कस्तो हुन्छ कलेज लाइफ ?

- लक्ष्मी भण्डारी थापा

असार २९, २०७४-

 
कलेज गएपछि त मस्ती गरिन्छ...बिन्दास घुमिन्छ वा १२ वर्ष स्कुल पढ्दाको ह्याङओभरबाट मुक्ति पाइन्छ....भर्खरै स्कुले जीवनबाट पार भएका (एसइई परीक्षा उत्तीर्ण गरेका) धेरै विद्यार्थीको सोच यस्तै हुन्छ । कलेज लाइफ अत्यन्तै रमाइलो, केयर–फ्री अनि आफ्नै स्वनिर्णयमा रुचिका कुराहरू गर्न पाइने समय हो भन्ने बुझेका आमविद्यार्थीका लागि कलेज लाइफ बिताइरहेका अन्य विद्यार्थीहरूको अनुभव सुन्दा नितान्त फरक वा भिन्न लाग्न सक्छ । 
 
अहिले १२ कक्षा अध्ययनरत ह्वाइटफिल्ड कलेजका अमृत भारतीलाई कलेज गएपछि के–के न गरिन्छ होला भन्ने लागेको थियो, तर जब उनी कलेज भर्ना भए उनको सोच ठ्याक्कै उल्टो भयो । उनले सोचेजस्तो बिन्दास लाइफ होइन रहेछ कलेज लाइफ । यहाँ त अझ बढी जिम्मेवारी अनि समय कम हुँदो रहेछ । स्टिभ जब्स अनि बिल गेट्स र जुकरवर्गको उदाहरण दिँदै भारतीले भने– मेहनत र रुचिअनुरूपको क्षेत्रमा निरन्तरता दिन सक्नु ठूलो कुरा रहेछ न कि किताबी ज्ञान मात्र, तसर्थ अब कलेज लाइफ बिताउने विद्यार्थी आफ्नो क्षमता र रुचिमा अडिग रही कडा परिश्रमप्रति प्रतिबद्ध हुनैपर्छ । 
 
पिनाकल एकेडेमीकी छात्रा सिमरन शाक्य (मिस टिन अफ दि इयर–२०१६) लाई लाग्छ, कलेज लाइफ के–कस्तो क्षेत्रमा लाग्ने हो भन्ने गन्तव्यको पहिलो खुड्किलो हो । यसमा कलेज र शिक्षकले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । शाक्यका अनुसार यहाँ ९० प्रतिशत कलेज नाफामुखी भएकाले कमजोर विद्यार्थी ल्याएर उनीहरूलाई ट्यालेन्ट बनाउँछु भन्ने होइन कि टप विद्यार्थी तानेर आफ्नो कलेजलाई हिट बनाउँछु भन्ने मानसिकता हाबी छ । यस्तो प्रवृत्तिले विद्यार्थीमा कस्तो मानसिकता विकास गर्ला ? डाक्टर बनाउन चाहेका उनका अभिभावकलाई चुनौती दिँदै सिमरनले आफ्नो रुचि शिक्षकहरूसँग सेयर गर्न हिचकिचाइनन् । शिक्षकहरूकै सल्लाह–सुझावमा उनले ब्युटी प्याजेन्ट टाइटल जितिन् भने अहिले उनी एयर होस्टेजको तालिम पनि पूरा गर्दैछिन् । 
 
नोबेल कलेजका आभाषबाबु श्रेष्ठले टेलर स्विफ्टको प्रशंसामा भने– ९ कक्षा पढेकी यी गायिका विश्वप्रसिद्ध छिन् । उनीसँग नेम, फेम, पैसा सबै कुरा छ । यसो हुनुको पछाडि एउटै कारण हो, उनले आफूभित्रको क्षमता पहिचान गरी सोही क्षेत्रमा निरन्तर संघर्ष गरिन् । कलेज जीवन पनि यस्तै क्षमता उजागर गर्ने समय बन्नुपर्छ जसमा शिक्षक, प्रिन्सिपल सहयोगी बन्नुपर्छ । डाक्टर बन्छु भन्ने आफ्नो सोच कलेज लाइफकै कारण बदलिएको आभाषको अनुभव छ । आभाषले जब कलेज आएर धेरै कुरा महसुस गरे तब उनलाई आफूभित्र अरू नै क्षमता छ भन्ने लाग्न थाल्यो । उनलाई पनि लाग्छ, कलेज लाइफ त्यति सहज छैन । यो भविष्यको लक्ष्य निर्धारण गर्ने स्थान हो जसका लागि असल अभिभावकत्व आवश्यक हुन्छ । सबै जना पढ्ने–पढ्ने भन्छन्– यस्तो पढाइ पनि चाहिँदैन कि जसले आफूभित्रको क्षमता लुकाओस्, आभाषका अनुसार– आफूभित्रको अतिरिक्त क्षमतालाई लिएर निकाल्न र त्यसको विकास गर्न आफैं आत्मविश्वासी हुनुपर्छ तर सुझाव भने सबैको लिनुपर्छ । मुख्य कुरा कलेजले यसमा समन्वयनकारी भूमिका निर्वाह गर्नुपर्छ ।
 
ह्वाइटफिल्डकी निकिता लोहनीलाई कलेज गएपछि थुप्रै साथी बनाएर बिन्दास घुम्ने चाहना थियो तर उनको उक्त इच्छा विविध कारणले पूरा हुन सकेन । उनलाई लाग्छ, कलेज लाइफ स्कुलको ह्याङओभर बिसाउने वा मोजमस्ती गर्ने थलो होइन । कलेज भनेकै विद्यालय अध्ययन गर्दा अभिभावकले गरेको दु:ख र मेहनतको रिटर्नब्याक गर्ने, भविष्यको बेस बनाउने ठाउँ हो । भविष्यको सिंढी निर्धारण गर्ने यो स्थानमा उत्तिकै जिम्मेवारी पनि बोध हुँदै जान थाल्छ र त्यसको एउटा कारण बढ्दै गएको एज–फ्याक्टर पनि हो । 
पिनाकलमै अध्ययनरत धादिङका सुधाकर दाहाल व्यस्त कलेज लाइफ नै सफलताको संकेत हो भन्ने तर्क गर्छन् अन्यथा फुर्सदले युवालाई विभिन्न कुलतलगायत अन्य गलत काममा फसाउन सक्छ । कलेजमा बेस्ट लाइफ बिताउन कलेज फ्रेन्ड्ली भएर मात्र नहुने उनको धारणा छ, विद्यार्थीहरू पनि उत्तिकै फ्रेन्ड्ली हुनु आवश्यक छ । म गाउँबाट आएको ठिटो, पहिले उति नबोल्ने, एक्लै बस्ने खालको थिएँ । जब दसैंको बिदा सकेर कलेज फर्किएँ तब शिक्षक–प्राचार्य सबैले गाइड गर्नुभो, सुधाकरले भने– कलेजका कार्यक्रमको जिम्मेवारी पनि पाएँ, जसले ममा आत्मविश्वास बढाउँदै लग्यो । शिक्षकहरूकै गाइडेन्समा अन्य शिक्षक एवं प्राचार्यसँग पनि खुलेर कुरा गर्न थालें । मेरो अनुभवमा कलेज लाइफ सफल पार्न शिक्षकको गाइडेन्स सबैभन्दा महत्वपूर्ण हुन्छ ।
 
दाहाललाई दिदी–दाइहरूले कलेजमा एकदमै रमाइलो हुन्छ, जे मन लाग्यो त्यही गर्न पाइन्छ भन्नुहुन्थ्यो तर उनले कलेजमा नितान्त फरक वातावरण पाए । उनलाई त्यसो गर्दा भोलि भविष्य बिग्रन्छ भन्ने बोध हुन थाल्यो अनि दाहालले आत्मनियन्त्रणमा ध्यान दिन थालें । दाहाल भन्छन्– कलेज भनेको स्कुलमा जस्तो १ देखि १० कक्षासम्म एकै जना विद्यार्थी मात्र प्रथम भैरहने स्थान होइन रहेछ । यहाँ त आफ्नो क्षमता एवं प्रतिभाका आधारमा भविष्य तय गर्नुपर्ने हुन्छ । 
नोबेल एकेडेमीकी अनिशा खनाल कलेज लाइफलाई आफ्नो विकास र विस्तार गर्ने सुन्दर अवसरका रूपमा परिभाषित गर्छिन् । शिक्षकहरूले विद्यार्थीको क्षमताअनुरूप सहयोग तथा परामर्श दिनुपर्ने उनको बुझाइ छ । पाठ्यक्रमभित्रका कुरामा मात्र ज्ञान हुन्छ भन्ने होइन, अनिशाले भनिन्– एकै जना धेरै कुरामा अब्बल हुनु सहज कुरा होइन तर उ जेमा प्रखर छ त्यो क्षमता बुझेर शिक्षकहरूले पनि सल्लाह–सुझाव दिँदै उसलाई अघि बढ्ने वातावरण तयार पारिदिनुपर्छ अर्थात् बाटो देखाइदिनुपर्छ । मुख्य कुरा त शिक्षा शुद्ध हुनुपर्छ, व्यापार होइन् । खनाललाई कलेज लाइफको सबैभन्दा प्रमुख अनि जटिल विषय लाग्छ पढाइमा इगो हुनु । राम्रो कामका लागि इगो लिनैपर्छ भन्ने खनाल विद्यार्थीको स्वभाव हेरेर कलेजको व्यवहार पनि कडा र नरम हुनुपर्छ भन्ने धारणा राख्छिन् । कलेज लाइफ तब उत्तम बन्छ जब आफ्नो रुचिको विषय पढ्न पाइन्छ, अभिभावक अनि शिक्षकहरूले त्यसमा सहयोगी भूमिका निर्वाह गर्छन् भन्ने सोच राख्ने अनिशा नयाँ विद्यार्थीहरूलाई आफू जे बन्न सक्छौं र चाहन्छौं त्यो बन भन्ने सुझाव दिन्छिन् । कलेज लाइफमा प्राय: युवा बिग्रने डर हुन्छ भन्ने तर्कमा उनको भनाइ छ– यो विद्यार्थी आफैंमा निर्भर हुने कुरा हो । आफूले आफूलाई नियन्त्रण गर्ने र विल्डअप गर्ने जिम्मा त आफ्नै हो नि, न कि अरूले आएर बनाइदिन्छन्, अरूले सुझावसम्म दिन सक्छन्, तर यस्ता कुरामा विद्यार्थी आफैं सजग हुनुपर्छ ।
 
अनुभव सँगालिसकेका यी युवाको विचारमा कल्पना गरेजस्तो रहेनछ कलेज लाइफ । स्कुल सकिएपछि यिनीहरूले कलेजका बारेमा जे–जस्तो धारणा बनाएका थिए, कलेज लाइफलाई त्योभन्दा फरक पाएका यी छात्रछात्राले कलेजलाई थप जिम्मेवारी र भविष्य निर्धारण गर्ने प्लेटफर्मका रूपमा बुझेका छन् । कलेज लाइफलाई मोजमस्ती र रमाइलो गर्ने माध्यम बनाउन थालियो भने भविष्य अन्यौलमा पर्ने यी सबैको तर्क छ तसर्थ कलेज लाइफलाई जिवन सिँगार्ने सुनौलो अवसरका रूपमा लिनुपर्ने उनीहरूको सुझाव छ । 
पढाइ त्याग्ने पनि छन् 
 
कक्षा ११ मा भर्ना भएकामध्ये २७ हजारभन्दा बढी विद्यार्थीले कक्षा १२ नपुग्दै कक्षा छाड्ने गरेको पाइन्छ । राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार २०७२/०७३ मा कक्षा ११ मा भर्ना भएर परीक्षामा सहभागी २७ हजार ५ सय ८३ विद्यार्थी कक्षा १२ मा भर्ना भएनन् । २०७२  सालमा कक्षा ११ को परीक्षामा २ लाख ४३ हजार  ७ सय ८१ विद्यार्थी सहभागी थिए तर कक्षा १२ मा २ लाख १६ हजार १ सय ९८ विद्यार्थी मात्र परीक्षामा 
 
समावेश भएको उक्त तथ्यांकले देखाउँछ । 
कक्षा ११ को परीक्षामा सहभागी २ लाख ४३ हजार विद्यार्थीमध्ये १ लाख १९ हजार विद्यार्थी मात्र उत्तीर्ण भए भने १ लाख २३ हजार विद्यार्थी अनुत्तीर्ण भए । त्यसैगरी कक्षा १२ को परीक्षामा  सहभागी २ लाख १६ हजार विद्यार्थीमध्ये १ लाख १४ हजार विद्यार्थी मात्र उत्तीर्ण भएको परीक्षा बोर्डको तथ्यांकमा उल्लेख छ । २०७२/०७३ को तथ्यांकअनुसार यी  दुवै कक्षामा उत्तीर्ण हुने औसत संख्या १ लाख १२ हजार ७ सय ५९ मात्र छ ।   
 
 

प्रकाशित :असार २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्