सार्वजनिक सवारीमा एनटी बस इन्टरनेट

- साप्ताहिक संवाददाता

असार २५, २०७४-  
नेपाल टेलिकम तथा साइबरनेटिक्सले सहकार्य गर्दै सार्वजनिक यातायातमा एनटी बस इन्टरनेट सेवा सञ्चालनमा ल्याएका छन् । लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुहरूले इन्टरनेट सेवा सहज रूपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले एनटी बस इन्टरनेट सञ्चालन गर्ने विषयमा उक्त सम्झौता भएको हो । यो सेवा उपलब्ध बसमा यात्रुले वाइफाइमार्फत नि:शुल्क इन्टरनेट, भिडिओलगायत मल्टिमिडिया सेवा प्रयोग गर्न सक्छन् । 

साइबरनेटिक्सका अध्यक्ष जेम्स न्याछ्योँका अनुसार एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरूमा प्रयोग गर्न सकिनेछ । डब्लुसीडीएमए वा सीडीएमए प्रविधिबाट सञ्चालन हुने भएकाले नेपाल टेलिकमको सीडीएमए नेटवर्क भएको जुनसुकै ठाउँमा पनि यो सेवा लिन सकिन्छ । एनटी बस इन्टरनेट सेवाबाट कुनै पनि सवारी साधनमा यात्रा गर्दा सरल र सुलभ तरिकाले इन्टरनेट चलाउन सकिन्छ ।

यो सेवाबाट यात्रुहरूले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट आदिमा वाइफाइ कनेक्ट गरी इन्टरनेट चलाउन सक्ने टेलिकमले जनाएको छ । एनटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकाले अफलाइनमा पनि फिल्म, भिडियो तथा गीतहरू सुन्न अनि हेर्न सकिनुका साथै गेम एवं एप्सहरू नि:शुल्क डाउनलोड गर्न सकिन्छ । त्यसबाहेक आफ्नो सवारी साधन कहाँ छ भन्ने कुरा को जानकारी जीपीएस प्रविधिमार्फत कुनै पनि बेला पत्ता लगाउन सकिन्छ ।

 

प्रकाशित :असार २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्