म्युजिक भिडियोका स्टार

- सुव्रत आचार्य

असार ३१, २०७४-

मेनुका प्रधान र गौरव पहारीले हेमन्त रानाको गीत सुन साइँलीको म्युजिक भिडियोमा काम गरेर यति चर्चा कमाए कि त्यत्तिको चर्चा उनीहरूले चलचित्रबाट पनि पाएका थिएनन् । जबकी मेनुका र गौरव म्युजिक भिडियोका रेगुलर मोडल होइनन्, चलचित्रमा व्यस्त उनीहरू यदाकदा मात्र म्युजिक भिडियोमा देखिन्छन् । हेमन्तको सुन साइँलीपछि गौरव र मेनुकाले क्रमश: साइँला र साइँलीको उपनाम पाएका छन् । चलचित्रमा काम गर्ने प्राय: सबै अभिनेता–अभिनेत्रीले आक्कल–झुक्कल म्युजिक भिडियोमा काम गर्दै आएका छन् । यद्यपि उनीहरू चलचित्रकै ‘स्टार’ हुन्, म्युजिक भिडियोमा भने अरू नै स्टार छन् । अहिलेका सर्वाधिक व्यस्त म्युजिक भिडियो स्टारको खोजी गर्ने क्रममा साप्ताहिकले सर्वाधिक म्युजिक भिडियो सम्पादन गरेका भिज्युअल एडिटरहरू निशान घिमिरे, भरत रेग्मी र टेकेन्द्र शाह, म्युजिक भिडियोका व्यस्त छायांकार अर्जुन तिवारी तथा म्युजिक भिडियोका व्यस्त निर्देशक विशाल भण्डारी, निकेश खड्का एवं अर्जुन अधिकारीसँग छलफल चलाएको थियो ।  

पुरुष मोडल

पुष्प खड्का : चलचित्र अझै पनिको सहायक भूमिकामा देखा पर्नुअघि पुष्प म्युजिक भिडियोमै व्यस्त थिए । निर्देशक आलोक नेम्वाङको निर्देशनमा उनले दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेका थिए । अहिले चलचित्र दर्पणछायाँ–टुले सफलता नपाए पनि पुष्पको चर्चा राम्रै छ । उनलाई आफ्नो म्युजिक भिडियोमा काम गराउने चाहना धेरै गायक–गायिका तथा संगीतकर्मीहरूमा पाइन्छ । २ सयजति म्युजिक भिडियोमा काम गरिसकेका पुष्पले अभिनय गरेको चलचित्र मंगलम प्रदर्शनको क्रममा छ ।

निराजन प्रधान : निराजन प्रधान म्युजिक भिडियोका सर्वाधिक व्यस्त मोडल हुन् । रोमान्टिक छवि बनाएका निराजनले अभिनय गरेको चलचित्र जालो प्रदर्शन भैरहेको छ । राम्रो भूमिका पाए चलचित्रमा अभिनय गर्ने रहर बोकेका निराजनलाई रोमान्टिक गीतमा बढी देखिन्छ । प्रधान नृत्यका साथै अभिनयमा समेत राम्रो मानिएका छन् । 

गम्भीर विष्ट : गम्भिर विष्ट नृत्य निर्देशक हुन् भने उनले आफूलाई राम्रो अभिनेताका रूपमा पनि प्रमाणित गरिरहेका छन् । नाच्नुपर्ने गीतमा गम्भिर म्युजिक भिडियो निर्देशकहरूको रोजाइमा पर्छन् । उनलाई मोडलका रूपमा लिँदा नृत्य निर्देशकको अभिभारासमेत बोक्छन् भन्ने कारणले पनि गम्भिरलाई निर्देशकहरू विशेष रुचाउँछन् । 

विनोद न्यौपाने : चलचित्र कमलेको बिहेको ट्रेलरमा सहायक भूमिका देखिएका विनोद न्यौपानेले एक सयजति म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् । छायांकनका बेला निकै रमाइलो गर्नुपर्ने न्यौपाने राम्रो नृत्यकलाकार पनि हुन् । 

अनिल थापा : एकताका आलोक नेम्बाङका म्युजिक भिडियोहरूमा सर्वाधिक देखिएका अनिल थापा चलचित्रमा भने त्यति जम्न सकेनन् । अनिल मुख्य भूमिकामा रहेका चलचित्र झेली, हेल्लो प्रकृति तथा पद्मिनीले उनलाई चलचित्रमा स्थापित गराउन नसके पनि म्युजिक भिडियोहरूमा भने उनी निकै जमेका छन् र व्यस्त पनि छन् । 

महिला मोडल 

प्रियंका कार्की : प्रियंका कार्की चलचित्रमा जति व्यस्त छिन्, म्युजिक भिडियोमा पनि उत्तिकै सक्रिय देखिन्छिन् । अचेल चलचित्रलाई पहिलो प्राथमिकतामा राख्न थालेकी प्रियंकाको करियर म्युजिक भिडियोबाटै प्रारम्भ भएको हो । त्यसैले पनि प्रियंका कार्की म्युजिक भिडियो मोहबाट टाढा जान सकेकी छैनन् । प्रियंकाले ३ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भने अहिले पनि उनी चलचित्रबाट फुर्सद भयो कि म्युजिक भिडियोको छायांकनमा व्यस्त भैहाल्छिन् । 

केकी अधिकारी : केकी अधिकारीको कथा पनि प्रियंका कार्कीको जस्तै छ । म्युजिक भिडियोबाटै करियर बनाएकी केकी पनि चलचित्रको छायांकन वा काम नहुँदा म्युजिक भिडियोमा अभिनय गर्न समय निकाल्छिन् । उनले पनि ३ सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । 

वर्षा राउत : वर्षा राउत पनि म्युजिक भिडियोको बाटो हुँदै चलचित्र अभिनेत्री भएकी हुन् । चलचित्रको छायांकन नभएका बेला उनलाई घरमा यत्तिकै बस्न मन लाग्दैन । काम गरिरहेका निर्देशक एवं टिमबाट राम्रा गीतको अफर आउँदा उनी अहिले पनि म्युजिक भिडियोमा अभिनय गर्न तम्सिन्छिन् । वर्षाका अनुसार चलचित्र वर्षको एक, दुई वा तीनवटा खेलिएला, अरू बेलामा म्युजिक भिडियोले खर्चको जोहोसमेत गरिरहेको हुन्छ । 

वर्षा शिवाकोटी : दुई सुपरहिट चलचित्र नाइँ नभन्नु ल–२ र पशुपतिप्रसादमा अभिनय गरे पनि बर्षा शिवाकोटी अझै चलचित्रमा जम्न सकिरहेकी छैनन् । सुन्दरता, अभिनय एवं नृत्यकी संगम शिवाकोटीले अभिनय गरेको चलचित्र लप्पनछप्पन भने त्यति चलेन । अहिले उनको अर्को चलचित्र कारखाना प्रदशोन्मुख छ । म्युजिक भिडियोमा भने वर्षा शिवाकोटीको माग उत्तिकै छ । 

अलिशा राई : म्युजिक भिडियो तथा सर्ट फिल्मबाट युट्युबमा पहिल्यै हिट भैसकेकी अलिशा राईलाई चलचित्र लुट–टले आमदर्शकमाझ चिनायो । लुट–टुको ठमेल बजार गीत सुपरहिट भएपछि अलिशाले पछाडि फर्केर हेर्नुपरेको छैन । अलिशा अहिले चलचित्रमा भन्दा म्युजिक भिडियोमै व्यस्त छिन् । 

यी पनि 

म्युजिक भिडियोमा केही हदसम्म व्यस्त मोडलहरूमध्ये अशिष्मा नकर्मी, नीता ढुंगाना, सम्पदा बानियाँ, नम्रता सापकोटा, अनु शाह, रीमा विश्वकर्मा, बेनिशा हमाल, माला लिम्बू, ज्योत्सना योगी आदि अग्रपंक्तिमा छन् । पुरुष मोडलहरूमा एकताका म्युजिक भिडियोमा निकै व्यस्त पल शाहले म्युजिक भिडियोमा अभियन गर्न छाडेका छन् भने आकाश श्रेष्ठ, रञ्जन रिजाल, यशराज गराच, सनम कठायतहरू म्युजिक भिडियोमा समेत व्यस्त छन् । 

 

नयाँ अनुहार

म्युजिक भिडियोमा धेरैले अभिनय गरे होलान्, तर व्यस्त हुनु ठूलो कुरा हो । यसरी व्यस्त हुने नयाँ अनुहारमा जेविका कार्की, प्रशंसा भट्टराई, श्रद्धा प्रसाईं, फिरोज तिमिल्सिना, विकास लामिछाने, सौरभ अधिकारीहरू अग्रपंक्तिमा छन् ।  

प्रकाशित :असार ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्