सेक्रेटको अर्को नाम राजेश हमाल

- कृष्ण भट्टराई, अनिल श्रेष्ठ

असार २७, २०७४-

सगुन र साइत 

मेरो घरमा हजुर आमाको पालादेखि लागू भएको एउटा नियम छ, जुन नियम म आजका दिनसम्म पालना गरिरहेको छु । हजुर आमा, आमाहुँदै मसम्म आइपुगेको यो नियमलाई यतिबेला मेरी अर्धाङ्गिनी मधु भट्टराईले निर्वाह गरिरहेकी छिन् । म अहिले पनि एक दिनका लागि घर छाड्नु छ भने पनि घरको मूलढोकामा दुईवटा घडामा पानी, त्यसमाथि फूल राख्न लगाउँछु । घरबाट निस्कने बेलामा सगुनका रूपमा टीका लगाउँछु, केरा अथवा स्याउ पनि सगुनका रूपमा ग्रहण गर्छु । विवाहअघि म घरमा एक्लै हुँदा मेरा सहायक रोशनले यो काम गरिदिन्थे । त्यसपछि मेरो भाइमार्फत यो काम गराउँथे । 

रबर–ब्याण्ड 

घरबाट बाहिर निस्कने क्रममा मेरो पकेटमा दुई–चारवटा रबर–ब्याण्ड हुनै पर्छ । म प्रायः लामो केशमा हुन्छु । बाहिर निस्कँदा गर्मीले सताउने पक्का छ । त्यस्तो बेला पसिनाले हैरान बनाउँछ, लामो केश भएको व्यक्तिलाई त झनै गाह्रो हुन्छ । त्यतिबेला पकेटमा भएको रबरले केश बाँध्न सजिलो हुन्छ । 

चिसो पानी 

मेरो एउटा असाध्यै अनौठो बानी छ । म जति नै जाडो मौसममा पनि चिसो पानीले मात्र नुहाउँछु । काठमाडौंमा पुस–माघ महिनामा हुने चिसो होस् अथवा युरोपको माइनस ३० डिग्रीको तापक्रम, मलाई चिसै पानीले नुहाउनुपर्छ । मेरो शरीरमा आजसम्म तातो अथवा मन तातो पानी परेकै छैन । एक पटक जापानमा हिउँ परिरहेको बेला चिसो पानीले साबर गर्ने कुरा सुनेर मेरा केही जापानी साथी असाध्यै आश्चर्यमा परेका थिए । सानैदेखिको यो बानीका कारण मलाई चिसो पानीले नुहाउँदा पनि जाडो महसुस हुँदैन । 

चिया र कफी 

म दूध हालेको चिया सकेसम्म पिउँदिन । काठमाडौंमा रहँदा त म त्यस्तो चिया पिउँदै पिउँदिन । काठमाडौं बाहिर गाउँतिर गएका बेला शुद्ध गाई–भैंसीको दूधबाट चिया बनाइएको चिया भेटें भने चाहिँ पिउँछु पनि । कफीचाहिँ म दिनमा तीन कप पिउँछु । बिहान ब्रेकफास्ट, दिउँसो लञ्च तथा साँझ डिनरपछि कफी पिउनै पर्ने बानी छ । 

झोलामा के छ ? 

म घरबाट निस्कँदा झोला बोक्न छुटाउँदिन । धेरै जनाले झोलामा के–के बोक्नु हुन्छ ? भनेर जिज्ञासासमेत राख्नु हुन्छ । म ‘खासै केही छैन, एक–दुईवटा अत्यावश्यक सामानहरू छन्’ मात्र भनिरहेको हुन्छ । वास्तवमा मेरो झोलामा मलाई दिनभरका लागि आवश्यक वस्तुहरू राखिएको हुन्छ । एउटा पुस्तक, एउटा दैनिक पत्रिका, एउटा डायरी र पेन, एक बोटल पानी, एउटा सानो आइप्याड, एक–दुईवटा फलफूल, केही ड्राइफुड तथा एउटा कफिमेडको बोटल मेरो झोलामा कहिल्लै नछुट्ने सामग्री हुन् । यी चिजहरू भएपछि मलाई बिहानदेखि बेलुकासम्म कुनै कुराको अभाव हुँदैन र घर बाहिर पनि म सजिलै रमाउन सक्छु । 

हेयरस्टायल 

मैले अघि नै भनेँ, म प्रायः लामो केश पाल्न रुचाउँछु । मेरो हेयरस्टाइल बनाउने एक जना ठाकुर छन् । उनको नाम राम हो । उनी मेरो केश काट्न प्रायः मेरै घरमा आउँछन् । मैले अभिनय गर्ने चलचित्रमा पनि उनी मेरो हेयरस्टाइलिसका रूपमा आबद्ध हुन्छन् । उनको आग्रहमा म बेला–बेलामा हेयरस्टाइल परिवर्तन पनि गरिरहेको हुन्छु । चलचित्रमा व्यस्त भएयता मैले उनीबाहेक अरू कसैसँग केश काटेको छैन । 

घाँटीको माला

१३ वर्षको छँदादेखि मेरो घाँटीमा कालो रंगको एउटा माला छुटेको छैन । प्रायः हरेक मन्दिरको अघिल्तिर उपलब्ध हुने यो मालाप्रति मेरो मन कसरी बस्यो म आफैंलाई थाहा छैन । म कक्षा ८ मा अध्ययनरत छँदा पहिलो पटक एक जना बाबाले कालो रंगको उक्त माला मलाई लगाइदिनु भएको थियो । त्यो माला करिब १० वर्षसम्म चुँडिएन । मैले तीनवटा चलचित्रमा अभिनय गरुन्जेल उक्त माला मेरो घाँटीमै थियो । धेरै पुरानो भएर होला उक्त मालाको आकार परिवर्तन भएर रुद्राक्षको डल्लो जस्तो भएको थियो । पाँचौं चलचित्रसम्म आइपुग्दा उक्त माला चुँडियो तर मैले अर्को किनेर लगाइन । संयोग के रह्यो भने, मेरो घाँटी खाली देखेपछि अर्का एक जना बाबाले पुनः कालै रंगको माला लगाइदिए । त्यो माला पनि वर्षौं टिक्यो । पछि–पछि मेरा प्रशंसकहरूले पनि उक्त माला नोटिस गरेछन्, अलि पुरानो भएको देखेपछि आफैंले नयाँ माला किनेर लगाइदिन थाले । आजको मितिसम्म पनि मेरो घाँटीमा कालै रंगको माला छ, जुन मैले अहिलेसम्म किनेको छैन । आमा बितेको बेला बरखी बार्ने क्रममा दुई साताका लागि मेरो घाँटीमा माला भएन । बरखी सम्पन्न भएको भोलिपल्टै एउटी युवतीले एक दर्जनभन्दा बढी माला ल्याएर तीमध्ये एउटा आफैंले लगाइदिएकी थिइन् । 

पुराना फर्निचर 

बजारमा नयाँ फर्निचर देख्ने बित्तिकै घरमा ल्याएर सजाउन चाहने रहर हरेक व्यक्तिमा हुन्छ । मेरो बानी ठ्याक्कै उल्टो छ, मलाई पुराना फर्निचर असाध्यै मनपर्छन् । मेरो घरमा अहिले पनि ३५–४० वर्ष पुराना फर्निचर मात्र छन् । मलाई चिल्ला, रंगीन फर्निचरभन्दा हल्का रफ देखिने, प्राकृतिक रंगका फर्निचर मनपर्छन् । 

क्रुज 

विदेश पुगेपछि म प्रायः क्रुजमा यात्रा गर्न मन पराउँछु । निकै कम मानिसलाई मात्र थाहा छ, म युरोप, अमेरिका तथा अष्ट्रेलियामा एउटा सहरबाट अर्को सहर जानुपर्दा विमानको साटो क्रुजमै यात्रा गरिरहेको हुन्छु । 

हिन्दी गीत 

हुन त म नेपाली कलाकार भएकाले मनोरञ्जनका लागि नेपाली गीत नै सुन्छु भन्नु पर्ने हो । नेपाली सांगीतिक क्षेत्रका थुप्रै गायकसँग मेरो व्यक्तिगत चिनजान पनि छ । यद्यपि म एक्लै भएका बेला पुराना हिन्दी गीत सुन्न मन पराउँछु । 

व्यायाम

बिहान उठ्ने बित्तिकै करिब एक घण्टा कठोर शारीरिक व्यायाम गर्ने क्रम अहिले पनि रोकेको छैन । खलखली पसिना आउने गरी व्यायाम नगरी म बिहान केही पनि खान्न । हप्तामा एक–दुई पटक जगिङ गर्दै घर (सामाखुसी) नजिकैको रानीबारी पनि पुग्छु । त्यहाँ पुगेर खुला आकाशमुनि गरिएको व्यायाम निकै प्रभावकारी हुन्छ । 

निर्माताको होडबाजी 

पहिलो पटक अभियन गरेको चलचित्र ‘युगदेखि युगसम्म’ दर्शकले रुचाएपछि निर्माताहरूबीच मलाई नायक राखेर चलचित्र बनाउने होडबाजी नै चलेको थियो । त्यसैले म आफ्नो सफलताको श्रेय त्यही पहिलो चलचित्रलाई दिन्छु । 

एकै वर्षमा २२ वटा चलचित्र 

कुनै समय यस्तो थियो कि मैले एक वर्षमा २२ वटासम्म चलचित्रमा अभिनय गरें । सन् २००९ तिर अतिथि कलाकारसहित मुख्य भूमिकासमेत जोड्दा मैले २२ वटासम्म चलचित्रमा अभिनय गरेछु । त्यो वर्ष मैले जति पनि चलचित्रमा अभिनय गरें, तीमध्ये धेरै चलचित्रले सफलता प्राप्त गरे ।

खाल–खालका फ्यान 

यो अवधिमा मैले विभिन्न खालका प्रशंसक भटेको छु । मेरो चलचित्र हेरेर मेरै जस्तो हेयर स्टायल बनाउनेदेखि मेरो जस्तै डाइलग बोल्नेसम्मका फ्यानहरू भेटेको छुँ । त्यस्तै मेरो चलचित्र हलमा लाग्नेबितिकै बुवा–आमाको पैसा चोरेर फिल्म हेर्न आएको भन्ने फ्यानसम्म भेटेको छु । 

संख्या थाहा छैन 

यो अवस्थासम्म आइपुग्दा मैले कतिवटा चलचित्रमा अभियन गरें, म आफैंलाई थाहा छैन । करिब २ सयदेखि २ सय ५० को हाराहारीमा अभियन गरे होला ।

 

विवाहपछि म 

विवाहपछि श्रीमतीले श्रीमान्लाई परिवर्तन गर्ने आम धारणा छ । मेरो वैवाहिक जीवनमा भने यो कुरा लागू भएन । बरु मेरी श्रीमती मधुचाहिँ मेरो स्वभावतिर ढल्किएकी छिन् । खानपिनमा म अलि पृथक छु, मधुले सहजै आफूलाई मेरै रहनसहनमा ढालेको देखेर म सन्तुष्ट छु । 

 

 

प्रकाशित :असार २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्