बोलबममय भए शिवालयहरू

- साप्ताहिक संवाददाता

असार ३१, २०७४-

 

 

साउन महिनाको विशेषता हो– बोलबम जाने परम्परा वा संस्कृति । बोलबम संस्कृतिको विकास भारतको झारखण्डस्थित देवघर तीर्थस्थलमा रहेको वैद्यनाथ बाबाधामबाट भएको मानिन्छ । यसको प्रभाव भारतको पूर्वी उत्तरप्रदेश, उत्तरी बिहार एवं नेपालको पूर्वी तराईमा बढी देखिन्छ । बाबाधाम वा वैद्यनाथधामबाट सुरु भएको बोलबम नेपालमा चतराधाम, पिण्डेश्वर हुँदै नेपालभर फैलिएको छ । बोलबम हिन्दू धर्मावलम्बीहरूद्वारा साउन महिनाको सोमबार भगवान् शिवलाई जलाभिषेक गरी पुण्य प्राप्त गर्ने उद्देश्यले गरिने कर्म हो । साउन भगवान् शिवको प्रिय महिना मानिएकाले यो महिनाको सोमबार गेरु रंगको वस्त्र पहिरिएर खाली खुट्टा पैदल यात्रा गर्दै नजिकको नदी, पोखरी, कुण्ड वा तालतलैयाबाट जल ल्याएर शिवालयमा गरिने अर्पणलाई बोलबम भनिन्छ ।

 

बोलबम यात्राका क्रममा भक्तजनले बोलबम, बोलबम भन्दै शिवजीको जयजयकार गर्छन् । गेरु वस्त्र धारण गरी बोलबममा विधिपूर्वक सहभागी हुने भक्तजनलाई बम भनिन्छ । बमहरू लोकल बम र डाक बम गरी दुई किसिमका हुन्छन् । जलाशयमा जल भरेर त्यहाँबाट शिवालयसम्म पुग्ने उद्देश्यले खाली खुट्टा पैदल हिँडेर वा दगुरेर मन्दिरसम्म पुगी जलाभिषेक गर्ने बमलाई डाकबम भनिन्छ भने कुनै यातायातको साधनमा चढी मन्दिरसम्म पुग्ने बमलाई लोकलबम भनिन्छ । बमहरूले जल बोक्न प्रयोग गर्ने बाँसको भाटालाई काँवर भनिने हुँदा बमलाई काँवरियाको नामले समेत चिनिन्छ । 

 

बोलबम संस्कृतिको महत्वपूर्ण र काँवरियाहरूले सबैभन्दा लामो पैदलयात्रा गर्नुपर्ने तीर्थस्थल भारतको झारखण्डमा पर्ने देवघर हो, जसलाई ठूलो बाबाधाम मानिन्छ । द्वादश ज्योतिर्लिङ्गमध्ये एउटा ज्योतिर्लिङ्ग मानिने उक्त शिवालयमा श्रावण महिनामा जलाभिषेक गर्न चाहने भक्तजन पहिले भारतको विहार प्रान्तमा पर्ने सुल्तानगञ्ज पुग्छन् । सुल्तानगञ्जबाट देवघर १ सय ५ किलोमिटरको दूरीमा छ । सुल्तानगञ्जको गंगाबाट कमण्डलुमा जल लिएर भक्तजन नाङ्गै खुट्टामा हिँडेर देवघर पुग्छन् । यसमा कतिपय भक्त शौचादि आधारभूत क्रियासमेत सम्पादन नगरी देवघर पुग्ने लक्ष्य लिएर हिँडेका हुन्छन् भने अन्य भक्तले पनि दिसापिसाब गरेको खण्डमा पुन: स्नानादि गरी शुद्ध हुनु आवश्यक मानिन्छ । नेपालका भक्तजन पनि आस्थाअनुसार कोही देवघर जान्छन् भने कोही गाउँघर नजिकै रहेको पवित्र शिवालयमा पुगेर जल चढाउँछन् । नेपालमा खासगरी धरानको पिण्डेश्वर, खोटाङको हलेसी, रुपन्देहीको पर्रोहा, राजधानीको पशुपतिनाथ, म्याग्दीको गलेश्वर आदि शिवमन्दिरमा बोलबमको रौनक देख्न सकिन्छ । भक्तहरू बोलबमले जीवनमा उमंग र उत्साह ल्याउने विश्वास गर्छन् । यसले सामाजिक रूपान्तरणमा समेत सहयोग पुर्‍याउनुका साथै मठमन्दिरको विकासमा समेत टेवा पुर्‍याएको पाइन्छ । व्यक्तिको सकारात्मक पक्षलाई उजागर गर्ने हुँदा बोलबमले हिंसाजन्य कार्यसमेत कम गर्छ । सुरुमा रमाइलोका लागि बोलबममा सक्रिय हुने युवायुवतीमा धर्मप्रति सचेतना बढेको पाइन्छ । 

 

बोलबमसँग जोडिएको किंवदन्तीअनुसार समुद्र मन्थन गर्दा कालकुट विष निस्कियो । उक्त विषले संसार डढाउन थालेपछि भगवान् शिवले विषलाई कण्ठ (घाँटी) मा राखेर सृष्टिको रक्षा गरे । विषपानका कारण शिवको कण्ठ नीलो भयो । उनलाई पनि विषले पोल्न थाल्यो । भगवान् शिवको जलन शान्त गर्न सबै देवी–देवता मिलेर उनलाई जल अर्पण गरे । त्यही परम्पराअनुसार साउन महिनामा शिवलिंगमा जलअर्पण गर्ने चलन चलेको हो । यही विश्वासका साथ बोलबमहरू शिवलाई जल अर्पण गर्छन् । यसका साथै शिवलिंग यौन र सृष्टिको प्रतीकात्मक रूप हो । त्यसमा जल अर्पण गर्नुको अर्थ यौनिकतासँग समेत जोडिएको छ । विशेष गरी साउनको हरेक सोमबार श्रद्धालुहरूले रातो, हरियो, पहेंलो वा गेरु वस्त्र लगाई दिनभर व्रत बसेर शिवको पूजा गर्ने तथा बोलबम यात्रा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । पाँचवटा सोमवार परेको साउन महिना अझ शुभ र पवित्र मानिन्छ, जुन यो वर्ष परेको छ । 

 

साउनमा शिवजीलाई अभिषेक गर्नु विशेष फलदायी हुन्छ । अभिषेक पानीबाहेक अन्य तरल पदार्थले समेत गरिन्छ । यसरी अभिषेक गर्दा फरक–फरक फल प्राप्त हुने विश्वास छ ।

 

 दूधको धाराले अभिषेक गर्दा मूर्ख व्यक्ति पनि विद्वान् हुन्छ भने गृहकलह शान्त हुन्छ ।

 जलको धाराले अभिषेक गर्दा सम्पूर्ण मनोकामना पूर्ति हुन्छ ।

 घिउको धाराले अभिषेक गर्दा वंश विस्तार एवं रोगनाश हुनुका साथै नपुंसकताबाट मुक्ति मिल्छ ।

अत्तरको धाराले अभिषेक गर्दा कामसुख एवं भोग वृद्धि हुन्छ ।

 महको धाराले अभिषेक गर्दा शत्रुनाश हुनुका साथै क्षयरोगमा राहत मिल्छ ।

 उखुको रसको धाराले अभिषेक गर्दा आनन्द प्राप्त हुन्छ । 

प्रकाशित :असार ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्