थला परेको विश्वविद्यालयलाई स्थापित गराउँछु

- अनिल श्रेष्ठ

असार २९, २०७४-

सुन्दर–हरैचा नगरपालिकका नवनिर्वाचित मेयर हुन्— शिवप्रसाद ढकाल । १६ हजार ८ सय २१ मत ल्याएर निर्वाचित भएका ढकाल बन्दमुक्त नगरपालिकाको मेयर भएका छन् । उनी नेकपा एमालेको पकड क्षेत्र मानिने सुन्दर हरैचामा एमालेका केदारप्रसाद गुरागाईंलाई १ हजार ३ सय ४३ मतले पराजित गरी विजयी भएका हुन् । ढकाल नेपाली कांग्रेस मोरङका सह–सचिवका रूपमा समेत कार्यरत छन् ।  

तपाईंको पहिलो प्राथमिकता के हुन्छ ?

मेरो प्राथमिकता भनेकै पूर्वाधारको विकास हुनेछ । शिक्षा, स्वास्थ्य एवं रोजगारीमा पनि मेरो ध्यान केन्द्रित हुनेछ । नगरपालिकाले अव्यवस्थित रूपमा कर लगायो भन्ने जनगुनासो छ, यसलाई वैज्ञानिक बनाउनेछु । 

सुन्दर हरैचालाई कस्तो नगर बनाउने योजना छ ?

सुन्दर हरैचा नगरपालिका आफ्नै प्रयासमा विकास भएको नगर हो । यहाँ विकासका निम्ति चाहिने सम्पूर्ण पूर्वधारको व्यवस्थापन गर्नेछु । दैनिक जीवनमा आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, बालबालिकाका लागि मनोरञ्जन स्थल स्थानीय स्तरमै उपलब्ध गराउने योजना छ । युवा रोजगारी सिर्जना गर्नेदेखि यो नगरलाई सबैको साझा फुलबारी बनाउनेछु । यो नगरपालिका दुईवटा ठूला गाउँपालिका मर्ज भएर बनेको हुनाले यसलाई एकताको सूत्रमा बाध्नेछु । त्यस्तै थला परेको पूर्वाञ्चल विश्व विद्यालयलाई स्थापित गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ । 

स्रोत–साधनको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

आफ्नो अधिकारभित्र रहेर स्रोत–साधन जुटाउन लागिपर्नेछु । राज्यले दिने बजेट व्यवस्थित गरेर नगरको विकासमा खर्च गर्नेछौं । उद्योग तथा कलकारखाना आम्दानीका प्रमुख स्रोत हुनेछन् । स्थानीय हस्तकलालाई प्रवद्र्धन गरी आम्दानी गर्ने योजना पनि बनाइनेछ । 

 

 

प्रकाशित :असार २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्