यतिबेला राष्ट्र बैंकका गर्भनर कुलशेखर शर्मा थिए । वि.सं. २०३८ सालमा २ रुपैयाँको नोट निष्कासन हुँदा कल्याणविक्रम अधिकारी गभर्नर थिए । उक्त रुपैयाँको अगाडिपट्टि साँखुस्थित बज्रयोगिनी मन्दिर तथा पछाडि चित्तुवाको तस्बिर थियो । यसैगरी राजा वीरेन्द्रको राज्यारोहणको रजतजयन्तीका अवसरमा वि.संं २०५२ मा नेपाल राष्ट्र बैंकले २ सय ५० रुपैयाँ तथा २५ रुपैयाँ दरको नोट निष्कासन गरेको थियो । 

संसारमा कतै नभएको मूल्यमा त्यस्तो नोट निष्कासन भएको थियो । त्यतिबेला नेपाल राष्ट्र बैंकका गर्भनर सत्येन्द्रप्यारा श्रेष्ठ थिए । २ सय ५० रुपैयाँको अग्रभागमा तत्कालीन प्रतिनिधिसभा भवन तथा हनुमानढोकाको तस्बिर राखिएको थियो भने पछाडिको भागमा नीलगाईको तस्बिरसहित ब्याकग्राउन्डमा अन्नपूर्ण हिमाल राखिएको थियो । २ लाख प्रति छापिएको २ सय ५० रुपैयाँको नोट संस्मरणात्मक मात्र थियो भने ४ करोड प्रति छापिएको २५ रुपैयाँको नोट चलनचल्तीमा समेत आएको थियो । अहिले ती दुवै नोट चलनचल्तीबाट हराइसकेका छन् ।

 

नोट मेला 

गत असार २३ गते काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको नोट मेलामा नेपालमा विगतदेखि अहिलेसम्म विभिन्न गर्भनरका पालामा निष्कासन भएका १ सय ५४ प्रकारका नोट प्रदर्शनीमा राखिएका थिए । उक्त मेलामा १८ जना स्वदेशी मुद्रा संकलक तथा एक जना इटालियन मुद्रा संकलकले आफूले संकलन गरेका मुद्राहरू प्रदर्शनीमा राखेका थिए । 

नेपाली नोटका बारेमा जानकारी गराउने, नोटहरूको हिफाजत गर्न र संकलन गर्न प्रेरित गर्ने, इतिहासका बारेमा जानकारी दिने, कला–संस्कृति चिनाउने उद्देश्यसहित उक्त मेला आयोजित गरिएको आयोजक संस्था नेपाल मुद्रा संकलक संघका अध्यक्ष श्रेष्ठले बताए । उक्त मेलामा नेपाली मुद्रासहित १ सयभन्दा बढी देशका मुद्रा पनि प्रदर्शनमा राखिएको थियो । 

काठमाडौंमा नोट मेला पाँच वर्षपछि पुन: आयोजना गरिएको हो । अब हामी दुई/दुई वर्षमा नोट मेला गर्ने तयारीमा छौं, –अध्यक्ष श्रेष्ठले साप्ताहिकलाई बताए । मेलामा आगन्तुकहरूलाई जाली नोट चिन्ने उपाय समेत सिकाइएको थियो । उक्त मेलालाई ५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको दाबी आयोजकहरूको छ । 

मुद्रा किनबेचमा ठूलो सम्भावना छ

विगत २० वर्षदेखि पुराना मुद्राको संकलनमा सक्रिय छन्, पाटनका सुरेन्द्र श्रेष्ठ । बाउबाजेहरूले राखेका पुराना नोट देखेर यसतर्फ आकर्षित भएका श्रेष्ठले पछि यसलाई आफ्नो सौख बनाए । उनी अहिले मुद्रा संकलक संघको सदस्य पनि छन् । उक्त संघले पुराना मुद्राको संकलन एवं प्रवद्र्धन गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने, प्रदर्शनीहरू आयोजित गर्ने तथा मुद्रा संकलकहरूलाई ऊर्जा दिने काम गर्दै आएको छ । यसबाहेक संघले अनुसन्धान पनि गर्छ । संघले नक्कली नोटबाट सुरक्षित हुन विभिन्न जनचेतनामूलक कार्यक्रमहरूसमेत सञ्चालन गर्दै आएको छ भने नोटको सुरक्षाका सम्बन्धमा पनि विभिन्न कार्यक्रम गरिरहेको बताइन्छ । 

पुराना मुद्रा संकलनको अवस्था अहिले कस्तो छ ? 

नेपालमा मुद्रा किनबेचको वैधानिक कारोबार गर्न मिल्दैन । एक्सचेन्ज मात्र गर्न पाइन्छ । हामी यो व्यवसायलाई लिगलाइज गर्ने प्रयास गर्दैछौं । केहीले काम गरिरहेका छौं, कानुनसम्मत बनाएर काम गर्छौं । ट्याक्स तिर्ने वातावरण बनाउँदा सरकारलाई पनि राम्रो हुनेछ । हामी विदेशी नोटको संकलनमा पनि काम गर्छौं । नेपालमा विदेशी नोट कलेक्सन गर्नेहरू पनि प्रशस्तै छन् । 

नेपालमा यसलाई व्यवसायका रूपमा अघि बढाउन सकिने सम्भावना छ ?

धेरै सम्भावना छ । कानुनले केही बन्देज गरिरहेको छ । हामी सबै निकायमा छलफल गरिरहेका छौं । सरकारले हाम्रो कुरा बुझिदियो भने राम्रो हुन्छ । भारतलगायतका धेरै देशमा यो काम भैरहेको छ । त्यहाँ महिना–महिनामा अक्सन भैरहेका हुन्छन्, जसबाट राज्यले पनि प्रशस्त लाभ उठाइरहेको छ ।

मुद्रा संकलन र किनबेचका सम्भावना के–कस्ता छन् ?

धेरै सम्भावना छन् । अन्तर्राष्ट्रिय रूपमा पनि ठूलो सम्भावना छ । विदेशीहरू नेपालको रुपैयाँ देख्नेबित्तिकै मरिहत्ते गर्छन् । नयाँ नोट निस्कनेबित्तिकै उनीहरूले त्यसको माग गर्छन् भने हामीले चार्ज लिएर उनीहरूलाई नयाँ नोट सप्लाई गर्छौं । 

नेपाली मुद्राहरुको प्रदर्शनी 

 

प्रकाशित :असार ३१, २०७४

तपाईको प्रतिक्रिया