परिमार्जनको क्रममा पाठ्यक्रम

- नरेन्द्र रौले

असार २६, २०७४-

कुनै समय त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रवीणता प्रमाणपत्र तहका शैक्षिक पाठ्यक्रम उत्कृष्ट मानिन्थे । नयाँ–नयाँ शैक्षिक कार्यक्रम प्रस्तुत गर्ने यो विश्वविद्यालयले समय सुहाउँदा पाठ्यक्रम सार्वजनिक गथ्र्यो । प्रत्येक वर्ष अपडेट गरेर शैक्षिक कार्यक्रमहरू लागू हुन्थे, तर यो क्रम लामो समय टिकेन । पछि झन्डै तीन दशक पुराना शैक्षिक कार्यक्रम अध्ययन गर्नुपर्ने बाध्यता सिर्जना हुँदै गयो । यसै क्रममा प्रवीणता प्रमाणपत्र तह फेज आउट भयो । त्यसपछि उच्च माध्यमिक शिक्षा परिषद्अन्र्तगत समानान्तर दस जोड दुई कार्यक्रमको पाठ्यक्रम लोकप्रिय हुँदै गयो । 

त्यसपछि हरेक वर्ष विद्यार्थीले अपडेट भएको परिमार्जित पाठ्यक्रम अध्ययन गर्ने अवसर प्राप्त गरे । परिषद्को उच्च माध्यमिक तहको दस जोड दुईको पाठ्यक्रम लोकप्रिय भैसकेको थियो, तर यो क्रम पनि अब लामो समय नटिक्ने संकेत देखिँदैछ । परिषद्को शैक्षिक पाठ्यक्रम अपडेट हुँदै तथा नयाँ विषयहरू थपिँदै जानुपर्नेमा तीन वर्षयता पाठ्यक्रम अद्यावधिक हुन सकिरहेको छैन । एसएलसी हटेर एसईई प्रणाली लागू भएपछि ९ देखि १२ कक्षासम्मको विद्यालय संरचना परिमार्जन हुने क्रममा छ । कुन विषय अनिबार्य रहने, कुन विषय ऐच्छिक रहने, कति पूर्णांक रहने भन्ने विषयमा अहिले छलफल चलिरहेको छ, पाठ्यक्रम विकास केन्द्रका कृष्णप्रसाद काप्री भन्छन्— मन्त्रालयबाट निर्णय भएपछि लागू हुन्छ । अहिले परिमार्जन गरिएको पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको छ । 

प्रारूप परिमार्जनको काम भैरहेको छ । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकृत खुबीराम अधिकारी भन्छन्— आगामी आर्थिक वर्षदेखि पाठ्यक्रम परिवर्तन हुन्छ । परिषद् स्रोतका अनुसार नयाँ पाठ्यक्रम लागू गर्ने तथा पुराना पाठ्यक्रमलाई अद्यावधिक गर्ने तयारी पूरा गरी शिक्षा मन्त्रालयमा फाइल पेस गरिएको छ, तर मन्त्रालयले फाइल सदर गरेको छैन । यसले गर्दा नयाँ विषयमा अध्यापन प्रारम्भ हुन सकेको छैन, न त पुराना पाठ्यक्रम नै अपडेट हुन सकेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रम महाशाखाले समयानुकूल पाठ्यक्रम थप्ने तथा परिमार्जन गर्ने नीतिअनुरूप गत वर्ष नै नयाँ विषयका तीनवटा पाठ्यक्रम लागू गर्ने तयारी गरेको थियो ।

न्यायसेवामा खपत हुन सक्ने जनशक्ति विकासका लागि सामान्य कानुनको पाठ्यक्रम विकास गरिएको छ । न्यायक्षेत्र, सुरक्षा व्यवस्था आदि विषयका ज्ञाताहरूसँगको परामर्शमा उक्त पाठ्यक्रम विकास भएको हो । सामान्य कानुन अध्ययन गरेका विद्यार्थीहरूले स्नातक तहमा कानुन विषय लिएर अध्ययन गर्न चाहे उनीहरूलाई थप सहज हुने बताइन्छ । खेलकुद विज्ञान पनि नेपालको हकमा नयाँ विषय हो । खेदकुदसँग सम्बन्धित विभिन्न पक्षका बारेमा ज्ञान हासिल गर्न यो विषय उपयोगी हुने पाण्डेले जानकारी दिए । 

समस्या अर्को पनि छ, परिषद्ले समयअनुसार नयाँ तथा परिमार्जित पाठ्यक्रम लागू गर्ने बताए पनि तयार भैसकेका नयाँ पाठ्यक्रम जनशक्तिको अभावमा अध्यापन गराउन सकिएको छैन । तीन वर्षअघि नयाँ विषयका रूपमा ह्युमन भ्यालुलाई समावेश गर्ने योजना बनाएको परिषद्ले अर्को वर्ष मात्र यो विषयको अध्यापन सुरु गर्न सकिने बताएको छ । मानविकी संकायसँग सम्बन्धित यो विषयको पाठ्यक्रम भविष्यमा सामाजिक कार्य, शान्ति शिक्षा, द्वन्द्व व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा उच्च शिक्षा हासिल गर्न आधारभूत ज्ञान मिल्ने गरी तयार पारिएको छ । केही वर्षअघि पाठ्यक्रम महाशाखाले अर्थशास्त्र, आमसञ्चार, जनजंख्या अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षाका ११ र १२ दुवै कक्षाका पाठ्यक्रम पनि परिमार्जन गरेको थियो, तर निर्णयको अभावमा ती परिमार्जित शैक्षिक कार्यक्रम लागू हुन सकेका छैनन् ।

तीन वर्षअघि परिषद्ले कक्षा १२ का लागि १ सय पूर्णाङ्कको संस्कृत रचना, ११ र १२ का लागि २ सय पूर्णाङ्कको व्याकरण कक्षा, कक्षा १२ का लागि १ सय पूर्णाङ्कको संगीत विषयको थप पाठ्यक्रम लागू गरेको थियो । यस्तै परिमार्जन गरिएका ४ वटा विषयमा कक्षा ११ र १२ का लागि परिमार्जित २ सय पूर्णाङ्कको संगीत तथा कक्षा ११ र १२ का लागि परिमार्जित २ सय पूर्णाङ्कको कृषि विषयका पाठ्यक्रम थिए । 
परिषद्ले चार वर्षअघि विजनेस अर्गनाइजेसन एन्ड अफिस म्यानेजमेन्ट (बुम) तथा अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल प्राक्टिस (ओमएसपी) समावेश गरी बिजनेस स्टडिज नामको नयाँ पाठ्यक्रम लागू गरेको थियो । परिषद्ले रोजगारमुखी शिक्षालाई प्राथमिकता दिने योजनाअनुरूप गत वर्ष भोकेसनल कोर्सका रूपमा एप्लाइड ब्युटी तथा फलोरिकल्चरसम्बन्धी पाठ्यक्रम पनि लागू गरेको थियो । ब्युटिसियन पेसा अपनाउन तथा फूलको व्यवसाय गर्न यी पाठ्यक्रम प्रभावकारी सावित हुनेछन् । 

परिषद्ले चार वर्षअघि कक्षा १२ का मार्केटिङ, प्राक्टिस टिचिङ, सोसियल स्टडिज, इन्स्ट्रक्सनल इभालुएसनका पाठ्यक्रमसमेत परिमार्जन गरेको थियो । ६ वर्षअघि कक्षा १२ मा जेन्डर स्टडिज, फुड एन्ड न्युट्रिसन, रुरल डेभलपमेन्ट, एलिमेन्ट अफ फिनान्स, को–ओपरेटिभ म्यानेजमेन्ट, जनरल ल, लाइब्रेरी एन्ड इन्फर्मेसन साइन्स, केमेस्ट्री एजुकेसन, इन्भाइरोमेन्ट एजुकेसन, जनरल कन्सेप्ट अफ एजुकेसन, इन्ट्रोडक्सन टु एजुकेसनल साइकोलोजीको नयाँ पाठ्यक्रममा अध्ययन गर्ने सुविधा थपेको थियो ।

समयसापेक्ष पाठ्यक्रममा विद्यार्थीलाई शिक्षित बनाउने उद्देश्यअनुरूप परिषद्ले नयाँ पाठ्यक्रमको विकास तथा पुरानो पाठ्यक्रममा परिमार्जन गर्दै लगेको छ । अन्तर्राष्ट्रिय मापदण्डको दस जोड दुईको पाठ्यक्रम परिवर्तन हुनुले परिषद् पाठ्यक्रमप्रति सचेत रहेको प्रस्ट हुन्छ । दस जोड दुई तहमा होटेल म्यानेजमेन्ट, आमसञ्चार तथा पत्रकारिता, ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्ट, फ्लोरिकल्चर, एप्लाइड ब्युटी, समाजशास्त्र, दर्शनशास्त्र, सहकारी व्यवस्थापन, सामान्य कानुन, ग्रामीण विकास, पुस्तकालय तथा सूचना विज्ञानका साथै अन्य भाषागत विषय जस्ता व्यवहारिक तथा सैद्धान्तिक विषयहरू समेटिएका छन् । 

दस जोड दुईको शैक्षिक पाठ्यक्रम जति नै स्तरीय भए पनि स्नातकभन्दा माथिको पाठ्यक्रम भने परिमार्जन हुन सकेको छैन । दस जोड दुई उत्तीर्ण विद्यार्थीको शैक्षिक वातावरण सुहाउँदो विषय विश्वविद्यालयमा नहुदा राज्यको लगानी खेर गैरहेको छ । त्यसैले दस जोड दुईको शैक्षिक पाठ्यक्रममा सुधार हुनुपर्ने विज्ञहरू बताउँछन् । प्लस टुमा व्यवसायिकता एवं क्षणिक आकर्षणका विषयलाइ मध्यनजर गरेर राम्रा र पढ्नै पर्ने विषयलाई समायोजन नगरी व्यवसायिक तालिमको भरमा पूरा गर्न सकिने पाठ्यक्रममा जोड दिइएको छ । दस जोड दुई उच्च शिक्षाको आधार भएकाले बहुआयामिक पाठ्यक्रममा जोड दिइएको छ । 

दस जोड दुई पाठ्यक्रममा विद्यार्थीले ऐच्छिक विषय अध्ययन गर्ने अवसर छ । दस जोड दुईको शैक्षिक पाठ्यक्रमलाई परिषद्ले संकायगत मान्दैन । परिषद्ले नयाँ विषयको पाठ्यक्रममा ध्यान दिए पनि संरचनागत पुरानो ढर्रालाइ अझै छोड्न सकेको छैन । दस जोड दुइलाई माध्यमिक स्तरकै शिक्षा मान्ने हो भने यसमा विशिष्टीकरणका लागि छुट्टाछुट्टै संकायको आवश्यकता छैन । त्यसकारण एकलपथ उन्मुख पाठ्यक्रम लागू गर्नेतर्फ परिषद् व्यवहारिक हुन सकेको छैन । 

परिषद्को अहिलेको पाठ्यक्रम परिषद्अन्तर्गतकै आफ्नै पाठ्यक्रम विकास समितिले तयार गरेको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू सम्मिलित विषय समितिले पाठ्यक्रम विकास समितिअन्तर्गत रहेर यी पाठ्यक्रम निर्माण गरेका हुन् । परिषद्मा पाठ्यक्रम विकासका लागि पाठ्यक्रम विकास केन्द्र नै छैन । पाठ्यक्रम महाशाखाले शिक्षकहरूको सहयोगमा पाठ्यक्रम निर्माण गर्दै आएको छ ।

प्रकाशित :असार २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्